सुनको महलभित्र झुपडीको याचना !
नेपाली शिल्पकला र संस्कृतिको विकास पद्धतिमा बादी ज्ञान, सीपकला र प्रविधिले महŒवपूर्ण स्थान ओगटेको छ। रैथाने बादी जातिको पुख्र्यौली आदिवासी ज्ञान परम्परामा आधारित शिल्पकला, नाच, गान र वादन संस्कृति आदिमकालदेखि नै नेपाली सांस्कृतिक विशिष्टतामा दर्ज छ। अभौतिक अवचेतन पदार्थलाई चेतनाको माध्यमबाट सिर्जनामा दुरुस्त उतार्नु बादी ज्ञानको अद्भुत कला हो। यो उनीहरूको परम्परागत ज्ञान, सीपकला–प्रविधिको आधारशिला हो।
बादीहरूको मुख्य मौलिक सीपकला प्रविधिहरूमा माटाको हुक्का, चिलिम, सुल्पा, घरायसी भाँडाकुँडा, सारंगी, मसकबाजा, मादल बनाउनु, माछा मार्ने जाल बुन्नुका अतिरिक्त गायन, वादन, नृत्यकलाका मौलिक ज्ञान, सीपकला र प्रविधि सुरक्षित छन्। बादी (माटाका भाँडाकुँडा बनाउने भएकाले भाँड भनिएको हो) जाति उपभोक्ताबादी आर्थिक–सामाजिक एवं सांस्कृतिक प्रणालीका कारण विपन्न बन्न पुगे। तर उनीहरू ज्ञान–सीपकला–प्रविधि, मौलिक सांस्कृतिक सम्पदा तथा सभ्यतामा निकै धनी छन्। अहिले उनीहरूको मौलिक शिल्पकौशल, ज्ञानसीप, प्रविधि लोपोन्मुख अवस्थामा पुगेको छ।
पुँजी, प्रविधि र पहुँचको अभावमा संकटमा परेको हो। बादी जातिको सीपकला–प्रविधिको विकास परम्परा शिल्प (मानव) सभ्यताको विकाससँग अटुट सम्बन्ध जोडिएको देखिन्छ। उनीहरूको सीपकला–प्रविधिको बारेमा प्राचीन अभिलेख एवं साहित्यहरूमा उल्लेख छ। बादी सीपकला–प्रविधिको मूल नै शिल्पकला, नाच, गान र वादन हो। जसलाई उनीहरूले आफ्नो कला, सिर्जनामार्फत प्रस्फुष्टन गरेका हुन्छन्। नेपालका १४२ मध्ये बादी एक लोपोन्मुख जाति हो। २०६८ सालको जनगणनानुसार बादी जातिको जनसंख्या ३८ हजार ६ सय ३ छ। २०७८ को जनगणनानुसार बादीको जनसंख्या ११ हजार ४ सय ७० मा सीमित भएको छ। यद्यपि वास्तविक आँकडा नआएकाले अझै धेरै जनसंख्या हुने आंकलन भने गरिएको छ। बादीको सबैभन्दा बढी जनसंख्या लुम्बिनी, कर्नाली र सुदूरपश्चिम प्रदेशमा छ।
खस साम्राज्यको विस्तार हुनुभन्दा अघि वर्तमान नेपालको प्यूठान जिल्लामा बादीकोट र डोटी जिल्लामा रहेको कुमालीकोटमा राज्य सञ्चालन गरेको इतिहास पाइन्छ। भदौ १ गते भदौरे (वल्के) संक्रान्ति, मंसिर र जेठमा पुज्ने रोटे प्रकृति, कुलपितृ पूजा÷उत्सव बादी जातिको प्रमुख मौलिक चाडपर्व हुन्। उनीहरूले आफ्नो परम्पराअनुसार भदौ १ गते भदौरे संक्रान्तिलाई प्रमुख चाडका रूपमा धूमधाम र हर्षोल्लासका साथ मनाउँछन्। यो पर्वलाई उनीहरू ‘वल्के संक्रान्ति वा भाँडे संक्रान्ति’ पनि भन्ने गर्छन्।
