सिकार खेल्न ढोरपाटन, सुन्दरता चुम्न ढोरपाटन

सिकार खेल्न ढोरपाटन, सुन्दरता चुम्न ढोरपाटन

बेनी : कतै समथर फाँट। कहीँ थुम्काथुम्की। कतै भिरालो पाखो। जमिनको हरियालीमा कार्पेट बिछ्याएझंै रंगीबिरंगी फूलहरू। छिनछिनमा फेरिरहने मौसम। बादल, घाम र आकाशेपानीको लुकामारी। कोलाहलमुक्त वातावरण। चिसो सिरेटो। चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान। समूहसमूहमा चरिरहेका जनावरको घाँटीमा झुन्ड्याइएको घण्टीको एकनासको आवाज। पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल। 

ढकमक्क बुकी फुलेका फाँटमा चरिरहेका घोडाको दृश्यले चित्रकारले कोरेको क्यानभासको आभास गराउँछ। क्षणमै आकाश खुल्छ। उत्तिबेलै बादलले डम्म ढाकिन्छ। केहीबेरमै पानी पर्छ। मौसमको लुकामारीको अनुभव नै अर्कै। 

म्याग्दी, बागलुङ र पुर्वी रुकुमको १ हजार ३ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्ष मनमोहक र रमणीय छ। ढोरपाटनका विभिन्न ठाउँमा पाँच दिन घुमेर फर्किएका काठमाडौंका अनिल सिलवालले साहसिक सिकारसँगै प्रकृतिप्रेमीहरूका लागि ढोरपाटन उपयुक्त गन्तव्य भएको अनुभव सुनाए। 

null‘शान्त वातावरणमा रंगीबिरंगी फूल, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदो रहेछ,’ समुद्री सतहदेखि ४ हजार १० मिटर उचाइमा रहेको गर्पाछेडा क्षेत्रमा भेटिएका सिलवालले भने, ‘थरीथरीका फूलले रंगिएको ढोरपाटन बर्खा याममा झनै रमाइलो छ।’ ढोरपाटनको फाँट र पाखा बुकी फुलेर रंगिएपछि रमणीय बनेको छ। लेकमा फुल्ने फूलहरूलाई समग्रमा बुकीका नामले चिन्ने गरिन्छ। ढोरपाटन पर्यटन प्रवद्र्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले वन्यजन्तु र घरपालुवा जनावरको पोसिलो आहारा बुकीले पर्यटक लोभिएको बताए। ‘असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको अफ सिजन भए पनि ढोरपाटनका लागि  सिजन हो,’ उनले भने, ‘केही वर्षअघिसम्म वनपाखामा सीमित ढोरपाटनको बुकीको सौन्दर्य अहिले पर्यापर्यटनको आधार बन्न थालेको छ।’ 

 पर्या–पर्यटनको माध्यम 

nullढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो। हरेक वर्ष वसन्त र शरद याममा ढोरपाटनमा सिकार खेल्न विश्वका सौखिन र धनाढ्य सिकारीहरू आउँछन्। २०४४ सालमा ढोरपाटनलाई सिकार आरक्ष घोषणा गरिएको थियो। कम्पनीहरूले ठेक्का प्रतिस्पर्धामार्फत सरकारलाई राजस्व तिरेर सिकार गर्न पर्यटक ल्याउँछन्। यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १ सय ३७ प्रजातिका पक्षीहरू छन्। आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ।  आर्थिक वर्ष २०८०/०८१ मा १९ वटा नाउर र ११ वटा झारल सिकारबाट ४ करोड २६ लाख ८८ हजार ७ सय राजस्व संकलन भएको छ। २०६७/०६८ देखि हालसम्म ३ सय ९४ नाउर, झारल र रतुवाको सिकार भएको छ। सन् २०२२ मा नाउरको गणना गर्दा ७९ वटा झुन्डमा १ हजार २ सय ९० नाउर भेटिएका थिए। 

