एउटा व्यक्तिले खेलकुदमा लागेर के–के गर्न सक्छ ? धेरैलाई लाग्छ, देशको नाम संसारमा चिनाउँछ, मानसम्मान र प्रतिष्ठा आर्जन गर्छ। तर, कुमार कार्कीले राष्ट्रको झण्डा विश्व खेलकुदका मञ्चमा फहराउने, मान प्रतिष्ठा आर्जन गर्ने र आफ्नो जीविकोपार्जनको माध्यम मात्रै बनाएनन्, जीवन नै खेलकुदमा समर्पण गरे।
बाराको निजगढबाट सुरु भएको उनको खेलयात्रा अमेरिकाको बाल्टिमोरमा चलिरहेको छ। उनले करिब चार दशकदेखि आफूलाई खेलकुदमै समर्पण गरिरहेका छन्। तेक्वान्दोका सातौं डान प्राप्त अन्तर्राष्ट्रिय पशिक्षक तथा निर्णायक उनी त्यहाँ मास्टर कार्कीका नामले परिचित छन्।
निजगढबाट सुरु भएको यात्रा
कुमार विद्यालयमा पढ्दा ब्रुसुलीको चर्चा धेरै हुन्थ्यो। उनले कयौं पटक उनको चलचित्र पनि हेरेका थिए। ब्रुसुलीले जस्तै मार्सल आर्ट्सका कला देखाउने हुटहुटी थियो उनलाई। तर, सिक्ने ठाउँ पाएनन्। संयोगले त्यही बेला उनको गाउँमा तेक्वान्दो प्रशिक्षण सुरु भयो। २०४५ सालमा नौ कक्षाको अन्तिम परीक्षा सकाएर उनले तेक्वान्दो सिक्न थाले। उनलाई प्रमोद मानन्धरले तेक्वान्दोको प्रारम्भिक कला सिकाए। एसएलसीको तयारीले ६ महिनाभन्दा बढी सिक्न पाएनन्। उनी ‘दोबक’ थन्काएर पढाइमा लागे।
उच्च शिक्षाका लागि काठमाडौं आएपछि उनले फेरि तेक्वान्दो थाले। त्रिपुरेश्वरको केन्द्रीय डोजाङमा यामबहादुर पुनबाट नियमित प्रशिक्षण थाले। २०४८ सालदेखि विभिन्न अञ्चल र राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थाले। २०४८ सालमा आयोजना भएको अञ्चलस्तरीय प्रतियोगितामा स्वर्ण पदक र सोही वर्ष सम्पन्न कलर द ग्रेट राष्ट्रिय प्रयिोगितामा रजत पदक जित्न सफल भए। २०४९ सालमा भएको कलर द ग्रेट प्रतियोगितामा स्वर्ण पदक जित्दै राष्ट्रिय च्याम्पियनसमेत बने।
२०५० सालमा सम्पन्न सेती अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा रजत पदक जित्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका कुमार २०५० सालदेखि १० वर्षसम्म राष्ट्रिय टिममा आबद्ध भए। सन् १९९५ मा मलेसिया र २००१ मा चीनमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका थिए। यस्तै, उनी थाइल्यान्ड, दक्षिण कोरिया र क्रोएसियाका विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागी भए।
साफ खेल्न नपाउँदाको पीडा
२०५६ मा पहिलो पटक क्रोएसियामा आयोजना भएको तेक्वान्दोको वल्र्ड ओलम्पिक क्वालिफाइङमा कुमारले प्रतिस्पर्धा गरे तर घाइते भए। स्वदेश फर्किएको १० दिनलगत्तै साफको अन्तिम छनोट भयो। उनले बन्द प्रशिक्षणमा चार वटा छनोट खेल जित्न सफल भए। अन्तिम छनोटका क्रममा उनको चोट झनै बल्झियो। दायाँ खुट्टामा चोट बोकेका कारण देब्रे खुट्टाले प्रतिस्पर्धा गरे। तर, उनी पराजित भए।
