धादिङमा फोहोरलाई मोहोर बनाउने अभियान
धादिङ : पछिल्लो समय फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको छ। संघीय राजधानी काठमाडौंसहितका सहरी क्षेत्रमा फोहोर व्यवस्थापनमा चुनौती बेहोरिरहेको अवस्थामा धादिङको नीलकण्ठ नगरपालिकाले भने फोहोरलाई मोहोरका रुपमा परिवर्तन गर्ने अभियान सुरु गरेको छ।
नीलकण्ठ नगरपालिकाले फोहोरलाई व्यवस्थापन नभएर पुन::प्रयोग गर्न मिल्ने गरी जैविक कम्पोस्ट मल र अन्य सामाग्री बनाउने अभियान सुरु गरिसकेको छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउने र नकुहिने फोहोरलाई अन्य सामाग्री बनाउन तथा पुन: प्रयोगको अभियान सुरु गरेको जनाएको हो।
नगरपालिकाको यस खाले अभियानले फोहर व्यवस्थापनमा समेत निकै ठूलो सहयोग पुग्ने विश्वास नगरपालिकाको छ। नगरपालिकाको बजार क्षेत्रबाट दैनिक पाँचदेखि सात टन फोहर संकलन हुने गर्दछ। अहिले जिल्लाको सदरमुकाम क्षेत्रबाट उत्पादित फोहरलाई अहिले संकलन गरी कम्पोस्ट मोल बनाउन सुरु गरिएको छ।
नगरपालिका क्षेत्रबाट दैनिक निस्कने फोहरलाई कुहिने, नकुहिने र सिसाजन्य गरेर तीन तहमा छानी कुहिने फोहरबाट कम्पोस्ट मल बनाउन सुरु गरेको हो।
अहिले परीक्षणको रूपमा मल उत्पादन सुर भएको छ। विशेष त नगरक्षेत्रबाट दैनिक निस्कने कुहिने तथा जैविक बस्तुहरूको प्रयोगबाट प्राङ्गारिक कम्पोस्ट मल बनाउन लागेको नगरपालिकाको भनाइ छ। नगरपालिका स्थित वडा नम्बर ८ मा मल उत्पादन केन्द्रसमेत स्थापना गरिएको छ।
यसरी कम्पोस्ट मल बनाउन धेरै ठाउँ नचाहिने र थोरै परिमाणमा पनि उत्पादन गर्न सकिने भएकाले आफूहरुले जस्तै अन्य स्थानीय तहलाई पनि यसको सुरुवात गर्न नीलकण्ठ नगरपालिका ८ का वडाअध्यक्ष प्रकाश श्रेष्ठले आग्रह गरे। नगरपालिकाले एक गैरसरकारी संस्थाको सहयोगमा सो कामको सुरुवात गरेको हो।
निलकण्ठ नगरपालिकामा सुधारोन्मुख फोहर व्यवस्थापनका लागि जैविक कम्पोस्ट मल बनाउन सुरु गरेको भन्दै यो निकै प्रभावकारी हुने बुझाइ स्थानीय तहको छ। फोहोरबाट उत्पादित मल किसानका लागि निकै प्रभावकारी हुने विश्वास लिइएको छ।
किसानले समेत नगरपालिकाले फोहोरबाट उत्पादन गरेको मल लाभदायक र प्रभावकारी बन्ने विश्वास लिएका छन्। नगरपालिकाको पहललाई स्थानीयले राम्रो र उदाहरणीय भएको स्थानीय किसान खगेन्द्र कोइराला बताउँछन्।
यसरी कम्पोस्ट मल बनाउँदा मल तयार हुनका लागि कम्तीमा २१ दिन नत्र एक महिना लाग्ने छ। कम्पोस्ट मल बनाउँदा काठको धुलोमा जिवाणुसहितको जैविक रसादी प्रयोग गरी एक सातासम्म हावा नपस्ने गरी राम्रोसँग मिसाएर राखी त्यसलाई पुन: एक सातापछि बजारबाट लगिएको कुहिने फोहरमा मिसाई मल बनाउने गरिन्छ।
यसरी मिश्रण गरेको बस्तुलाई फेरि २१ दिनसम्म राखेर ६५ डिग्रीको तापक्रम पुगे पछि सो मल खेत बारीमा राख्न योग्य मानिन्छ। तरकारीको बोक्रा, फलफूललगाएत अन्य कुहिने बस्तुहरू मात्रै जैविक मलका लागि प्रयोग गरिन्छन्। ठूलो परिमाणमा मल बनाउन सकेको खण्डमा यसरले रासायनिक मलको अभाव पूरा गर्न सक्ने विश्वास स्थानीय तहको छ।