‘फस्ट रियालिटी शो फर एभरेस्ट’ले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई प्रमोसन गरिरहेछ
‘द च्यालेन्जर्स : गेम अफ हिमालयज्को फस्ट रियालिटी शो फर एभरेस्ट’ले अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाइरहेको छ। नेपाली टिमले पहिलो पटक अन्तर्र्राष्ट्रियस्तरको रियालिटी शो प्रोडक्सन गरेका छन्। जसमा काठमाडौंदेखि लुक्लाहुँदै विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरसम्मको यात्रालाई रोमाञ्चक तरिकाबाट देखाइएको छ।
नेपालको पर्यटन प्रवद्र्धन गर्न विदेशीहरूबाट नेपालको हिमालसहितका नेपाली कला, संस्कृति, भेषभूषा रहनसहनलाई देखाइएको छ। सगरमाथाबाट अन्तर्राष्ट्रियस्तरको रियालिटी शो बनाउन किन आवश्यकता पर्यो ? यसको महत्त्व के छ ? जस्ता विषयवस्तुमा शोका निर्देशक तथा प्रोड्युसर श्री गुरुङसँग अन्नपूर्णकर्मी राजकरण महतोले गरेको कुराकानी :
अन्तर्राष्ट्रिय स्तरको ‘द च्यालेन्जर्स : गेम अफ हिमालयजको फस्ट रियालिटी शो फर एभरेस्ट’ निर्माण गर्न कसरी सफल हुनुभयो ?
शो निर्माण गर्ने निर्णयमा कसरी पुग्नुभयो ?
नदीको उत्पत्ति हिउँबाट भएको रहे। झरनाको उत्पति यही हिउँबाट भएको रहे। दिउँसोतिर हिमालको बरफहरू हेर्दै सुन्दर लाग्यो। मलाई बरफका स–साना चिटिक्क–चिटिक्कका पहाडहरूले तान्यो। सन् २००४ मा भारतबाट फिल्मबारे पढेर आएपछि एउटा नयाँ फिल्म बनाउने सपना देखेको थिएँ। जुन सपना पूरा गर्न दुई दशक लाग्यो। यो शोले नेपाललाई विश्वस्तरमा ‘प्रमोट’ गरिरहेको छ। विदेशीलाई नेपाल घुम्न उत्साहित बनाइरहेको छ।
शो निर्माण गर्नुअघि अध्ययनका लागि कुन बाटो सगरमाथाको आधारशिविर जानुभएको थियो ?
आफ्नै टोलीसहित लुक्लाबाट गएको थिएँ। १२ दिन जतिको यात्रा थियो। चार रात सगरमाथाको आधारशिविरमा बसेको थिएँ। जब काठमाडौं फर्किएर आएँ। त्यसपछि हिउँको बारेमा अध्ययन गर्न थालें। हिँउको महत्त्व झन् थाहा हुँदै गयो। वैज्ञानिक र अनुसन्धानकर्ताहरूले हिमालको हिउँ सबैभन्दा छिटो पग्लिँदै गएको भन्दा रहेछ। अनि म पग्लिँदै गएको हिमालबारे फिल्म कम्पिटिसन गर्नुपर्छ भन्नेतिर लागें।
किन, कसरी पग्लिरहेको छ ? देखाउनका लागि फिल्मको माध्यमबाट भन्दा युट्युबरबाट गराउने। त्यसमा विदेशीहरूलाई बोलाउने अनि शो बनाउने भन्ने निर्णयमा पुगें। अनि तयार भयो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयजको फस्ट रियालिटी शो फर एभरेस्ट’। १२ दिन लगाएर अढाई वर्षअघि शोको छायांकन भएको थियो।
युट्युबरलाई नै किन रोज्नुभयो ?
युट्युबर भनेकै फिल्म मेकर हो। फिल्म मेकरको पहिलो काम भनेको स्टोरी टेलिङ हो। फिल्ममा अलि औपचारिक कथावस्तु हुन्छ। तर, युट्युबरबाट युवालाई अनौपचारिक रूपमा हिमालको कथा बुझाउन झन् बढी प्रभावकारी हुन्छ भन्ने बुझाइ भयो। अनि युट्युबर चलाउने चर्चित भल्गरहरूलाई ल्याउनेतिर गयौं।
युट्युबरहरूले भिडियोमा के विषयवस्तुलाई प्राथमिकता दिएका छन् ?
