देशको पहिचान उसको कला, साहित्य, भाषा एवं संस्कृतिसँग जोडिएको पाइन्छ। त्यसको जगेर्ना गर्न सरकारले बृहत् योजना निर्माणसँगै संरक्षणमा विशेष चासो दिन्छ।
देशको पहिचान उसको कला, साहित्य, भाषा एवं संस्कृतिसँग जोडिएको पाइन्छ। त्यसको जगेर्ना गर्न सरकारले बृहत् योजना निर्माण गरेको हुन्छ र संरक्षणमा विशेष चासो दिएको पाइन्छ। नेपालमा पनि विभिन्न धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदा छन्। यहाँका पाटी, पौवा, सत्तल, मठमन्दिर, देवालय, चैत्य, विहार, ढुंगेधारा आदिलाई नेपाली लोकजीवनको जीवन्त सम्पदाका रूपमा लिन सकिन्छ। जसको निर्माण धेरै पहिलेदेखि नै भएको पाइन्छ।
लिच्छविकालीन अभिलेखमा समेत धारा (हिटी), पाटी, पौवा, सत्तल (फल्चा), मन्दिर, दरबार आदिको निर्माण भएको पाइन्छ। यो परम्परा ज्यादै प्राचीन र समृद्ध परम्परा भएको सहजै अनुमान लगाउन सकिन्छ। जसको आफ्नै धार्मिक, सांस्कृतिक, पौराणिक तथा ऐतिहासिक महत्त्व रहेको आकलन गर्न सकिन्छ। लोकजीवनमा पाटी, पौवा, सत्तल, फल्चा, क्वाँछे, चपा आदि नामले चिनिने यस्ता भौतिक सम्पदा हिजोआज सडक, पार्क, भवन बनाउने क्रममा उपेक्षित र लोपोन्मुख हुने अवस्थामा समेत पुगेका देखिन्छन्।
प्राचीन समयदेखि नै धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्वका क्षेत्रमा त्यस्ता पाटी, पौवा, सत्तल निर्माण भएको देखिन्छ। पहिलेपहिले यात्रु विश्राम गर्न, भारी बिसाउन, रातको समयमा बास बस्नसमेत पाटी, पौवा र सत्तलको प्रयोग गर्थे। त्यस्तै, पूजाआजा र भोजभतेर आयोजना गर्न पनि यस्ता पाटी, पौवा र सत्तलको प्रयोग हुने गथ्र्यो। जन्मदेखि मरणसम्मका हरेक कार्यमा यस्ता पाटी, पौवा र सत्तलको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपाली समाजको सम्बन्ध छ। कलात्मक शैलीमा आफ्नै स्रोत र सामग्रीको प्रयोग गरी निर्माण भएका त्यस्ता पाटी, पौवा, सत्तल नेपाली वास्तुकलाका उत्कृष्ट नमुना पनि हुन्।
यस्ता पाटी पौवाको निर्माण तत्कालीन शासकबाट मात्र होइन, सर्वसाधारण जनताबाट पनि भएको थुप्रै उदाहरण पाउन सकिन्छ। कतै धार्मिक विश्वास त कतै सामाजिक कार्यका लागि चौतारो चिन्ने, पाटी, सत्तल बनाउने, कुवा खनाउने चलन नेपाली जनजीवनको प्राचीन मूल्यमान्यता हो भन्दा अत्युक्ति नहोला। जुन चलन नेपाली समाजमा पहिलेदेखि नै व्यवहृत हुँदै आएको पाइन्छ। जसको एउटा उदाहरण आदिकवि भानुभक्त आचार्यको पालामा बनेको घाँसीकुवा पनि जिउँदो उदाहरण हो।
भर्जन्म घाँसतिर मन दिई धनै कमायो
नाम केही रहोस् भनी कुवा खनायो।
