अर्घाखाँचीमा बढ्दै आत्महत्या, ६ वर्षमा ३३१ को मृत्यु
अर्घाखाँची : लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा आत्महत्या गर्नेको संख्या विकराल बन्दै गएको छ। अर्घाखाँचीमा पछिल्लो ६ वर्षमा ३ सय ३१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको तथ्यांक रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठोरले बताए।
नेपालमा वार्षिक तथ्यांकअनुसार औसत ६ हजार ९ सय ४८ जना व्यक्तिले आत्महत्याको कारण प्रत्येक वर्ष ज्यान गुमाइरहेका छन्। औसत महिलाभन्दा पुरुषले बढी आत्महत्या गरेको देखिन्छ। मानिस सबैभन्दा बढी झुन्डिएर आत्महत्या गर्ने गरेका छन्।
डिप्रेसन, लागूपदार्थ तथा मादक पदार्थको प्रयोगसम्बन्धी समस्याहरू, परीक्षामा असफलता देखासिकी तथा प्रचारप्रसार, सामाजिक सञ्जालको गलत प्रयोग, अन्तरवैयक्तिक र पारिवारिक द्वन्द्व, प्रेम, अनैतिकसम्बन्ध, लिभिङ टुगेदर, वैवाहिक सम्बन्धमा देखिएका आपसी भावनात्मक असन्तुलनलगायतका कारणले आत्महत्या गर्ने विभिन्न अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विपिन कार्कीले बताए।
अति न्यून आय, सामाजिक सहायताको अभाव, दीर्घ रोगहरू, शारीरिक अपांगता, वंशाणुगत, आफूलाई मूल्यहीन महसुस गर्ने, भविष्यप्रति निराश हुनुका साथै आउँदा दिनहरूमा राम्रो हुन सक्छ भनी सोच्नै नसक्ने कारणले आत्महत्या गर्छन्।
अर्घाखाँचीको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७५।७६ देखि २०८०।८१ सम्म ६ वर्षको अवधिमा १ सय ५७ जना पुरुष, १ सय ३१ महिला र ४१ जना बालबालिका गरी ३ सय ३१ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक कार्कीको भनाइ छ। महिलाको तुलनामा पुरुषहरूले बढी आत्महत्या गरेको तथ्यांकले देखाएको छ।
बढ्दो आत्महत्यालाई न्यूनीकरण गर्न प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री सल्लाहकार र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डीएसपी प्रतीतसिंह राठोर संयोजक र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सहसंयोजक रहेको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन गरिएको छ।
समितिले आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनको लागि सबै सरोकारवाला निकायहरू सम्मिलित संयन्त्र निर्माण गरी सक्रिय तुल्याउने, आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनको लागि आवश्यक तथ्यांकको संकलन, विश्लेषण र सहायता प्रदान गर्ने, आत्महत्याको जोखिममा रहेका नागरिक तथा आम नागरिकलाई लक्षित गरी मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने समितिका संयोजक डीएसपी प्रतीतसिंह राठोरले बताए।