बादी जातिको लोकप्रिय मसक वा सारंगी प्राचीन कालदेखि नै चलिआएको सुपरिचित मौलिक तार वाद्ययन्त्र हो। यिनीहरूको परम्परागत पेसालाई कलाको दृष्टिकोणले महŒवपूर्ण मानिए तापनि आधुनिकीकरणको सिकार भएका छन्। रैथाने बादी जाति नेपालको पहाडी क्षेत्रमा बसोबास गर्ने एक मुख्य मूलवासी समुदाय हो। विविध कारणले बादी जातिको वैभवपूर्ण, गौरवशाली अस्तित्व, इतिहास र पहिचान गुमनाम छ। उनीहरू धेरैजसो सुकुम्बासी र भूमिहीन छन्। तर आफ्नो मौलिक परम्परागत संस्कृति, भाषासाहित्य, सामाजिक लोकजीवन, मुखियापरम्परा, चालचलन, रीतिरिवाज र प्रथाहरूलाई बचाउँदै आएका छन्।
सामाजिक संस्कार
बादी जातिको आफ्नै मौलिक जन्म, विवाह र मृत्युसंस्कार रहेको पाइन्छ :
जन्म : बादी जातिको जन्म संस्कार अत्यन्तै मौलिक र विशिष्ट छ। बालबालिका जन्मँदा बादी समुदायको मुखिया वा नाइकेले नाम राखिदिने चलन छ। सुत्केरी चोखिने दिन विशेष मंगल गीत गाउँदै वाद्यवादन बजाउँदै नाच, गान गर्ने चलन छ। बादी समुदायका बालबालिका जन्मँदा ६ दिनमा छैटी नाच नाच्ने परम्परा छ। यसबेला आपसमा खुसीयाली साटासाट र बालबालिकाको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर केही उपहार, कोशेलीपात एवं उपहार दिने चलन छ। आफन्तले सुत्केरीलाई मीठो, मसिनो खुवाउने गरिन्छ। सुत्केरी शरीर बाँधिने, चिसो नलागोस् भनेर स्थानीय कुखुराको मासुको झोल र तीनपाने रक्सी मेथीमा झानेर खुवाइन्छ।
विवाह : बादी समुदायको विवाह संस्कारका लागि उमेर पुगेका केटाकेटीको बीचमा मन परापर भएमा मगनीको काम अगाडि बढाइन्छ। यसलाई शाही मासु दिने भनिन्छ। दहीको ठेकीमा रोवा लगाएर सागको मुठा बाधिन्छ। दही ठेकीसँगै २÷३ सय रुपैयाँ पैसा राखिन्छ। केटाको घरबाट केटीको घरमा खसी वा बाख्रो, जाँड, रक्सी, रोटी, फलफूल लानुपर्छ। यसलाई इष्टमित्र, नरनाता, छिमेकी सबैजना जमघट र भेला भएर पकाएर सामूहिक रूपमा खान्छन्। यसरी सामूहिक रूपमा खाने चलनलाई बादी समुदायले मगाउनी खाने भन्दछन्। केटाकेटी दुवै पक्षका बीचमा विवाह गर्ने सहमति भई टुंगो लागेपछि ६ महिनादेखि वर्ष दिनभित्रमा विवाह गर्ने टुंगो लाग्छ, पक्कीपुरी हुन्छ।
अन्त्येष्टि कर्म : मानव जन्मपछि मृत्यु स्वाभाविक प्राकृतिक चक्र हो। बादी समुदायको मृत्यु संस्कार विशिष्ट एवं मौलिक छ। बादी समुदायमा मृत्यु हुँदा तीन दिनमा काजकिरिया सम्पन्न गर्ने चलन छ। बादी समुदायको मृतकलाई नदी, खोलाकिनाराको घाट र जंगलमा लगेर दाहसंस्कार गरिन्छ। उनीहरूमा जलाउने वा गाड्ने दुवै चलन छ। पहिला महिला मलामी जाँदैनथे तर अहिले मलामी जान थालेका छन्। मरौं परेको अन्तिम दिनमा आफ्नो क्षमता र गच्चेअनुसार खसी, बोका, सुँगुर, बाख्रा, राँगो वा कुखुराको भाले काटेर सामूहिक भोजन गराउने चलन छ। बादी समुदायले आफन्तको सम्झनामा सार्वजनिक बाटोमा वरपीपल लगाउने चलन छ। यसलाई बिसाउने वा चौतारी भनिन्छ। काजकिरिया तीन दिनमै सम्पन्न भए तापनि टीकाटालो वर्ष दिनसम्म बार्छन् (स्रोत: जमुनी बादी, बाँके)। बादी समुदायले आफ्नो भाषा, साहित्य, गायन, वादन, नृत्य, संस्कृति, लोककला, वीरगाथा गायन, सांस्कृतिक वीरताको प्रदर्शन गर्छन्।
