अस्पतालको आईसीयूमा लागेको आगो नियन्त्रण, डेढ करोडको क्षति
विराटनगर : विराटनगर महानगरपालिका-५ स्थित लाइफगार्ड अस्पतालको आईसीयूमा लागेको आगो नियन्त्रणमा आएको छ।
करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। ‘विद्युत ‘सर्ट’ भएर आगलागी भएको हुनसक्छ,’ उनले भने, ‘आगलागीको कारण यकिन भइसकेको छैन।’ वास्तविकता पत्ता घटनाको अनुसन्धान सुरु गरिएको जानकारी बस्नेतले दिए।
अस्पताल सञ्चालक समितिका सदस्य एवं वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर कैलाश श्रेष्ठका अनुसार आगलागीबाट करिब डेढ करोड बराबरको क्षति भएको छ। अस्पतालले १० बेडको आईसीयू सञ्चालन गरिरहेको थियो। बिरामी भने नरहेको डा. श्रेष्ठले बताए। ‘यसअघि भर्ना भएका बिरामी डिस्चार्ज भएर गएका कारण आईसीयू खाली थियो,’ उनले भने, ‘नयाँ बिरामी भर्ना भएका थिएनन्।’
अस्पतालमा आगलागी सुरु भएपछि अन्य वार्डका बिरामी र कुरुवाहरू त्रसित बनेका थिए। बाहिरबाट हेर्दा धुवाँको मुस्लो उडिरहेको देखिन्थ्यो। आईसीयूको एसीबाट आगलागी सुरु भएको जानकारी डा. श्रेष्ठले दिए। उनका अनुसार आगोले भेन्टिलेटर, मनिटर, एसी, पोर्टेबल एक्स-रे मेसिन, बेडलगायत आईसीयू कक्षभित्र रहेका सबै सामान जलेका छन्।
‘एसीबाट आगलागी सुरु भयो। १० मिनेटजतिमा सबै जलिसक्यो होला। धन्न आईसीयूमा बिरामी थिएनन्,’ डा. श्रेष्ठले भने, ‘सर्ट सर्किट हुँदा सीटी स्क्यान मेसिनमा पनि असर परेको छ। आगलागीपछि आईसीयू कक्ष ध्वस्त भएको छ। केही पनि सामान बाँकी रहेनन्।’
आईसीयू खाली रहेका कारण मानवीय क्षति हुन नपाएको उनको भनाइ छ। आगलागीपछि ओपीडी लगायतका सबै सेवा तत्काललाई बन्द गरिएको जानकारी डा. श्रेष्ठले दिए। ‘आगलागीका कारण अस्पतालको सेवा प्रवाह अवरुद्ध बनेको छ,’ उनले भने, ‘सोमबारदेखि आईसीयूबाहेकका सबै सेवा सञ्चालन हुने छन्।’