सोचेजस्तै छ त अमेरिका ?

सोचेजस्तै छ त अमेरिका ?

हामीले सुनेका र सामाजिक सञ्जालमा देखेका सबै कुरा यथार्थ होइनन् र छैनन् पनि।

अमेरिका भन्नेबित्तिकै हाम्रो समाजको मानसपटलमा अर्कै स्वर्गको सपना देखिन थाल्छ। विकसित राष्ट्र, आधुनिक समाज, सुखमय जीवनशैली, आर्थिक सम्पन्नता तथा सफल भविष्य आदिका स्वप्न नमुना हाम्रो दिमागमा खेल्छन्। हामी त्यसैमा रोमाञ्चित हुन्छौं। 

आज संसारको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका जान धेरैका पाइला उचालिएका छन्। कतिपयले त बीजारोपणसमेत गरिसकेका छन्। ‘अमेरिका गएपछि त जे पनि पाइन्छ। कुनै कुराको अभाव हुँदैन। त्यहाँ सहज रोजगारीको अवसर छ। यहाँजस्तो धेरै काम पनि गर्नु नपर्ने। कमाइ पनि मज्जाले हुने। सामाजिक सुरक्षा सुनिश्चित हुने। स्वास्थ्य, शिक्षा सुलभ नै छ रे ! छोराछोरीको भविष्यका लागि सोचिराख्नु नपर्ने, सरकारले नै हेरिदिने। कमाएको जोगाउने आवश्यकता नै नपर्ने’, यस्ता सोचहरू हाम्रो मनमा आउन थाल्छन्। अनि हामीलाई अमेरिका जाने कौतुहलता बढ्न थाल्छ। त्यसका लागि बाटो खोज्न थाल्छौं। के साँच्चिकै अमेरिका हामीले सोचेजस्तै छ त ? 

हामीले ‘अमेरिकामा यस्तो हुन्छ, उस्तो हुन्छ’ भन्ने बाहिरबाट सुनेका र सामाजिक सञ्जालमा देखेका सबै कुरा यथार्थ होइनन् र छैनन् पनि। जहाँ पनि परिश्रम गर्नैपर्छ। अनुशासित अनि लगनशील हुनैपर्छ। ‘अमेरिकामा डलरको बोट नै छ, जति पनि डलर फल्छ’ भन्ने हाम्रो मानसिकता परिवर्तन हुनु जरुरी छ। 

पाँच दशकअघि धादिङ जिल्लाको दुर्गम गाउँ स्यादुलमा जन्मिएका सानुबाबु सिलवाल अहिले अमेरिकामा सफल उद्यमी छन्। करिब दुई दशकअघि अमेरिका टेकेका सिलवालले त्यहाँका हरेक तह–तप्का नियालेका छन्। उनीसँग अमेरिकी समाजका कुनाकन्दरा अनि हावापानीसँग खेलेका, डुलेका, रमाएका अनि गुमाएका अनुभव प्रशस्तै छन्। त्यहाँका गल्ली–गल्लीमा कहिले भोकै, कहिले प्यासै अनि कहिले अनिँदै बाटोमा बिताएका दिन–रात उनका कहालीलाग्दा विगत हुन्। 

दुईवटा विषयमा स्नातक गरेका सानुबाबु सिलवालले आफ्ना अनुभव अनि सिकाइलाई आधार मारेर अमेरिकी समाजलक्षित पुस्तक ‘सपना र यथार्थमा अमेरिका’ ल्याएका छन्। जसले अमेरिकाको सपना देख्ने हरेक नेपालीलाई यथार्थको धरातल देखाइदिएको छ। पुस्तकमा लेखकले अमेरिकासम्बन्धी धेरै समसामयिक प्रश्नलाई सम्बोधन गर्ने प्रयास गरेका छन्। समस्याको समाधान पनि खोजेका छन्।

अमेरिकामा बाँच्न के–के गर्नुपर्छ ? काम कति गर्नुपर्छ ? कति कमाइन्छ ? कति बच्छ ? कानुन, संविधान, नीतिनियम, अनुशासन कस्ता छन् ? आर्थिक व्यक्तिगत तथा अनुशासनमा कसरी बस्ने ? खर्च व्यवस्थापन कसरी गर्ने ? त्यहाँ पुग्ने बाटाहरू कस्ता–कस्ता छन् ? कसरी त्यहाँको जीवन सरल र सफल बनाउन सकिन्छ ? अमेरिकाको कुन–कुन ठाउँमा हामीलाई बस्न सहज हुन्छ ? के–कस्ता काम गर्ने ? यस्ता प्रश्नहरूको उत्तर लेखकले पुस्तकमा सरल भाषामा दिएका छन्। अमेरिकामा बसिरहेका, जाँदै गरेका र भविष्यमा अमेरिका पुग्ने मानसिकता बनाएकाहरूलाई ‘सपना र यथार्थमा अमेरिका’ले उत्तम बाटो देखाउन सहयोग गर्नेछ। 

सिटामोलसमेत खान नपाएर अढाइ वर्षकै उमेरमा मातृवात्सल्य गुमाएका लेखकको बाल्यकाल निकै पीडादायी रह्यो। आमा बालकुमारी सिलवालले संसार छोडेर गएपछि उनका पिताजी लीलानाथ सिलवालले दु : ख गरेर सन्तानलाई शिक्षाको उज्यालोबाट टाढा हुन दिएनन्। आफूले खाइ–नखाइ सन्तानको पेट भर्न लेखकका बुवाले गरेको दु : खको सम्झनाले पाठकलाई भावुक बनाउँछ। 

