स्नातक पढ्नेको भर्ना शुल्क नगरपालिकाले तिरिदिने

स्नातक पढ्नेको भर्ना शुल्क नगरपालिकाले तिरिदिने
सुन्नुहोस्

गुल्मी : पछिल्लो समय विभिन्न कारणले स्नातक तथा स्नातकोत्तर पढ्ने विद्यार्थीको संख्या घट्दो छ। वैदेशिक रोजगारी, बसाइँसराइ, निजी विद्यालय अभिभावकको रोजाइमा पर्ने लगायतका समस्याले सामुदायिक तथा निजी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी घटिरहेका छन्। पहिले विद्यार्थी भरिभराउ तथा भर्नाका लागि प्रतिस्पर्धा हुने क्याम्पसमा अहिले विद्यार्थीको चाप घटेको तथ्यांकले देखाएको छ।

देशभरका क्याम्पसमा पढ्ने विद्यार्थीको संख्या बर्सेनि घटिरहेको पाइन्छ। सबैभन्दा ठूलो विद्यार्थी संख्या ओगटेको त्रिविमा समेत विद्यार्थीको चाप घटेको छ। कतिले मुस्किलले कोटा पुर्‍याएर अध्यापन गराइरहेका छन् भने कतिपय तोकेको कोटाभन्दा कम विद्यार्थी पढाउन बाध्य छन्। 

कतिपय क्याम्पसले विद्यार्थी संख्या बढाउन भर्ना र मासिक शुल्क घटाउने खालका योजना ल्याएका छन् त कतिले विद्यार्थी आकर्षित पार्ने केही नयाँ खालका कार्यक्रम नै सार्वजनिक गरिरहेका छन्। कुनै समय विद्यार्थीको संख्याले भरिभराउ हुने गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसमा पछिल्लो केही वर्षयता विद्यार्थी संख्या घट्दै गइरहेको छ। सामुदायिक क्याम्पसमा सरकारको कम लगानी र अभिभावकको रोजाइमा निजी क्याम्पस पर्ने हुँदा पनि देशभर यी र यस्ता समस्या देखा पर्न थालेका छन्।

सामुदायिक विद्यालयमा सरकारले लगानी बढाए पनि गुणस्तर सुधार गर्न नसक्दा अभिभावकले गुणस्तरीय शिक्षाको विकल्प रोज्न थालेका छन्। निजीको तुलनामा सार्वजनिक विद्यालयको पूर्वाधार राम्रो बनाउँदै लगिए पनि विद्यार्थीको संख्या भने घट्दै गइरहेको देखिएको छ। 

गुल्मी जिल्लालाई शिक्षाको माध्यमबाट समुन्नतितर्फ लैजान रेसुंगा नगरपालिकाले स्नातक तह पहिलो वर्षमा भर्ना हुन चाहने विद्यार्थीको शुल्क तिरिदने भएको छ। जिल्लाकै शैक्षिक धरोहरका रूपमा चिनिने रेसुंगा बहुमुखी क्याम्पसमा प्रथम वर्ष भर्नाबापतको प्रतिविद्यार्थी पाँच हजार रुपैयाँ नगरले तिरिदिने रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए।

नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गर्दै रेसुंगा बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या पछिल्लो केही वर्षयता घट्दै गएकाले विद्यार्थीको संख्या वृद्धि गरेर उक्त क्याम्पसलाई पुरानै लयमा फर्काउन निःशुल्क भर्ना कार्यक्रम ल्याएको नगरप्रमुख पन्थीले बताए। नगरप्रमुख पन्थीका अनुसार गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका कारण क्याम्पस पढ्नबाट वञ्चित विद्यार्थीलाई यस कार्यक्रमले समेट्ने छ। 

क्याम्पसले स्नातक प्रथम वर्षको भर्ना शुल्क ६ हजार १ सय ५० रुपैयाँ तोकेको छ। २०३९ सालमा समुदायस्तरबाट सञ्चालन गरिएको यस रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयमा अध्ययन/अध्यापन हुँदै आएको छ। क्याम्पसमा हाल विभिन्न तहमा ७ सय ७९ जना विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रमुख हरिबहादुर केसीले बताए।

यस वर्ष उक्त क्याम्पसमा तीन सय जना विद्यार्थी भर्ना गर्ने लक्ष्य नगरपालिकाले लिएको छ। नगरपालिकाले यसअघि क्याम्पस आर्थिक संकटमा परेको भन्दै एक करोड रुपैयाँ सहयोग गरेको थियो। स्नातक तह र स्नातकोत्तर तह अध्यापन गराउँदै आएको क्याम्पसमा पढ्न मासिक शुल्क ९ सय ५० रुपैयाँ लाग्ने क्याम्पसले जनाएको छ। 

प्राध्यापक/उपप्राध्यापकहरूलाई तलब दिन नसकेपछि रेसुंगा बहुमुखी क्याम्पसले यसअघि नै संकटकाल घोषणा गरेको थियो। नगरपालिकाले यसअघि दुई चरणमा एक करोड रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ। संकटकाल घोषणापछि क्याम्पसले केही उपप्राध्यापकलाई समेत हटाएको थियो। रेसुंगाले एसईईमा ३ दशमलव २ जीपीए ल्याएर उत्तीर्ण गर्ने विद्यार्थीलाई नगरपालिका भित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको लागि मासिक एक हजार रुपैयाँ छात्रवृत्ति दिँदै आएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.