मेरो टाउकोमा
छ्यास्स सल्काइदिएपछि
पीडालाई खरानी बनाउन
बिस्तारै बिस्तारै म जल्न थाल्छु
क्रमशः अंगअंग म पग्लिँदै जान्छु
पल प्रतिपल म निख्रिँदै जान्छु
जसरी सकिँदै जान्छ मैनबत्तीको धागो
जसरी सुक्दै जान्छ हिउँदको खोला
जसरी खस्दै जान्छन् शिशिर ऋतुमा
रूखका पातहरू
जसरी हुँदै जान्छ जीवनको बुढेसकाल
र हराउँदै जान्छ मनबाट रहर
अनि आँखाबाट उज्यालो
म आफ्नै आँसुदेखि छलिनलाई
कताकता शून्यतिर भागिरहेकी हुन्छु
एकान्तहरूको समीप गइरहेकी हुन्छु
युगौंदेखि चहर्याइरहेको पीडा पखाल्न
प्रत्येक दुःखाइसित अनुमति मागिरहेकी हुन्छु
चोटका युगीन पाप्राहरूसित निसाफका लागि
याचना गरिरहेकी हुन्छु
जसरी घामले शीतसित
र, हुरीले फूलसित क्षमा मागिरहेको हुन्छ
कसले थुन्यो मलाई
यो उकुसमुकुस पिँजडामा
तिर्खाले सप्पै रगत सुकिसकेपछि
कसले देखाउँदैछ मलाई कुवा ?
सपना जम्मै अध्याँरोले लुटिसकेपछि
कसले खोलिदियो मेरो आँखाबाट पट्टी ?
यो लामो सन्तापको यात्रामा
अब मलाई कसले दिन्छ
प्रत्येक शिखाको हिसाब ?
मेरो छातीमा
कुनै ग्रिनेट पड्काइदिएपछि
म भित्र उम्लिरहेको चेतनाको दाहसंस्कार गर्न
म आफैं चिता बनाइरहेकी हुन्छु
म बाँच्नुको त्रासदीबाट
तिमीलाई जोगाउन
अब म आफैंलाई तिमीबाट दूर राख्छु
जब म मेरो सम्पूर्णतालाई
तिम्रो हत्केलामा राखिदिएर
कतै पुगिसक्छु तब तिमी
एउटा कल्पनाको चौतारो निर्माण गरेर
त्यहाँ श्रद्धाञ्जलि लेख्न सक्छौ
जसको दुवैतिर बालेर
मेरो आँसुको मैनबत्ती।
- सुनिता गिरी