लेखक सिलवाल आफैं पनि आर्थिक स्वतन्त्रताको सपना देखेर अमेरिका पुगेका थिए। बसोबास अनुमतिपत्र तथा कुनै पनि कानुनी कागजात नभएको अवस्थामा उनले भोगेका दु : खका कथासमेत पुस्तकमा समेटिएका छन्। अमेरिका छिरेपछि सुरुआतमा दैनिक २० घण्टा काम गरेको अनुभव पनि उनीसँग छ। परिश्रम गरेपछि फल जसरी पनि पाइन्छ, लगनशील भएर गरेको परिश्रमको फल कसैले लैजान सक्दैन भन्ने उदाहरण उनले यस पुस्तकमार्फत दिएका छन्। 

नेपाल होस् या अमेरिका। जहाँ बसेको भए पनि सही तरिकाले सही अवसर चिन्न तथा सदुपयोग गर्न सक्नुपर्छ। लक्ष्य प्राप्तिको बाटोमा आफूलाई हिँडाउन सक्यो भने परिवार समुन्नत बन्छ। परिवार समुन्नत बने मात्र समाज समुन्नत बन्छ। समाज समुन्नत बन्नु भनेको जन्मभूमि समुन्नत हुन्छ भन्ने शिक्षा उनले पुस्तकमा व्यावहारिक तवरले उतारेका छन्। 

विगतको अत्यास र कहालीलाग्दो भोगाइका क्रममा देखेका सपनालाई विपनामा परिणत गर्न उनले गरेको अथक मेहनत र त्यसबाट आर्जित अनुभव आम प्रवासी दाजुभाइ तथा दिदीबहिनीका लागि पाठशाला नै हो। उनका अनुभव र भोगाइ प्रेरक बन्न सक्छन्। उनीहरूका लागि सिकाइका उदाहरण हुन सक्छन्। २८४ पृष्ठको पुस्तकमा सिंगो अमेरिकालाई लेखकले अटाएका छन्। ९ खण्डमा छुट्ट्याएको यस पुस्तकमा अमेरिकाको परिचय, अमेरिकीहरूको बानी, आप्रवासीको अवस्था, त्यहाँका अवकाशमैत्री, व्यवसायमैत्री अनि सस्तोमा गुजारा गर्न सकिने राज्यहरू, त्यहाँको सामाजिक सुरक्षा, न्यूनतम ज्याला तथा बालबालिकाको सुरक्षासम्बन्धी जानकारीहरू पहिलो खण्डमा राखेका छन्। 

त्यस्तै, दोस्रो भागमा अमेरिकामा नेपालीहरूको अवस्था कस्तो छ ? सुरुवाती दिनमा कस्ता समस्या आउँछन् ? आम नेपालीले अहिले कस्ता–कस्ता समस्यासँग जुधिरहनु परेको छ ? त्यहाँको महँगी, स्वास्थ्यसम्बन्धी सुझाव, आराम र निद्रा पुर्‍याउने तरिका, लागूपदार्थ सेवनबाट बच्ने उपाय, चोरी–ठगी हुन सक्ने अवस्थाबाट जोगिने उपाय, श्रमशोषण तथा समाजसेवाका विषयमा चर्चा गरेका छन्। तेस्रो खण्डमा भने अमेरिकी जीवनको प्रारम्भका बारेमा लेखेका छन्। 

अमेरिकामा कस्ता–कस्ता अवसर छन् ? भन्ने विषयमा चौथो खण्डमा लेखकले बुझाउन खोजेका छन्। उनले अमेरिकामा व्यवसाय गर्ने तरिका, अपनाउनुपर्ने सावधानी, व्यवसायका किसिम, व्यवसायमा गुडविलको महत्त्व, ब्रान्ड, ग्यास कारोबार, घरजग्गा कारोबार, होमबेस व्यवसाय, रेस्टुरेन्ट, ढुवानीसम्बन्धी व्यवसाय तथा त्यहाँ हुन सक्ने लुटपाट अनि बच्ने उपायहरू समेटेका छन्।

अर्थ व्यवस्थापन कसरी गर्न सकिन्छ, थोरै बचतबाट पनि धेरै भन्दा धेरै लाभ कसरी लिने भन्ने बारेमा उनले पाँचौं खण्डमा अथ्र्याएका छन्। आर्थिक जिम्मेवारी, मितव्ययिता, ‘अटोमेटिक’ भुक्तानी प्रणाली, क्रेडिट कार्डको प्रयोग, फाइनान्स गरेर घर, गाडी तथा अन्य सामग्री खरिद गर्ने विषयमा बताएका छन्। अमेरिकामा कर मनी ट्रान्सफर र वित्तीय कारोबारसम्बन्धी नियमका बारेमा छैटौं एकाइमा लेखिएको छ।

सातौं खण्डमा अमेरिकाको नियम–कानुनसम्बन्धी विषयमा सिलवालले प्रस्ट पार्ने कोसिस गरेका छन्। त्यहाँ हुने ‘मेडिकेटेड फ्रड’, भाडामा बस्दाका नियम, गिफ्ट लेटर, कानुनी सहयोग, गाडी तथा स्वास्थ्य बिमा, स्थायी बसोबास अनुमतिपत्र (ग्रिन कार्ड) तथा सुरक्षासम्बन्धी आवश्यक सुझावहरू दिएका छन्। अमेरिकाको सडक सुरक्षा तथा नियमसम्बन्धी जानकारी उनले आठौं खण्डमा दिएका छन्। जसमा ‘हिट एन्ड रन’को अवस्था, कतै जाँदा अलपत्र परेमा के गर्ने भन्ने विषयलाई सरल भाषामा अथ्र्याइएको छ। नवौं तथा अन्तिम खण्डमा उनले अमेरिका–नेपाल अन्तरसम्बन्धका विषयमा लेखेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.