आर्थिक वर्ष २०७९/८० मा १९ नाउर र ११ झारल, २०७८/०७९ मा १७ नाउर र ८ झारल, २०७७/०७८ मा १० नाउर र ६ झारलको सिकार भएको थियो। सिकार कम्पनी ग्लोबल सफारी काठमाडौंका सिकार गाइड मानबहादुर पुनका अनुसार स्पेन, अमेरिका, रसिया, अमेरिका, जर्मनी, फ्रान्स, बेलारुसलगायत देशका सिकारीहरू सिकार खेल्न आउँछन्।

null‘विश्वका धनाढ्य व्यक्तिहरू जंगली जनावरको सिकारको सोख पूरा गर्न करोडौं खर्चेर ढोरपाटन आउने गरेका हुन्’,  १३ वर्षदेखि सिकार गराउँदै आएका उनले भने, ‘युवादेखि ७४ वर्षका वृद्ध पनि सिकार खेल्न आएका छन्।’ 

वार्षिक १५ हजार पर्यटक विदेशी सिकारीबाहेक पछिल्ला केही वर्ष देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक पनि ढोरपाटन घुम्न आउने क्रम बढेको छ। आरक्षका रेन्जर सागर सुवेदीका अनुसार २०८१ को साउन महिनाको १ देखि २८ गतेसम्म ५ सय ८१ जना आन्तरिक पर्यटकले ढोरपाटन भ्रमण गरेका छन्। आर्थिक वर्ष ०८०/०८१ मा १५ हजार ५ सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा १९ लाख ३३ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको छ। 

ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोस्टमा पर्यटकहरूको विवरण राख्ने र शुल्क लिने गरिन्छ। ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति १५ सय र अन्य देशकाले तीन हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्छ। 

nullगत आर्थिक वर्षमा ४ करोड ७१ लाख २ हजार ६ सय २८ रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ४८ लाख राजस्व संकलन भएको थियो। सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढी बढाउमा सिकारी छानिने अवसरले राजस्व बढेको आरक्षले जनाएको छ। 

गत आवमा सार्क राष्ट्रका ४ र अन्य देशका १ सय २ जना पर्यटक ढोरपाटन आएका थिए। सडक यातायात, होटल तथा घरबास सुविधा, सञ्चारमाध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तीमगरले बताए। ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक तीन सय जना बास बस्न सक्ने क्षमता छ। 

null फूलको पहिचान र अभिलेखीकरण गरिँदै 

ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीका अनुसार साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्छ। ‘बर्खा सिजनमा ढोरपाटनको आकर्षण नै बुकी हो,’ उनले भने, ‘यहाँ पाइने फूलहरूको जात पहिचान र अभिलेखीकरणको काम थालेका छौं।’ 

संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा फाइने १३ प्रजातिका फरकफरक फूलको तस्बिर र स्थानीय नाम संकलन गरेका छन्। ओठफुटे, काप्चुच्चे, दहीठेकी, दूधे, नाकेफुली, पुतली, प्याउली, फट्याङग्री, बिजौरी, बुकी (१), (२), (३), बोक्सी, मदाने र राँके स्थानीय नाम गरेका फूलको तस्बिर संकलन भएको छ। 

यी बाहेक कप्टेरी, भुइँपाटी, बटारे, घोप्टे, अतिशलगायतका फूलहरू पनि बुकीको पाटनमा फुल्ने गर्छन्। वर्षात्को समयमा मात्रै फुल्ने यी फूलहरू असोज लागेपछि सुक्न थाल्दछन्। बुकीफूलको बारेमा वैज्ञानिक अध्ययन अनुसन्धान भएको छैन।  संकलन भएका तस्बिरहरूलाई सम्बन्धित विज्ञहरूको सहयोगमा अंग्रेजी र वैज्ञानिक नाम पहिचान गर्ने तयारी गरेको संरक्षण अधिकृत पंगेनीले बताए। आरक्षले फूलहरूलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्याक्टरमा गाईबस्तुको मल उठाउन रोकेको छ। सिमसार क्षेत्रमा गाईबस्तुले गोब्र्याउने भएकाले मलिलो माटोमा फूलका बोटबिरुवा सजिलै हुर्कन्छन्। 

