देश फर्किरहेको देश
मक्किएको घरको खाँबोजस्तै
ओखती बन्न नसकेपछि
पुगेको हुँ, विमानस्थल।
आमाका टारी खेतजस्तै हत्केलामा
उम्रिएको अभावको ठेलाहरू,
अर्धाङगनीको निधारमा कोरिएका
दुःखका किरिङमिरिङ रेखाहरू,
च्यात्तिएका किताबका गाताजस्तै
चुँडिन खोजेको सन्तानको भविष्य,
पहिरो लुकाएर उभिएको छाप्रो,
भोक रिसाएर उदासिएको चुलो,
यी सबै पासपोर्टभित्र पोको पारेर
माथि आकाशमा हेर्दै चिलगाडी
उडेको हुँ, देश बोकेर–परदेश।
आफन्तीका आँसुको साइतसँगै
शिरमा सिउरिएर चन्द्रसूर्य,
छातीमा लुकाउँदै सम्झनाको घैलो,
र, निमोठेर आफ्नै सपनाहरू,
हिँडेको हुँ, सपना फुलाउन–परदेश।
पाइताला उभिएको देशको चौघेरो नाँघी
परदेश आएपछि–
यो तातो बालुवामा
होचिँदै गएको आफ्नै उचाइ देखेर
बेतमास बजिरहेछ मनभित्र विरही गीत।
यो बिरानो भूगोलमा त–
आमाको मायाजस्तो घाम बिर्सिएर
फुलाउनु पर्ने रहेछ छातीमा आगोको पूmल,
बाको छायाजस्तो शीतलता सम्झिएर
पोख्नु पर्ने रहेछ शरीर निचोरेर पसिना,
रहरहरू यसै पग्लिजाने रै’छ मरुभूमिमा।
देखिएका सपनाहरू
सबै कहाँ साँचो हुँदो हो र, परदेशी !
घर÷आफन्ती सम्झिएर– पलपल मर्नुभन्दा
देश सम्झिएर– एक मुठी सास बाँच्नुभन्दा
हीरा छाडेर– हीरा खोज्दै भौतारिनुभन्दा
छाडेर सपनाको अस्तिपञ्जर यै मरुभूमिमा
प्रिय, परदेशीहरू–
फर्कौं अब, काठको बाकसभन्दा अघि...!
अहिले त देश पनि
देशजस्तै बन्न थालेको छ–
सम्भावनाको लामो राजमार्गमा
आह्वानको जलघडा बोकेर
जोस–जाँगर, श्रम–सीप भरिएका
युवा पाखुरीलाई
स्वागत गर्न तम्तयार उभिएको छ– देश।
आखिर, स्वर्ग भन्नु त आफ्नै माटो हो नि !
ओ, जन्मभूमि !
फुलाएर मनभरि उत्साहको पूmल
काँधमा देश बोकेर हिँडेका पाइतालाहरू
सिमलको भुवाजस्तै हलुँगो भएर
फर्कंदैछन् देश
त्यतिखेर देखाइदिनु सगरमाथाको पर्दामा
विमानस्थलबाट घर फर्किरहेका युवाको
लामो लस्कर र, लेखिदिनु माटोको पन्नामा
एउटा हेडलाइन– ‘देश फर्किरहेको – देश’ !
स्याङ्जामा पुष्प–चन्द्र ट्रस्टद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८१ मा प्रथम हुन सफल कविता।