सामाजिक अवस्था
बादी जातिको जीवनशैली विगतमा स्वावलम्बी, आत्मनिभर्भर र बलियो थियो। विशुद्ध कलासंस्कृति र शिल्पकलाको धनी समुदायलाई दरबारिया राजामहाराजाहरू, भाइभारदार, सामन्त र ठालूहरूले यौनशोषण र उपयोग गरे। जबसत्ताबाट शासकहरू जब च्यूत भए, त्यसबेलादेखि केहीले देहव्यापारको रूपमा उक्त कर्मलाई जारी राखे। आर्थिक रूपमा बादी जाति नेपालमा सबैभन्दा गरिब र दयनीय अवस्थामा छ। जमिन नभएको कारण उनीहरूको प्रमुख आयस्रोतको माध्यम भनेको ज्याला मजदुरी नै हो। झन्डै ५३.९५ प्रतिशत बादीहरू कामको खोजीमा देशभित्र भौतारिन्छन् भने ८ प्रतिशत भारत गएका छन्। त्यसमध्ये ८.५ वर्षदेखि १७ वर्षका बालक छन्। वर्षभरि खाना पुग्ने बादीको संख्या जम्मा २५ प्रतिशत मात्र छ। बाँकी ७५ प्रतिशत बादी भोकमरीको चपेटामा छन्। अधिकांश भूमिहीन भएको र उनीहरूको खेतीपाती भनेको नै सीपकला बेचेर वा गाउँबस्तीमा कमाएर खानु (बालीघरे) हो।
शैक्षिक स्थितिलाई हेर्नेे हो भने अरू कथित दलित समुदायभित्र सबैभन्दा कमजोर छन्। उनीहरूको कुल संख्यामा ५ प्रतिशतले प्रवेशिका उत्तीर्ण गरेका छन् भने २ प्रतिशत बादीले मात्र प्रमाणपत्र तह पास गरेको देखिन्छ। ०.६६ प्रतिशत बादीले स्नातक तह पास गरेको देखिन्छ र स्नातकोत्तर उत्तीर्ण नगन्य छन्। जसमध्ये ३७ प्रतिशत बालबालिका विद्यालयले लिने शुल्क तिर्न नसकेर बीचैमा छोड्न बाध्य छन्।
करिब २५ प्रतिशत बादीहरूले परम्परागत उपचारशैली अपनाएको देखिन्छ।
३२ प्रतिशत बादीले खोला र इनारको पानी पिउँछन् भने ४७ प्रतिशत बादी अहिलेसम्म खुल्ला ठाउँमा दिसापिसाब गर्न बाध्य छन्। केहीमा एचआईभी एड्स देखिएको छ। राजा सुरेन्द्रविक्रम शाहको पालामा जंगबहादुर राणाबाट जारी गरिएको १९१० सालमा जारी गरिएको मुलुकी ऐनले गाइनेले पनि छुवाछूत गर्नुपर्ने भनी बादी समुदायलाई किटान गरेको छ। हिमाल–पहाडका समुदायको जातीय तहअनुसार बादी सबैभन्दा तल छ। बादी समुदाय राजनीतिक सहभागिता नगन्य देखिन्छ। अर्कोतर्फ, ‘बाध्यात्मक देह व्यापारका लागि लाइसेन्स दे या पुनस्र्थापना गर’ भनी गरिएको आन्दोलनको बलमा स्थापना भएको बादी विकास उत्थान विकास समितिलाई खारेज गरेर सरकारले बादीप्रति गैरजिम्मेवार बनेको छ। (हीरा विश्वकर्मा र गोपाल नेपाली, अध्ययन प्रतिवेदन : २०८०)।