आठौं साफमा नमीठो पीडा भोगेका कुमार पाकिस्तानको इस्लामाबादमा तय भएको नवौं साफका लागि पनि छनोट भएर बन्द प्रशिक्षणमा थिए। तेक्वान्दोको अन्तिम तयारी थाइल्यान्डमा भएको थियो। तर, अमेरिकाको पेन्टागनमा आक्रमण भएपछि प्रतियोगिता स्थगित भयो। लगातार दोस्रो पटक साफ खेल्न नपाएपछि १४औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेलगत्तै उनले खेलाडी जीवनबाट वि श्राम लिए।
सक्रिय खेलाडी जीवन टुंग्याएपछि उनले प्रशिक्षक र रेफ्रीजर्जको भूमिका अगाडि बढाए। उनले सन् १९९२ देखि नै जेम्स स्कुलका खेलाडीलाई प्रशिक्षण गराउँथे। त्यही अनुभव लिएर सन् २००३, २००४ र सन् २००५ मा दक्षिण कोरियामा प्रशिक्षणमा सहभागी भए। उनले विभिन्न जिल्लामा पुगेर तेक्वान्दोको प्रशिक्षणसँगै रेफ्री सेमिनार पनि गर्थे। उनले सन् २००५ मा इटालीमा अन्तर्राष्ट्रिय रेफ्रीजर्ज कोर्स उत्तीर्ण गरे। नेपालबाट ६ जना सहभागी भएकोमा उनले मात्रै अन्तर्राष्ट्रिय रेफ्रीजर्ज कोर्स उत्तीर्ण गरेका थिए।
सन् २००८ मा बैंककमा सम्पन्न आठौं अन्तर्राष्ट्रिय पुम्से रेफ्रीजर्जको परीक्षा पनि उनले उत्तीर्ण गरे। उनी दीपराज गुरुङपछि दुवै विधामा अन्तर्राष्ट्रिय रेफ्रीजर्जको लाइसेन्स प्राप्त गर्ने दोस्रो नेपाली हुन्। कुमारले सन् २००५ देखि अहिलेसम्म दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्। उनी विश्व तेक्वान्दो महासंघको ग्योरोगीको प्रथम श्रेणी र पुम्सेको द्वितीय श्रेणीका निर्णायक हुन्।
यसकारण बिदेसिए
सन् १९९५ मा राष्ट्रिय खेलकुद परिषद्मा करारमा सहायक प्रशिक्षकमा नियुक्त भएका कुमार स्थायी हुन झन्डै आठ वर्ष लाग्यो। २०६१ सालमा वीरगन्जमा एनआईएस तालिम लिएपछि मात्रै स्थायी भए। कुमारले मैत्री डोजाङमा पनि प्रशिक्षण गराउँथे।
त्यही क्रममा सन् २००५ मा डोजाङका खेलाडी लिएर उनी हङकङको प्रतियोगितामा सहभागी भए। उनका खेलाडी पदक जितेर स्वदेश फर्किए। तर, स्वदेश फर्किएलगत्तै उनलाई राखेपबाट स्पष्टीकरण सोधियो। लगत्तै परिषद्को प्रशासन विभागले हङकङको भिसासँगै जाँदा र फर्किंदा अध्यागमन विभागले लगाएको छाप पनि बुझाउन भन्यो। उनले मागे जति सबै कागजात बुझाए। स्पष्टीकरणको पनि जवाफ दिए। तर पनि ग्रेड घटुवा गरियो।
‘आफ्नै खर्चमा हङकङ गएँ। खेलाडीले पदक पनि जितेका थिए। तर, ममाथि प्रतिशोध साँध्ने काम भयो’, कुमार भन्छन्, ‘भविष्यमा मुख्य प्रशिक्षक बन्ला भनेर रोक्न खोजियो।’ उनीमाथिको विभेद यत्तिमै मात्र सीमित भएन। जीवनराम श्रेष्ठ सदस्यसचिव हुँदा बिदामा बसेको अवस्थामै सरुवा गरियो। यसरी लगातार विभेद हुन थालेपछि कुमारले राखेपको स्थायी जागिर छाडेर बिदेसिने निर्णय गरे। ‘मैले बिदेसिनु पर्ला भनेर सोचेकै थिइनँ। आफूमा भएको क्षमता स्वदेशमै पोख्न चाहन्थें। लामो समय खेलाडीको हकहितमा लागेको ममाथि नियोजित रूपमा आक्रमण हुन थालेपछि बिदेसिनुको विकल्प भएन’, उनी भन्छन्।
यसरी जन्मियो खेलाडी संघ
