३३ केभीए प्रसारण लाइन विस्तारमा स्थानीयको अवरोध
महोत्तरी : गौशाला नगरपालिका-१ रामनगरमा निर्माणाधीन नेपाल पल्प एण्ड पेपर इन्ड्रस्ट्रिज प्रालिले बस्तीबाट ३३ केभीए प्रसारण लाइन विस्तार गर्न लागेको भन्दै स्थानीयहरूले विरोध जनाएका छन्।
शनिबार नेपाल विद्युत प्राधिकरणले गौशाला सम्सी सडकखण्डमा पर्ने रामनगरमा बाटो छेउमा गाँडेको पोलबाट ३३ केभीए प्रसारण लाइनका लागि तार जडान गर्ने क्रममा स्थानीयहरूले अवरोध जनाएका थिए। स्थानीयहरूका अनुसार ती प्रसारण लाइनले बस्तीमा प्रत्यक्ष असर पार्ने भन्दै आफूहरू विरोधमा उत्रिएको स्थानीयहरूले बताएका छन्।
बर्दिवास–नगरपालिका ४ स्थित गौशाला चौकबाट रामनगर हुँदै सुर्ती विकास भएर नेपाल पल्प एण्ड पेपर इन्ड्रस्ट्रिज प्रालिसम्म विस्तार कार्य रहेकोमा स्थानीयको अवरोधपछि तत्कालको लागि कार्य स्थगित गरिएको नेपाल विद्युत् प्राधिकरण गौशाला शाखाले जनाएको छ। स्थिति अशान्त भएपछि गौशालाका मेयर दीपेन्द्र महतोको निर्देशन अनुसार विद्युत् विस्तारको काम स्थगित गरिएको विद्युत् कार्यालय स्रोतले जनाएको छ।
नयाँ बनेको कागज कारखानाका लागि मात्रै नभई गौशालामा नै सबस्टेसन बनाउने गरी १०५ फिटको सडक छेउबाट लाइन विस्तार गर्न लागेको हो। यसले बस्तीमा कुनै असर नपर्ने विद्युत् कार्यालयले जनाएको छ।
घटनास्थलमा तत्कालै सुरक्षाकर्मी पुगेसँगै अहिले गौशालाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरले बताए।