सुदूरपश्चिममा संसद् अधिवेशन आह्वान, नयाँ बजेट आउने सम्भावना
धनगढी : सुदूरपश्चिममा विशेष अधिवेशन अन्त्य भएपछि प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मियाँले आगामी २७ गते दिउँसो २ बजेको लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।
यसअघि निवर्तनमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार ३० गते बजेट अधिवेशन अन्त्यको सिफारिस गरेपछि प्रदेश प्रमुख मियाँले साउनको ४ गते बजेट अधिवेशन अन्त्य गरेका थिए । तर, सोडारीले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको थाहा पाएपछि कांग्रेस र एमालेका एक चौथाइ सांसदहरूले विषेश अधिवेशन माग गरेपछि प्रदेश प्रमुख मियाँले साउन ८ गते विशेष अधिवेशन आह्वान गरेका थिए ।
विशेष अधिवेशन बाढीपहिरो प्रभावितहरूलाई राहत,क्षतिपूर्ती दिन सरकारलाई निर्देशन गर्दै साउन २३ गते अन्त्य गरिएको थियो । विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलनका लागि मात्रै ‘सुदूरपश्चिमको सामयिक कर संकलनसम्बन्धी अध्यादेश २०८१’ ल्याएको थियो । उक्त अध्यादेश बिहीबार प्रदेश प्रमुखले प्रमाणित गरेर राजपत्रमा प्रकाशित भएपछि शुक्रबारदेखि करसंकलनको कार्य सुरू भइरहेको छ ।
पाँचौं अधिवेशनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनेछन् भने यसै अधिवेशनमा बजेट पनि आउने भएको छ । सरकारले प्रतिस्थापन बजेटका रुपमा पूर्ण बजेट ल्याउन लागेको हो । यसअघिका मुख्यमन्त्री सोडारीका पालामा असार १ गते संसदमा प्रस्तुत भएको बजेट टेबुल नै हुन नसक्दा निष्क्रिय भएको थियो ।
‘सकेसम्म मंगलबार नत्र बुधबार विश्वासको मत लिने तयारी भइरहेको छ । विश्वासको मत लिएर बजेट पनि बनाउनुछ । प्रदेशमा बजेट शून्यताको अवस्थाले विकास निर्माण प्रभावित भएका छन् भने सरकारको कामकाजमा पनि समस्या भएको छ,'मुख्यमन्त्री शाहले भने ।