उनीहरू आउँदा नेपालबारे ब्लग बनाउँछन् जसले हाम्रै हिमालको प्रमोसन भएको छ। त्योसँगै हिमाल के हो ? हिमालको बरफ कसरी पग्लिरहेको छ भन्ने विषय उनीहरू आफ्ना फलोअर्सहरूलाई देखाउँछन्। अनि हामीले उनीहरू गएको बाटो र यात्रालाई पछ्याएर ‘द च्यालेन्जर्स : गेम अफ हिमालयजको फस्ट रियालिटी शो फर एभरेस्ट’ शीर्षकमा रियालिटी शो बनाउन सफल भयौं।
उनीहरूलाई काठमाडौंदेखि लुक्ला हुँदै आधारशिविरसम्म देखाउँदै र गेम खेलाउँदै रोमाञ्चक तरिकाले त्यसबारे अरूलाई देखाउन टीभी शो बनायौं। जुन अरूलाई देखाइरहेका छौं। यो गेममा ६ देशका ११ युट्युबर सहभागी छन्। यसमा दुई जना नेपाली छन्।
उनीहरूको युट्युबमा कस्तो प्रतिक्रिया आइरहेको छ ?
विदेशीहरूले हाम्रा हिमालका कथा आआफ्नो देशमा देखाएका छन्। करिब पाँच करोड ‘भ्युज’ छ। कसैले त यात्राको १२ वटासम्म भिडियो बनाएका छन्। पग्लिँदै गएको हिमालबारे बनाएको भिडियोले राम्रो भ्युज पाएको छ।
जलवायु परिवर्तनले हिमाल पग्लिँदै छ। यो मुद्दालाई प्रतिस्पर्धीहरूले कसरी उठाएका छन् ?
जलवायु परिवर्तनले यस्तो गरेको छ ? उस्तो गरेको छ ? भनेर देखाउनुको सट्टा हिउँ के हो ? खोलानाला कसरी बन्दा रहेछन् ? हिउँलाई बचाउनुपर्छ भन्ने तरिकाका भिडियोहरू बनाएका छन्। हामीले चाहिँ हाम्रो ‘इकोसिस्टम’मा हिउँको कति महत्त्वपूर्ण छ ? भन्ने कुरा युवालाई बुझाउने कोसिस गरेका छौं। यही म्यासेज शोमार्फत हामीले दिन खोजेका छौं।
रियालिटी शो बनाउँदा हिमालीवासीको अवस्था के पाउनुभयो ?
त्यहाँका बासिन्दाले हिमालमा हिमपहिरो गइरहन्छ भन्ने बताउनुभयो। उहाँहरूले यसलाई समान्य लिनु भएको छ। हिमाल चढ्नेहरूले पनि हिमाल पग्लिएको कुरालाई खासै महत्त्व दिँदैन। म १० वर्षमा ६ पटक सगरमाथाको आधारशिविर गएँ। हरेक पटकको भिडियो र फोटो खिचेको छु। अब यसको बारेमा म आवाज उठाउँछु, डकुमेन्टेसन गर्छु भन्ने लाग्दै गयो। ती सबै संग्रहित गरेर राखेको छु।
रियालिटी शोमा सगरमाथाकै कथा किन ?
विश्वव्यापी रूपमा सबै हिमाललाई प्रवद्र्धन गर्न सकिँदैन। सगरमाथा भनेको विश्वको ल्यान्डमार्क हो। सगरमाथा अर्थात् एभरेस्टको पग्लिएको हिउँबाट नेपालका सबै हिमालका कथाव्यथा देखाउन खोजेका छौं।
हामी हिमाल पग्लिएको प्राविधिक कुराभन्दा पनि हिमालको बरफ छिटो पग्लिरहेको छ भन्ने कुुरा विश्वजगत्लाई देखाएका छौं। पहिला एक सय वर्षमा हिमालको हिउँ तीन फिट पग्लिएको थियो भने अहिले १० वर्षमै दुई फिट पग्लिएको छ। सन् २०१४ मा सगरमाथाको आधारशिविरमा जहाँ हेलिप्याड थियो, अहिले त्यो हेलिप्याडलाई हिउँले तानिसक्यो।
पहिला र अहिलेको अवस्था हिमालमा फरक देखिँदै छ ?