भौतिक, अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा राज्यको उदासीनता, समुदायमा आर्थिक अभाव, जातीय भेदभाव, विश्वव्यापीकरणको प्रभाव, वैदेशिक रोजगारी, शिक्षाको कमी र चेतनाको अभावले गर्दा बादी जातिको अस्तित्व नै संकटमा छ। उनीहरूको जीवनस्तरलाई माथि उठाउने जिम्मेवारी, दायित्व र कर्तव्य सरकारको हो।
बादी जातिले नेपालको प्राचीन समयदेखि आधुनिककालको नेपाल एकीकरण, प्रजातान्त्रिक आन्दोलन र गणतन्त्र स्थापनासम्म गीतसंगीतको माध्यमबाट दिइएको योगदान विशिष्ट छ। नेपाल एकीकरणताका अंग्रेजसँगको युद्धमोर्चामा, ०४६ सालको जनआन्दोलन र ०६२÷६३ सालको गणतन्त्र प्राप्तिको आन्दोलनमा बादी जातिको देन उल्लेखनीय छन्। तर उनीहरूको निस्वार्थ राष्ट्र सेवाको मूल्यांकन अझैसम्म भएको छैन।
श्रुतिस्मृति लोकसांस्कृतिक सम्पदा
विशेषगरी विश्वमा श्रुतिस्मृति लोकवाङ्मय सम्पदालाई उच्च महत्व दिइएको हुन्छ। चार वेदमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद छन्। त्यही गन्धर्व र किराँतीसँग जोडिएको संगीतलाई सामवेद रचनामा पछि समावेश गरिएको हो। नेपालको पहिलो लिखित गोपाल वंशावलीमा दमाईं जातिको उल्लेख छ। वाल्मीकि र वेदव्यासले लेखेको रामायण र महाभारतग्रन्थको स्रोत दमाईं, बादी र गन्धर्व हुन् भन्ने कुरा प्राच्य महाकाव्यमा उल्लेख छ (अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक, २०८०)। त्यसैगरी इतिहास प्रकाशमा सन्धिपत्र संग्रह भाग–१ मा उल्लेख भएअनुसार गोपाल महिषपाल किराँत लिच्छवि अपाड मल्ल राजवंशावली (५७६ वर्ष अघि ताडपत्रमा लेखिएको इतिहास) शीर्षकको पृष्ठ २७६ मा भनिएको छ– ‘यो वंशावली भातगाउँमा लेखिएको हो। यसमा भुजिमोल लिपि छ।
प्राककालिक ऐतिहासिक अनेक अभिलेख दैनन्दिनी वंशावलीहरूका आधारमा लेखिएको देखिन्छ। त्यो बेला लेखिएका अरू पुस्तक प्राय: शुद्ध छन्। परन्तु यसको भाषा हेर्दा लेखक अप्रौढ देखिन्छ। स्थानीय घटना लेखिएका छन्। यस्ता वंशावली राजकुल काजी भारा गुरु पुरोहित ज्योतिष दमाई भाट गाइने प्रवृत्तिका पासमा हुन्छन्’ (योगी नरहरिनाथ, २०२२: २५४,२७६)। यो तथ्यबाट ज्ञानका खानी र श्रुति स्मृति परम्पराका जननी समुदायको पहिचान दिलाएको छ। यस्तो अद्भुत विशिष्ट क्षमता अनादिवासी–मूलवासी शिल्पी समुदायका झाँक्रीहरू र किराँतीहरूका मुन्धुम फलाक्ने बिजुवाहरूबाहेक अरू समुदायमा विरलै पाइन्छ।
लोकसंगीत र लोकनाच सम्पदा
बादी जाति मौलिक कलासंस्कृतिबाट विस्थापित गरिएकाले अन्य पेसा अपनाउन बाध्य भए। उनीहरूको परम्परागत संगीत पेसाबारे अझैसम्म कसैले चासो दिएको पाइँदैन। बादी जातिको संगीतकलाले संस्थागत रूप लिएको भए, स्वर, तालमा तालिम प्राप्त गरेको भए, संगीत शिक्षा हासिल गर्न पाएको भए र स्तरीयकलाको प्रदर्शन गर्न पाएको भए उनीहरूको यो दयनीय अवस्था हुने थिएन। बादी जातिको जीविकोपार्जनको साधनका लागि उनीहरूको संगीतकला नै पर्याप्त हुनुपर्ने हो। उनीहरूले गाउने मौलिक गीत, भाका, भाषा आदि गायनपक्ष, बाजा र नाच्ने नाचको बारेमा राम्ररी अध्ययन आवश्यक छ (रामशरण दर्नाल, २०६१: २९२, २९३)।