मानिस आफ्नो कीर्ति राख्न कुनै न कुनै समयमा भौतिक सम्पदाको निर्माणमा संलग्न भएको पाइन्छ। यस्ता सम्पदा निर्माणमा स्थानीय स्तरमा प्राप्त सामग्री माटो, काठ, ढुंगा, इँटाको प्रयोग बढीमात्रामा भएको पाइन्छ। सामान्यतया : पाटी एकतल्ले हुने र यसको छाना झिँगटीको हुने गरेको पाइन्छ। यसमा स्थानीय सामग्रीका रूपमा इँटा, माटो, ढुंगा र काठको प्रयोग भएको पाइन्छ। त्यस्तै, दुई वा सोभन्दा बढी तल्ला भएको विभिन्न झ्याल, ढोका, थाम भएको र दाचिअप्पा इँटा प्रयोग गरी बनाइएको पाटीभन्दा ठूलो भौतिक सम्पदा नै सत्तल हो। पाटी, सत्तलमा विभिन्न कलात्मक बुट्टाहरू पनि कुँदिएका पाइन्छन्।यस प्रकारका पाटी, पौवा र सत्तलहरू नेपालका विभिन्न भू–भागमा देख्न सकिन्छ।
नेपाल–तिब्बत युद्धका क्रममा तिब्बती फौजबाट पक्राउ परेका भोटु पाँडेले मुक्ति पाउन नरदेवीको आराधना गरेका र मुक्त भएपछि एकैदिनमा उपत्यका आइपुगेका थिए। त्यसपछि उनले नरदेवीलाई खुसी पार्न मठमन्दिर, पाटीपौवा स्थापना गरे। यस्ता संरचना बनाएपछि उनको ख्याति बढ्यो। युद्धबाट बाँच्न सफल भएपछि भोटु कीर्ति राख्ने अभियानमा लागेका थिए। पकनाजोलमा नयाँबजार बसाइदिने र सोह्रखुट्टेमा पाटी संस्कृतिको विकास उनले नै गरेका थिए। उनले बालाजु उद्यान, पुल्चोक र भक्तपुरलगायतमा स्मारकसमेत बनाए। उनले सोह्रखुट्टेसँगै नागपोखरी पनि बनाएका र नागपोखरीको एक भागमा अहिले लेखनाथ साहित्य सदन छ।
एक भागमा सोह्रखुट्टे हुँदै स्वयम्भू जाने सडक छ। तत्कालीन समयमा उनले पाटीसँगै झन्डै चार सयजना अट्ने ठूलो सत्तल पनि बनाएका थिए। त्यो अहिलेजस्तो बस्ने होटल, लज नभएको बेलामा काठमाडौंको उत्तरतिरबाट नेपाल सहर पस्ने आश्रयस्थल थियो। जुन ठाउँमा उनले ढुंगेधारा पनि निर्माण गर्न लगाएका इतिहासमा उल्लेख भएको पाइन्छ। यो ठाउँ सहर प्रवेश गर्ने मुख्य नाका र सामरिक दृष्टिले महत्त्वपूर्ण स्थानका रूपमा चर्चित छ। यसलाई लामो समयसम्म कर उठाउने ठाउँका रूपमा समेत प्रयोग गरिन्थ्यो। कर तिर्न चारैतिरका मान्छे यस स्थानमा आउँथे। सहर प्रवेश गर्ने नाकामा उपत्यकाका विभिन्न सोह्रखुट्टे नामका पाटी बनाइएको पाइन्छ। त्यस्ता सोह्रखुट्टे पाटीहरू चापागाउँ, थानकोट, पनौतीलगायत सहरमा अझै पनि देख्न सकिन्छ।
पछिल्लो समयमा आएर पाटी, पौवा र सत्तलको अस्तित्व सडक निर्माण वा बस्ती विकासले संकटमा परेको र लोप हुने स्थितिमा समेत पुगेको देखिन्छ। व्यक्तिगत अतिक्रमण र सरकारी निकायको बेवास्ता एवं स्थानीय व्यक्तिको उदासीनताका कारण पनि हाम्रा भौतिक सम्पदा क्रमश : मासिन पुगेका छन्। त्यस्तै, बेलाबेलामा आउने भूकम्प, बाढी र पहिरोका कारण पनि पाटी, पौवा र सत्तलहरू क्षतिग्रस्त हुन पुगेका देखिन्छन्। १९९० र २०७२ सालको
भूकम्पमा परेर देशभरका थुप्रै पाटी, पौवा र सत्तलहरू अस्तित्वविहीन बन्न पुगेका देखिन्छन्।