बुकी पाटन  

ढोरपाटन सिकार आरक्ष समुद्री सतहदेखि दुई हजार मिटर उचाइमा रहेको रुकुमको तकसेरादेखि ७ हजार २ सय ४३ मिटर उचाइको चुरेन हिमालसम्म फैलिएको छ। पूर्वी रुकुमको ६०, बागलुङको २६ र म्याग्दीको १४ प्रतिशत भूगोल ढोरपाटनमा समेटिएको छ। स्थानीयवासीले हिमाली क्षेत्रका पाटनहरूलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूलहरूलाई बुकीफूल भन्ने गरिएको हो। 

बर्खा याम सुरु भएपछि पूर्वी रुकुम, म्याग्दी र बागलुङका किसानले पालेका गाईभैंसी, भेडा, बाख्रा, घोडालाई घाँस खुवाउन बुकीतर्फ उकालो लगाइन्छ। बेंसीका खेतबारीमा बाली लगाएपछि ठूलो संख्यामा पालिने बस्तुभाउलाई पोसिलो घाँस खुवाउन बुकी लैजाने चलन रहेको धवलागिरि गाउँपालिका–७ घर ढोरपाटनको छेन्तुङमा बस्दै आएका विष्णुबहादुर थापाले बताए। वैशाखमा लेकतिर उक्लिएका गोठालाहरू असोजमा मात्र बेंसी झर्ने चलन छ। गोठाला जनजीवनलाई नियाल्नका लागि बुकीको यात्रा रोमाञ्चक अवसर हो। पर्यटकहरू घोडा चढेर रमाउँछन्। 

बुकीको पोसिलो घाँस खाएका बस्तुभाउ निरोगी, मोटा हुने र दूध तथा मासुको उत्पादन बढी हुने किसान लछुमन थापाले बताए। ढोरपाटनको बुकीमा करिब पाँच सय किसानका ५० हजार पशुहरू चरनका लागि गएका थापाको भनाइ छ। बुकीफूलको ढोरपाटन र आसपासका गाउँहरूमा मनाइने चाडपर्व, धर्म, संस्कार र संस्कृतिसँग गाँसिएको छ। भुमे पूजामा युवायुवतीले फूल टिपेर एक अर्कालाई दिने चलन छ। साउने संक्रान्तिमा बुकी फूल जम्मा पारेर लेक र गाउँका देवता पुज्ने गर्छन्। मगरात क्षेत्रको प्रमुख मानिने उत्तरगंगा ढोरबराहमा जनै पूर्णिमामा लाग्ने मेला ढोरपाटनलाई बुकीफूलले ढाकेको समयमा लाग्ने गर्छ। ढोरपाटनमा ढकमक्क फूल फुलेर स्वर्ग जस्तै बनेको जनैपूर्णिमाको दिन पारेर यहाँ बलि राजा प्रकट भएका र उनको स्वागतका लागि मेला लगाउने चलन रहेको ढोरपाटनको छेन्तुङका ८३ वर्षीय विष्णुबहादुर थापाले बताए।  

ढोरपाटनको थप आकर्षण

सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक् रहनसहन, परम्परागत रूपमा बनेका घर–गोठहरू र घोडचडी ढोरपाटनको थप आकर्षण र विशेषता हुन्। सिकार आरक्ष कार्यालय परिसरको सूचना केन्द्र छ। आरक्ष क्षेत्रमा पाइने वन्यजन्तुबारे जानकारीसहित विभिन्न जनावर र पशुपन्छीको छालासमेत संग्रहालयमा राखिएको छ। 