हिउँ भासिँदैभासिँदै गइरहेको छ। अहिले त्यहाँ सानासाना थुप्रै तालहरू बनेका छन्। जलवायु परिवर्तनको असर झ्याप्पै एकैपटक देखिँदैन। करोडौं वर्ष लागेर उत्पत्ति भएको हिमाल १० वर्षमै त बिग्रिँदैन। हाम्रो जीवनकालमा हिमाल तहसनहस भएको नदेख्न सक्छौं। तर, हिमाल पग्लिनेक्रम छिट्टो भइरहेको छ।
पहिला १० वर्षमा बाढी आउँथ्यो। अहिले दुई वर्षमै आउन थाल्यो। सोचेको भन्दा छिट्टो हुन थाल्यो। तीन वर्षअघि मेलम्चीमा गएको बाढी हामीले भुलिसक्यौं। बर्खा हुने चक्र नै परिवर्तन भयो। तर हामीलाई मतलबै छैन। जब अनुसन्धान गरिन्छ तब मात्रै थाहा हुन्छ। हरेक वर्ष काठमाडौंमा गर्मी बढेको सबैलाई थाहा छ। तर कसैले त्यसलाई गम्भीरताका साथ लिँदैन। सबैको नियन्त्रणभन्दा बाहिर छ। यसमा आवाज त कसैले न कसैले उठाउनुपर्छ भन्ने लाग्यो। अनि आफ्नै लगानीमा हिमालको कथा भन्नलाई रिल्यालिटी शो बनाए।कति खर्च भएको छ यसको निर्माणमा ?
करिब १३ करोड खर्च भएको छ। आफैंले लगानी गरेको छु। आठ वटा एपिसोड बनाएको छु। अस्ति प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरोकारवालालाई एकै ठाउँमा राखेर पहिलो ‘एपिसोड’ देखाएका छौं। अमेरिकामा मात्रै सो रिलिज भएको छ। विदेशीहरूले निकै मन पराएका छन्।
किन विदेशीबाट हाम्रा हिमालको कथा भन्न लगाउनुभयो ?
हाम्रो हिमालको बारेमा संसारलाई भन्नु छ। हाम्रो हिमालको बारेमा नेपालीले नेपालमा मात्रै भनेर महत्त्व राख्दैन। हामीले भन्दा नेपालले मात्रै सुन्छ। विदेशीले भन्दा नेपालको प्रमोट विदेशमा हुन्छ। त्यही उद्देश्यका साथ टिलिभिजन शो बनायौं। जुन शो एमोजन प्राइममा उपलब्ध छ। एमोजन प्राइम विश्वको सबैभन्दा ठूलो प्लेट फर्म हो।
हाम्रो नेपालको बारेमा जति पनि शो छन्, ती सबै विदेशीले बनाएको छ। पहिलो पटक नेपालीहरूले बनाएको शो अमेरिकामा रिलिज भएको हो। हामीले नेपाललाई सरर शोमा देखाएका छौं। एभरेस्ट चढ्नेहरू, आधारशिविर जाने मान्छेहरू, टे«किङ गर्न रहर गर्ने मान्छेहरूले हाम्रो शोलाई मन पराएका छन्। हामी यो काम गरेपछि धेरै युट्युबरहरू नेपाल आएका छन्।
शो निर्माणका सरकारको सहयोग पाउनुभयो ?
छैन। सरकारको सहयोग गर्ने नीति नै छैन। देशको पर्यटन प्रवद्र्धन गर्नका लागि कुनै पनि फिल्म, टीभी शो आयो भने सहुलियत दिने, साथ दिने, समर्थन दिने नीतिगत रूपमा छैन।
अनि, काम गर्दा समस्या भयो भएन ?
हिमालमा गएर फिल्म र शो प्रोडक्सन गर्नु निकै चुनौतीपूर्ण काम हो। अक्सिजन उस्तै समस्या हुन्छ, मौसम, रिमोट एरिया। फेरि यो काममा नेपालीहरू अभ्यस्त छैनन्। नेपालमा अन्तर्राष्ट्रिय टीभी शोको अभ्यास नहुँदा पनि हामीले प्रयास गरेका छौं।
प्रधानमन्त्रीलाई शो देखाएर के कुरा तपाईंहरूले के कुरा सरकार समक्ष राख्नुभयो ?
नेपालको पर्यटन प्रवद्र्धन गर्न दुई कुरामा ध्यान दिनुपर्छ। सोसल मिडिया र अर्को टीभी फिल्म। तर, नेपालको कुनै पनि सरकारी निकायले यो काम गर्न सकिरहेको छैन। नेपाल टुरिजम बोर्डले अहिलेसम्म बनाएको छैन। चलचित्र विकास बोर्डले पनि गरेको छैन। यी निकायले अन्तर्राष्ट्रिय समुदायलाई लक्षित गरेर सामाजिक सञ्जालमा काम गरेको छैन। अब सरकारले यस्तो काम गर्ने नीति बनाउनु पर्छ। यस क्षेत्रमा काम गर्नेलाई सरकारको साथ समर्थन चाहिएको छ।