सबैभन्दा चरम गरिबी र अभावमा बाँच्न बाध्य अल्पसंख्यक मुसहर, डोम, चमार, गन्धर्व र बादीजस्ता समुदायलाई विभेदमा आधारित सामाजिक–आर्थिक र राजनीतिक प्रणाली नै गरिबीको मुख्य कारक हो। यसर्थ पुँजी, प्रविधि र पहुँचमार्फत उनीहरूका शिल्पकलाका लागि सहज कच्चापदार्थ उपलब्धता, सहज बिक्रीवितरणको व्यवस्था गर्न सकेमा सीपकला र प्रविधिको पुस्तान्तरण सम्भव छ।
बादी जातिले आफ्नो बिन मसक, सारंगी, मादल र मजुरा बाजा बजाउँदै आकर्षक रूपमा नाच्ने गर्छन्। विभिन्न मेला, जात्रापर्व, चाडवाड, शुभ अवसरहरूमा नाचको आयोजना गर्ने गरिन्छ। पुरानो मौलिक गीति भाका, लय, ताल र भावभंगीमा नाच नाच्ने गरिन्छ। बादी जाति नाच संस्कृतिमा निकै धनी रहेका छन्। बादीनाच, थालीनाच, पातरनाच र टेम्कुलीनाच आदि बादी जातिको मौलिक नाचहरू हुन्। कथननाच, झुर्मा नाच र थालीनाच कैलाली र कञ्चनपुरलगायत सुदूरपश्चिमका केही जिल्ला र कर्णाली प्रदेशमा नाचिन्छ। टेम्कुली नाच विशेषगरी राप्ती र भेरी क्षेत्रमा प्रचलित रहेको पाइन्छ (विजय चालिसे, २०६५ : १०३)। बादी शिल्पकलाबाट मल्ल राजा प्रभावित खस साम्राज्यको विघटन भएपछि डोटी प्रदेशमा नाग मल्लको अस्तित्व देखा पर्न आयो। नाग मल्लको पालामा डोटी निकै सशक्त थियो। यसैले नाग मल्ल वा नागी मल्ललाई डोटीका अनेकौं कथा र परम्पराहरूमा उल्लेख गरिएको पाइन्छ। एउटा परम्पराअनुसार नागी मल्लको पालामा भाँडहरूले राजदरबारमा माटाका हुक्का बनाउँथे।
हुक्का–चिलिम बनाउने प्रविधि
बादी जातिको ज्ञान, सीपकला वा प्रविधिको विकास मानव सभ्यताको थालनी सँगसँगै भएको मानिन्छ। यस्तो ज्ञान वा प्रविधिको विकासमा रैथाने बादी पुर्खाहरूले प्रकृतिमा लामो समयसम्म संघर्ष, भोगाइ, सिकाइ, साधनाबाट सम्भव भएको हो। यो सम्पदा संरक्षणका हिसाबले निकै गम्भीर विषय हो। उपर्युक्त वातावरण नपाएकैले सीपकला, प्रविधि थुप्रै हराइसकेका छन्। कतिपय हराउने र लोप हुने चरणमा छन्। बादी समुदायले परम्परागत र आधुनिक दुवै किसिमको औजार प्रविधिको प्रयोग गर्दै आएका छन्। बादी जातिले माटोको हुक्का–चिलिम बनाउने प्रविधि आधुनिकताले खाइदिएको आदिमकालमा विकास भएको रैथाने प्रविधिमध्ये एक हो। कैलाली बलचौर बस्ने डम्बरे बादीका अनुसार हुक्का–चिलिम बनाउने औजार वा प्रविधिको विवरण यसप्रकार छ :
१) भँडेली (भँडाली) २) बुटा काट्ने बाँक ३) दुईवटा काठका किला ४) सुल्पा भँडेलीमा राखेर तान्ने डोरी ५) सुल्पाभित्र खोल्ने पतेली ६) बुट्टा काट्ने छिपो ७) सुल्पा टल्काउने टल्कन ८) बुट्टा काट्ने आँखे छिपो ९) बुट्टा काट्ने फजेरी १०) बाँसुरी आकारको बाँसकै ठुन्के छिपो ११) कटके बुट्टे छिपो