ढोरपाटनमा उत्तरगंगाको ढोरबराह मन्दिर, उत्तरगंगा, रुद्रताल, छेन्टुङ गुम्बालगायत मठमन्दिर रहेका छन्। जनैपूर्णिमा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भिड लाग्छ। ढोरपाटन आरक्ष कार्यालयको तीन किलोमिटर पूर्वमा रहेको छेन्टुङ गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को आकर्षण हो।  तिब्बती शरणार्थीका जनजीवन, संस्कृति र रहनसहन बुझ्न छेन्टुङ पुग्नैपर्ने गन्तव्य हो। ढोरपाटनबाट २२ किलोमिटर दूरीमा रहेको जलजलाबाट हिमाल, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। 

ढोरपाटन उपत्यकाको पुरानो हवाईमैदान, उत्तरगंगा, स्यालपाखे, नवी र तिब्बती शरणार्थी क्याम्पसम्म घुम्ने गर्छन्। त्यसका साथै गुर्जाघाट, जलजला र माथिल्लो भागमा बुकीलगायतका बस्ती यहाँका अन्य रमणीय स्थान हुन्। 

nullपर्यटकहरूको बसाइ लम्ब्याउनका लागि सहायक गन्तव्य पहिचान गरेर संघीय, प्रदेश सरकार र नगरपालिकामार्फत पूर्वाधार निर्माण थालिएको ढोरपाटन पर्यटन प्रवद्र्धन विकास संस्थाले जनाएको छ। यस वर्ष प्रदेश सरकारको सहयोगमा पाखाथरमा होमस्टे सञ्चालन, काडेको डाँडाखेदी किटेनी जोड्ने पदमार्ग र गर्पाछेडाको बुकीमा ‘ब्लु सिप गोठ स्टे’ सञ्चालन गरेका छन्। 

कसरी पुग्ने 

पोखरादेखि मध्यपहाडी लोकमार्ग भएर बस, गाडी वा मोटरसाइकलमा बागलुङ सदरमुकाम हुँदै झन्डै पाँच घण्टामा बुर्तिबाङ पुगिन्छ। बुर्तिबाङ पुगेपछि लोकमार्गलाई छाडेर अधिकारीचौर, बोबाङ हुँदै ३६ किलोमिटर कच्ची सडकमा जिप र मोटरसाइकलमा दुईदेखि तीन घण्टामा ढोरपाटन पुगिन्छ। म्याग्दीको बेनी हुँदै धवलागिरि गाउँपालिकाको मुनासम्म ४५ किलोमिटर सडकमा र त्यसपछि मरेनी जलजला हुँदै दुई दिन पैदलयात्रा गरेर ढोरपाटन पुगिन्छ। पूर्वी रुकुमको टकसेरा हुँदै पनि ढोरपाटन आउन सकिन्छ। गुरिल्ला पदमार्गले समेटिएको ढोरपाटन हुँदै डोल्पा पनि जान सकिन्छ। 

अतिक्रमण र चोरी सिकारको चुनौती

nullमण्डिप पंगेनी , संरक्षण अधिकृत, ढोरपाटन सिकार आरक्ष 

सिकार आरक्षको ३४ स्थानको करिब १ सय ८५ हेक्टरमा ३ सय ११ घरधुरीले वन तथा खर्क क्षेत्रमा बसोबास र खेतीपातीको लागि अतिक्रमण गरिएको छ। त्यो क्षेत्र खाली गराउन सरकारका विभिन्न निकाय एवं सबै सरोकारवालाहरूबीच संवाद, समन्वय र सहकार्य भएको छ। सिकार आरक्षको वन पैदावार संकलन, खर्क व्यवस्थापन, पर्यटकीय पूर्वाधार निर्माण कार्यलाई थप प्रभावकारी बनाउन सिकार आरक्षसम्बन्धी नियमावलीको तर्जुमा एवं कार्यान्वयन तथा यथाशीघ्र मध्यवर्ती क्षेत्र घोषणा गर्न पहल भएको छ। सिकार आरक्षको सुरक्षाका लागि २०७२ सालदेखि नेपाली सेनाको गुल्म रहेकोमा गण राखेर दुले, रन्मा, मैकोट, तकसेरा, मरेनी र गुर्जाखानीसहित कम्तीमा पाँच स्थानमा यथाशक्य चाँडो सुरक्षा पोस्ट विस्तार गर्न अति आवश्यक छ। वैज्ञानिक तवरले सिकार कोटा निर्धारणका लागि विस्तृत र पर्याप्त मात्रामा अध्ययन अनुसन्धान गर्नुपर्छ। 

