बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न रक्षामन्त्रीसहितको टोली खुम्बु क्षेत्रमा
सोलुखुम्बु : नेपाल सरकारका रक्षामन्त्री मानवीर राईसहितको टोली नेपाली सेनाको हेलिकप्टरबाट पहिरोग्रस्त सोलुखुम्बुको थामे गाउँ पुगेका छन्। शुक्रबार दिउँसो थामेखोलामा आएको बाढीले बगाएको थामे गाउँको स्थलगत निरीक्षणका लागि काठमाडौंबाट रक्षामन्त्री राईसहित विपत व्यवस्थापन समितिको टोली थामे आएका हुन् ।
बाढीले थामेमा विद्युत तथा संचार सेवा ठप्प बनेको छ । इलाका प्रहरी कार्यालय लुक्लाका सइ हेमबहादुर कटवालका अनुसार उक्त निरीक्षण टोलीमा १३ जना रहेका छन् । जसमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, नेपाली सेनाका कर्णेल, जिल्लाका सांसद लगायत रहेका बताइएको छ । बाढीले खुम्बु पासाङ ल्हामु गाउँपालिका -५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ चौकी र विद्यालय बगाएको थियो ।
बाढीले स्थानीय विद्युत आयोजनाको ड्याम पूर्ण रुपले क्षतिग्रस्त बनेको छ भने खुम्बु पासाङ ल्हामु गाउँपालिका ३ स्थित फाक्दिङ देखि नाम्चे जामे करिब २०० मिटर पदमार्ग कटान गरेको स्थानीयले लामाकाजी शेर्पाले जानकारी दिए ।
त्यहाँ उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी सक्रिय भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्धार गरी आर्मी क्याम पछाडिको घरमा राखिएको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।
बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदुधकोशी गाउँपालिका ६ का ५ घर परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ । उक्त बाढी भोटेकोशी हुँदै दुधकोशीमा मिसिंदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य(खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ ।
बाढीले कोशी आसपासका क्षेत्र कटान गर्दा जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका र माप्यदुधकोशी गाउँपालिका जोड्ने दुधकोशी नदी माथीको पाकी मोटरेबल पुलमा सवारी सञ्चालन गर्न नमिल्ने गरी क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पुलमा क्षति पूगीसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जल समेत टुटेको बताइएको छ ।