१२) धारे छिपो आदि प्रमुख छन्।
मादल बनाउने प्रविधि
मादल बनाउन विभिन्न कच्चा पदार्थको आवश्कता पर्छ। जसमा बासा, छिना, बसुला, सफल (भित्र सफा गर्ने), किट–मादलको खरी बनाउनका लागि किट, बाबियो (बनकस), टायरको सानो टुक्रा, भात आदि चाहिन्छ। यसलाई सबै एकै ठाउँमा राखेर फराकिलो सतह मिलेको सिलौटोमा लोहोरोले पिसिन्छ। यसरी तयार भएको कच्चा पदार्थ वा वस्तुलाई मादलको दुवै तालमा राखेर मसिनो ताल मिलेको ढुंगा वा सिसीले खरी राख्ने काम गरिन्छ। खरी राख्दा हातको सन्तुलन र विशेष सावधानी अपनाउनु पर्छ। यसरी लगाएको खरी राम्रोसँग सुकेपछि मादल तयार हुन्छ। शंकर बादीले मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ आफैंले बनाउँछन्। उनका अनुसार मादल बनाउने कच्चा पदार्थको विवरण यसप्रकार रहेको छ।
तना– राँगा, भैंसी र गाई, गोरुको छाला।
घेरो– खसी, बोका, भेडाको छाला।
गोटी (खरी)–किट, बाबियो, भात र टायरको टुक्रा।
सिराली (मादलको दुबैतिर छालाको तना बटारेर राखिने)– राँगा, भैंसी र गाई÷गोरुको छाला।
छल्ला (मुन्दा)–मादल बोक्ने डोरा वा तना पनि राँगा, गोरुकै छाला प्रयोग गरिन्छ।
काठ–खमारी (राम्रो बज्ने), विजय साल।
सिलौंटो÷लोहोरो–खरी लगाउन अघि तयार गरिन्छ।
एउटा मादल बनाउन आठदेखि दस दिनसम्म लाग्छ। पहिला एउटा मादलको मूल्य ४÷५ सय रुपैयाँमा पाइन्थ्यो। अहिले ५÷७ सयदेखि २५ सय ५ हजारसम्म पर्छ।
माछा मार्ने जाल बुन्ने प्रविधि
बादी समुदायको अर्को प्रविधि वा पुख्र्यौली ज्ञान माछा मार्ने जाल बुन्नु हो। आधुनिक जाल र डोरीसहितको स्टिक आउनु अगाडि माछा मार्ने, जाल बनाउने काम बादी समुदायकै थियो। पहिला सानो फलामे सियोले नाइलनको जाल बुनिन्थ्यो। यसरी बुन्दा घरको थाम वा छुट्टै खाँबो गाडेर जाल बुन्ने तान लगाइन्छ। अहिले प्लास्टिकको जाल बन्न थालेको छ। जाल बनाउने सबै कच्चा पदार्थ बजारमा पाइन्छ। जाल करिब ५ फिटसम्म अग्लो हुन्छ। यसको पूरा तौल पाँच किलोग्रामसम्म हुन्छ।
कच्चा पदार्थको सहजतामा समस्या
शंकर बादी भन्छन्– अहिले निकुञ्जले काठ काट्न दिँदैन। पहिला केही रोकतोक थिएन। सहजरूपमा काठ काटेर ल्याई मादल बनाउँथ्यौं। मैले ८÷१० वर्ष भयो मादल बनाउन छोडेको। पुरानो मात्र मर्मत गर्दछु। काठ काट्न सहज भएमा नयाँ बनाउँथे र अरू छरछिमेक, छोरा, भतिजलाई पनि सिकाउँथे। मादल बनाउन काठ प्राप्त गर्न असज भएपछि मादल बनाउन मन म¥यो। रत्न बादीको अनुभव पनि उस्तै छ। उनी भन्छन्– निकुञ्जले मादल बनाउने काठ काट्नमा रोक लगाएकाले नयाँ बनाउन छोडेको हो। उता डम्बर बादीलाई भने आफूले निकै दु:ख र मेहनत गरेर बनाएको