सडक यातायातको सास्ती

nullरामबहादुर घर्तीमगर, होमस्टे सञ्चालक, ढोरपाटन 

ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङ बजारदेखि ढोरपाटन जोड्ने ३२ किलोमिटरमध्ये २२ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वर्षअघि काम थालिएको हो। तर, गति नलिँदा  पर्यटक र स्थानीयवासीलाई सास्ती भएको छ। आयोजना कार्यान्वयन गर्ने सालझण्डी–ढोरपाटन सडक आयोजनाको अर्घाखाँचीमा रहेको कार्यालयमा ढोरपाटनका उपमेयर धनबहादुर कायतसहित स्थानीयवासीको टोलीले केही दिनअघि गएर दबाब दिएका थियौं। ढोरपाटन सदावहार सुन्दर देखिए पनि बाटोका कारण वर्षामा समस्या हुन्छ। म्याग्दीको बेनी हुँदै मुना, जलजला, ढोरपाटन, पूर्वी रुकुम जोड्ने सडक निर्माणलाई छिटो सकेमा ढोरपाटनका बासिन्दा, पर्यटकहरूका लागि छोटो र सजिलो हुने थियो। 

बुकीमा गोठ लैजाने चलन हराउँदै : ढोरपाटन उपत्यका बाहिर पनि गन्तव्य छन्

nullजीवनकुमार पुन , सचिव, ढोरपाटन पर्यटन प्रवर्द्धन विकास संस्था  

पहिले दुई सिजनमा सिकार खेल्नमात्र हेलिकप्टर चढेर पर्यटक आउने ढोरपाटनमा अहिले बाह्रैमहिना आन्तरिक पर्यटक आउन थालेका छन्। पाहुनाको सुविधाका लागि यहाँ होटल र होमस्टे सुविधा थप भइरहेको छ। जलजला, किटेनी, काँडेधुरी, गर्पाछेडा ब्लु सिप गोठ स्टेजस्ता नयाँ पहिचान गरेर पूर्वाधार निर्माणका साथै प्रवद्र्धनमा जुटेका छौ। उत्तरगंगा, छेन्तुङ गुम्बालाई धार्मिक पर्यटनसँग जोड्ने प्रयास भएको छ। बुर्तिबाङबाट आउने सडकलाई सहज बनाउने, म्याग्दी र पुर्वी रुकुमसँग सडकले जोड्न पहल भइरहेको छ। सिकार आरक्ष कार्यालय र पर्यटन विभागले पर्यटक सूचना केन्द्र बनाउने तयारी गरेका छन्। सुविधा र पूर्वाधारसँगै ढोरपाटनमा पर्यटकको बसाइ लम्ब्याउन सकेमा यहाँको आर्थिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरेका छौं। 

हाम्रा पुर्खाले गर्दै आएको गाईभैंसी, भेडाबाख्रा पाल्ने र उनीहरूलाई चराउनका लागि बर्खामा लेक, हिउँदमा बेंसीमा गोठ सार्ने चलन हाम्रो पुस्तासम्मले धानेका छौं। हाम्रा छोरा, नाति सबै विदेश र सहर पसे। म ७२ वर्षको बुढोले हाम्रो घरको ४० वटा र १४ जना छिमेकीको ६ सय भेडा चराउन किटिनीको बुकीसम्म पुगें। दुःखको पेसा भएकाले छोराहरूले गोठाला काम गर्न मानेनन्। अरूको अवस्था पनि यस्तै हो। हामीसँगै गोठ पनि मासिने चिन्ता छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.