कुमार कार्की राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी मात्रै थिएनन्, खेलाडीको हकहितका लागि पनि सक्रिय रूपमा क्रियाशील हुन्थे। दशरथ रंगशालामा प्रशिक्षण सकेपछि खाजा खाने क्रममा खेलाडीका हकहितका विषयमा कुरा उठ्यो। उनीलगायत अन्य खेलका साथीहरूले पनि एउटा संस्थाको आवश्यकता औंल्याए। त्यही अनुरूप खेलाडीको हकहितका लागि संस्था स्थापना गर्ने योजना बन्यो।
यो योजनालाई मूर्तरूप दिन लागिपरे कुमार कार्की र जिम्न्यास्टिकका राजेश्वरमान स्थापित। उनीहरूले यो संस्था राष्ट्रिय खेलकुद परिषद्मै दर्ता गर्ने योजना बनाएका थिए। यसका लागि ३–४ महिना धाउँदा पनि उनीहरूले दर्ता गर्न सकेनन्। परिषद्मा दर्ता गर्न नसकेपछि जिल्ला प्रशासन कार्यालयमा दर्ता प्रक्रियामा लागे। तर, महिनौं समय बितिसक्दा पनि उनीहरूले दर्ता गर्न सकेनन्।
खेलाडी संघ दर्ताका विषयमा जिल्ला प्रशासनले मागेको राय परिषद्ले नपठाउँदा दर्ता प्रक्रियामा विलम्ब भएको थियो। त्यसपछि ५०–६० जना खेलाडी जिल्ला प्रशासन पुगे। उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई भेटेर आफ्नो दुःखेसो पोखे। प्रजिअले तत्काल दर्ता गर्न निर्देशन दिए। सन् २००२ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ दर्ता भएसँगै कुमारले महासचिवको जिम्मेवारी सम्हाले। उनकै नेतृत्वमा खेलाडीले पाउने सेवा सुविधा बढाउन र खेलाडीमाथि हुँदै आएको विभेद हटाउने महत्त्वपूर्ण काम भयो। उनको यही कार्यकालमा वर्षका उत्कृष्ट खेलाडीहरूलाई समेटेर क्यालेन्डर प्रकाशन र एनएनआईपीए अवार्डको पनि सुरुवात भयो। सन् २००८ मा उनी संघबाट बाहिरिए।
अहिले पनि तेक्वान्दोमै सक्रिय
कुमार सन् २००८ को अक्टोबरमा चौथो पटक परिवारसहित अमेरिका पुगे। त्यहाँ पुगेर पनि उनी तेक्वान्दोबाट टाढा हुन सकेनन्। उनले सन् २००९ देखि ग्रान्डमास्टर एचके लिले सञ्चालन गरेको एकेडेमीमा प्रशिक्षकको जिम्मेवारी सुरु गरे। उनी २०११ मा एकेडेमीको प्रमुख प्रशिक्षक बने। उनले त्यहाँ सन् २०१४ सम्म काम गरे।
सन् २०१५ देखि बाल्टिमोरमा एभरेस्ट वल्र्ड क्लास तेक्वान्दो एकेडेमी सञ्चालन गरे। कुमारले अमेरिकासँगै नेपालमा पनि राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्दै आएका छन्। परिवार नै तेक्वान्दोमा कुमारका परिवार नै तेक्वान्दोमा सक्रिय छ। उनकी श्रीमती कल्पना पनि नेपालको राष्ट्रिय खेलाडी हुन्। उनले नेपालमा भएका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन्। यस्तै छोरी कृषा र छोरा कृषभ पनि तेक्वान्दोमै संलग्न छन्।
चौथो डान कृषाले प्रशिक्षण गराउँछिन् भने कृषभ एकेडेमीमै प्रशिक्षण गर्छन्। एकेडेमीमा कुमारसँगै कल्पना र कृषाले पनि प्रशिक्षण गराउँदै आएकी छन्। ‘सबैजना एउटै क्षेत्रको हुँदा धेरै नै सहयोग पुगेको छ। श्रीमतीसँगै छोरीले पनि सहयोग गर्दै आएकी छन्’, कुमार भन्छन्, ‘सबैको सहयोगले काम गर्न सहज भएको छ।’