त्यसरी भत्किएका त्यस्ता सम्पदाहरूको पुनर्निर्माण, जीर्णोद्धार एवं मर्मत क्रमिकरूपमा भएको पाइन्छ। तर त्यस्ता पाटी, पौवा र सत्तलको पुनर्निर्माणमा गर्दा पुरातात्विक महत्त्व कायम हुने गरी निर्माण हुनुपर्छ। आधुनिक निर्माण सामग्री, फलामे छड, सिमेन्टको प्रयोग गरी निर्माण गर्दा मौलिक स्वरूप परिवर्तन हुने भएकाले त्यसको परम्परागत मूल्यमान्यता र शैली लोप नहुने तरिका अपनाउनु सान्दर्भिक हुने देखिन्छ। परम्परागत निर्माण सामग्रीबाट बनेका पाटी, पौवा र सत्तल विस्थापित भएर हाल बनेका पाटी, पौवा, सत्तल र मन्दिरका कारण प्राचीन नेपाली वास्तुकलामाथि प्रश्नचिह्न खडा हुने हुँदा प्राचीन शैलीलाई नै अवलम्बन गर्नु उचित हुने वास्तुविद् एवं इतिहासविद्को धारणा छ।
आफ्ना पुर्खाका गौरव गाथालाई पहिचान गर्न नसक्दा र बेवास्ता गर्दा तथा आधुनिक बस्ती निर्माण गर्ने क्रममा सांस्कृतिक सम्पदामाथि जथाभावी अतिक्रमण गर्दा आज अनेकौं प्राचीन सम्पदाको अस्तित्व खतरामा पर्न पुगेका छन्। विकासका नाममा जथाभावी सडक, पार्क, बस्ती र भवन निर्माण गर्दा भएका पाटी, पौवा, सत्तल र पोखरी लोप भएका देखिन्छन्। राजधानी काठमाडौंका कैयन् पोखरी, ढुंगेधारा, पाटी, सत्तलहरू अतिक्रमणमा परेका समाचार विभिन्न सञ्चारमाध्यममा आइरहेका छन्। कतै सडक विस्तार गर्दा वा सार्वजनिक भवन बनाउँदा पनि त्यस्ता प्राचीन सम्पदाहरूको अस्तित्व संकटमा परेको पाइन्छ।
२०४५/४६ सालतिर सोह्रखुट्टेस्थित कपरदार भोटु पाँडेको पोखरीपछि खुसिबुको जग्गा प्लानिङका कारण बाटोमा परिणत हुन पुग्यो। त्यस पोखरीनजिकै रहेको सोह्रखुट्टे पाटी र ढुंगेधारा अतिक्रमण हुन पुग्यो। २०७१ सालमा सडक बिस्तारका क्रममा भत्काइएको सोह्रखुट्टे पाटीलाई साबिकको स्थानबाट दक्षिणतिर ढुंगेधाराको ठाउँमा पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरेको छ। त्यसैले हामीले हाम्रा सम्पदालाई संरक्षण गरी विकास निर्माणमा जोडदिनु आवश्यक छ। विकासका नाममा हामीले हाम्रा सांस्कृतिक, मूल्य र मान्यतालाई विनाश गर्नु राम्रो कार्य होइन।
विश्वका कतिपय राष्ट्रमा सय वर्षको अवधि नाघेका सम्पदालाई विशेष महत्त्व दिएर संरक्षण गर्ने गरिन्छ तर हाम्रो देशमा भने पाँच सय वर्ष नाघेका सम्पदा पनि अलपत्र अवस्थामा रहेका देख्न सकिन्छ। त्यस्ता सम्पदालाई अतिक्रमण गर्ने र नास गर्ने कामसमेत भएको देखिन्छ। पछिल्लो समयमा तीव्ररूपमा वृद्धि भएको बस्ती विकास, बाटो निर्माण, व्यावसायिक जग्गा प्लटिङ, सम्बन्धित निकायको अदूरदर्शिता साथै स्थानीय व्यक्तिको बेवास्ताका कारण राज्यका गौरव गाथा झल्कने महत्त्वपूर्ण सम्पदाको अस्तित्व खतरामा परेको देखिन्छ।
विश्वसम्पदा क्षेत्र तथा संरक्षित क्षेत्रमा रहेका विभिन्न सम्पदाको निर्माण, जीर्णोद्धार गर्ने काम पुरातत्त्व विभागले गर्नुपर्छ भने अन्य क्षेत्रमा रहेका त्यस्ता मठ, मन्दिर, पाटी, पौवा र सत्तलको संरक्षण र जीर्णोद्धार गर्न स्थानीय निकायले नै योजनाबद्ध रूपमा लाग्नु पर्छ। हामीले भावी पुस्ताका लागि पनि त्यस्ता सम्पदाको संरक्षण गर्नु आवश्यक छ। त्यसैले समयमा नै त्यस्ता सम्पदाको संरक्षण, संवद्र्धन एवं जीर्णोद्धारमा जु्ट्नु हामी सबैको पहिलो प्राथमिकता हो।