सुल्पा र हुक्का चिलिम बनाएर बिक्री नहुँदा दुखी भएको सुनाउँछन्। उनी भन्छन्– एउटा सुल्पा र हुक्का चिलिमको मुस्किलले पचास, सय रुपैयाँमा बिक्री हुन्छ। कच्चापदार्थ प्राप्तिमा भएको अवरोधले आर्थिक, सामाजिक, सांस्कृतिक र अभौतिक सम्पदा संरक्षणमा गम्भीर असर पारेको छ। यसले बादी समुदायको सीपकला, प्रविधि र आदिवासी ज्ञानको पुस्तान्तरणमा धक्का लागेको छ।
निष्कर्ष
बादी जातिसँग विशिष्ट एवं मौलिक सीपकला, प्रविधिहरू अझै केही स्थानमा जीवित छन्। उनीहरूको अस्तित्व, इतिहास र पहिचान गुमनाम छ। शिल्पकला, संस्कृति, सम्पदा र सभ्यता अर्थात् मानव सभ्यता विकास चरणकै मूलाधार भए तापनि चरम गरिबी, अभाव, बेरोजगारी र विपन्नतामा बाँच्न विवश छन्। यदि बादी जातिलाई उनीहरूको शिल्पकला, ज्ञानसीप र प्रविधिका आधारमा उचित वातावरण पाएमा एकाएक सम्पन्नतामा उक्लिन धेरै समय लाग्दैन।
शिल्पकला, ज्ञानसीप वा प्रविधिको पुस्तान्तरण नहुनुमा कच्चापदार्थको सहज उपलब्धता नहुनु, जातीय अपमान, घृणा, अपमान र विभेद नै प्रमुख समस्याको रूपमा रहेको छ। बादी जातिको पुख्र्यौली आदिवासी ज्ञानपरम्परामा आधारित शिल्पकला जल, जमिन र जंगलसँग प्रत्यक्षरूपा जोडिएका छन्। तसर्थ प्रकृतिबाट प्राप्त गरिने कच्चापदार्थ प्राप्तिमा अवरोध नै पुस्तान्तरणको मुख्य चुनौती देखिएको छ। अर्को कुरा नेपाली समाजमा श्रमप्रतिको घृणा, बेवास्ता र अपमानले मनोवैज्ञानिक रूपमा शिल्पकलाका धनी जातिलाई असर पारेको छ। नेपालको गरिबी, विपन्नता र बेरोजगारीलाई आर्थिक अंकले मापन गर्ने नभई सामाजिक विभेदको ब्यारोमिटरबाट नापिनु वैज्ञानिक हुन्छ।
सबैभन्दा चरम गरिबी र अभावमा बाँच्न बाध्य अल्पसंख्यक मुसहर, डोम, चमार, गन्धर्व र बादीजस्ता समुदायलाई विभेदमा आधारित सामाजिक–आर्थिक र राजनीतिक प्रणाली नै गरिबीको मुख्य कारक हो। यसर्थ पुँजी, प्रविधि र पहुँचमार्फत उनीहरूका शिल्पकलाका लागि सहज कच्चापदार्थ उपलब्धता, उत्पादन–उद्यमशीलता र हस्तकला बैंकमार्फत सहज बिक्रीवितरणको व्यवस्था गर्न सकेमा सीपकला र प्रविधिको पुस्तान्तरण सम्भव छ। यसका लागि राज्यले विशेष नीतिगत सुधार, ठोस कानुनी व्यवस्था र यथेष्ट बजेटसहितको कार्यक्रम ल्याउन सक्नुपर्छ।
यसबाहेक बादीलगायत समुदायको मौलिक सीपकला, प्रविधिको सहज पुस्तान्तरणका लागि भरपर्दो अर्को कुनै बाटो छैन। भौतिक, अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा राज्यको उदासीनता, समुदायमा आर्थिक अभाव, जातीय भेदभाव, विश्वव्यापीकरणको प्रभाव, वैदेशिक रोजगारी, शिक्षाको कमी र चेतनाको अभावले गर्दा बादी जातिको अस्तित्व नै संकटमा छ। उनीहरूको जीवनस्तरलाई माथि उठाउने जिम्मेवारी, दायित्व र कर्तव्य सरकारको हो।