मोरङमा जंगली हात्तीको छावा मृत फेला
विराटनगर : मोरङको बेलबारीमा मंगलबार बिहान जंगली हात्तीको छावा (हात्तीको बच्चा) मृत फेला परेको छ। बेलबारी नगरपालिका–३ करमडाँडामा बिहान ५:३० बजेतिर छावा मृत भेटिएको सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख एवं वन अधिकृत दिपेशकुमार मिश्रले जानकारी दिए।
उनका अनुसार विनोद थापाको टिक बगानभित्र अन्दाजी २-३ वर्षको जस्तो देखिने पोथी हात्ती मृत फेला परेको हो। छावाको मृत्युको कारण यकिन हुन सकेको छैन।
‘हात्तीको छावा मारिएको हो कि आफैं मरेको हो भनेर खुल्न सकिरहेको छैन,’ मिश्रले भने, ‘अनुसन्धानपछि मात्रै सबै कुरा भन्न सकिन्छ।’ उनका अनुसार घटनाका बारेमा कोशी टप्पु वन्यजन्तु आरक्षलाई खबर गरिसकिएको छ। ‘कोशी टप्पुबाट अनुसन्धानका लागि विज्ञको टिम आउँदै छ,’ वन अधिकृत मिश्रले भने, ‘पोस्टमार्टम गरेर रिपोर्ट आइसकेपछि मात्रै छावाको मृत्युको कारण प्रष्ट हुन्छ।’
वन कर्मचारी र इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले अहिले घटनास्थललाई सुरक्षित राखेको छ। घटनास्थल वरपर सोमबार राति १०/१२ वटाको संख्यामा हात्ती देखा परेको जानकारी स्थानीयले दिएका छन्। प्रहरीका अनुसार बेलबारी क्षेत्रमा पछिल्लो १ सातायता हात्तीको हुल देखा परिरहेको छ। हात्तीले सामान्य क्षति पनि गरिरहेको छ। स्थानीयले लगाएका बालीनाली खाइदिने र नष्ट गर्ने गरेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहालले बताए।
‘बेलबारी क्षेत्रमा १ सातायता नियमित जंगली हात्ती देखा परिरहेका छन्,’ दाहालले भने, ‘घटनास्थलनजिक पनि सोमबार राति हात्तीको हुल देखा परेको जानकारी स्थानीयले गराएका छन्।’ त्यही हुलमा रहेको छावा मृत फेला परेको अनुमान छ।
मोरङमा पछिल्लो ७ महिनाको अवधिमा ३ वटा जंगली हात्ती मृत फेला परिसकेका छन्। सुन्दरहरैँचा नगरपालिका–६ मा भाले जातको छावा गत जेठ ३० गते बिहान मृत फेला परेको थियो। त्यस्तै, सुन्दरहरैंचा–१० स्थित जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिव १२ वर्षको जंगली हात्ती २०८० पुस १६ गते मृत भेटिएको थियो।