प्रकृतिकी छोरी रारा
एक परी झैं
हिमालयको काखमा जन्मिइन्
सायद, फेवाको दुर्दशा देखेर
पूर्वजन्मको कर्मको फलले
शिवभूमिमा जन्मिएर
शिव र पार्वतीको मायामा हुर्किएकी रारा
तिम्रो गहिराइ अगम्य छ।
बाहिरी सतहमा बसेर कसरी बुझ्नु
तिम्रो महिमा, तिम्रो गरिमा
आज, विकाससँगै लुटिएकी छौ
मानवका कामुख आँखाले डामिएकी छौ
आफ्नै सुन्दरताले।
तर, अझै पनि शान्त, सुरम्य भएर
सौन्दर्य पस्किरहिछौ
मानव चर्मचक्षुलाई धीत मर्ने गरी।
हेमन्त ऋतुको आगमनसँगै
सेतो उपर्नाले सौन्दर्यलाई ढाक्ने रारा
लाखौंमा एक छौ
तिमी छौ र पो देशको सान छ
तिमीभित्र म छु र मभित्र तिमी छौ।