सवारी प्रेम–साहित्य

सवारी प्रेम–साहित्य

वियोगान्त प्रेमका पात्रहरूलाई एउटा कुराको कहिल्यै हेक्का रहेन कि पीडित प्रेमी वा उनकी प्रेमिका नरहँदैमा संसार समाप्त हुँदैन।

मानिसको जीवनलाई अनेक तत्त्वले प्रभाव पारिराखेका हुन्छन्। र, ती प्रभाव कति त सकारात्मक हुन्छन् भने कतिपय नकारात्मक। विशेषतः संवेदनशील मान्छे स–साना विषयबाट पनि तत्कालै प्रभावित भइहाल्छन्। खास गरेर पढिएका विषयवस्तु, त्यसमा पनि हृदयस्पर्शी छ भने त्यसलाई मान्छेले सम्झिरहेका हुन्छन्, हत्तपत्त बिर्सिंदैनन्। यस सन्दर्भमा साहित्यिक दृष्टिकोणले भनिएका÷लेखिएका शब्द/पंक्ति झन् सबैभन्दा स्मरणीय हुन्छ।

साहित्यको कुनै सीमा छैन। कतिपय वाचन गरिन्छ, कतिपय लेखिन्छ। लेखिने सन्दर्भ आउँदा, किताबका पृष्ठहरूमा लेखिने त आफ्नो ठाउँमा छँदै छ, त्यसका अलावा महानाणीका रूपमा बोर्ड/भित्ता–पर्खाल, पोस्टरमा पनि लेखिने प्रचलन छ। तर, यहाँ त्यसभन्दा पनि अलिक फरक रूपमा लेखिने प्रसंग जोड्न खोजिएको छ। प्रसंग हो, सवारीसाधनमा लेखिएका साहित्यको।

यात्रा गर्दा निजी सवारीसाधनको प्रयोग आजकल धेरै नै बढेको छ। यति हुँदाहुँदै पनि कतिपय मानिसहरू शारीरिक तन्दुरुस्तीका भनेर पैदल नै हिँडिरहेका भेटिन्छन्। तर, खास गरेर आजको सहरिया व्यस्त जीवनमा अपवादका रूपमा मात्रै त्यस्ता मान्छे भेटिन्छन्, अधिकांशतः निजी सवारीसाधन नभएकाहरूले ‘पब्लिक’मा यात्रा गर्ने गर्छन्। विशेष गरेर अलिक लामो यात्रा गर्नु छ भने बस–मिनीबसबाट र छोटो दूरीका लागि तीनपांग्रे सवारीसाधनको प्रयोग गर्ने गरिन्छ।

प्रायः छोटो दूरीका तीनपांग्रे– टेम्पुबाट यात्रा गर्नेहरू सबैलाई थाहा भएकै हुनुपर्छ, सवारीसाधनमा चढेर सिटमा बस्नेबित्तिकै तिनका आँखाले त्यहाँभित्र लेखिएका शब्दहरू पढ्न पुगिहाल्छन्। पढ्ने मात्र होइन, ती शब्दहरूको मर्मले भित्रैसम्म छुन पुग्छ। 
कति गहिरा हुन्छन् ती !
‘टुक्रेको सिसालाई जोड्न सकिन्न !
झरेको आँसु (लाई) रोक्न सकिन्न !’

वियोगको तस्बिर देखाउने यी पंक्ति कुनै सशक्त कविका कविताभन्दा कमका छैनन्। प्रश्न उठ्न सक्छ– सवारीचालकहरूले कुन मनसाय वा उद्देश्यले यस्ता कवितात्मक हरफहरू आफ्ना सवारीसाधनमा अंकित गरेका होलान् ? साँच्चै, यति गहिराइमा पुगेका पंक्तिलाई किन छानेर आफ्ना सवारीसाधनमा लेखेर राखेका होलान् उनीहरूले ? 

के, पढ्दाखेरि यत्तिकै राम्रो लागेकोले लेखिदिएका होलान् कि आफ्नै भोगाइलाई व्यक्त गरेका होलान् ? कदाचित् भोगाइका त्यो अभिव्यक्ति हो भने एउटा प्रश्न भने उब्जिहाल्छ– सवारीसाधनका चालकहरू नै किन त्यति भावुक बनेका होलान् ? यद्यपि, यो पक्का हो कि प्रत्येक मान्छेभित्र कवित्व हुन्छ। र, त्यो कवित्व कसैकोमा मृत वा बेहोशप्रायः हुन्छ भने कसैकोमा जागृत हुन्छ। यस आधारमा, ती सवारीसाधनमा लेखिएका शब्दहरूप्रति अलिक ध्यान दिएर हेर्ने हो भने यत्तिचाहिँ ठोकुवा गर्न सकिन्छ– सवारीचालकहरू सामान्यतः अन्य मानिसभन्दा बढी कवि–हृदयका हुन्छन्। धेरै लामो महाकाव्य लेखिरहनै परेन, एउटा सवारीसाधनमा लेखिएका यी दुई पंक्तिमा समाजको असमानतालाई कति मजाले यसरी व्यक्त गरिएको छ–

‘कवि भए कलम, कलम भए कविता
धनी मरे श्रद्धाञ्जलि, गरिब मरे रमिता।’

वास्तवमा समाजलाई कविले जति कसले उजागर गर्न सकेको छ र ! कविले जे देख्छ र लेख्छ; त्यो सत्य लेख्छ। आर्थिक रूपले सम्पन्नहरू र विपन्न वर्गबीचको जीवन–चरित्रमा आकाश–जमिनको अन्तर छ, यो समाजको वास्तविक चित्र हो। यी दुई वर्ग बाँच्दा त फरक किसिमको जीवनशैली हुन्छ नै, मर्दा पनि फरक किसिमको मृत्यु भएको भान हुन्छ। धनी मान्छे मरिसकेपछि समाजका कथित उच्च नागरिकले बडो सानदार ढंगले श्रद्धाञ्जलि व्यक्त गर्छन् भने गरिब मरेको कतै खोजखबर हुँदैन, कुनै कुनाकाप्चामा एउटा बेसहारा जनावरको जस्तो मृत्यु भोगेका हुन्छन् तिनले।

यसै पनि, सवारीसाधनमा अंकित गहन अभिव्यक्तिलाई त्यसमा यात्रा गर्नेहरूले बुझ्न कत्ति पनि कठिन छैन। अझ, स्वयं सवारीचालकले आफ्नो सवारीसाधनमा आफ्नै जीवन–लीलालाई प्रस्तुत गरे झैँ खास गरेर प्रायः गरिबीको तस्बिरलाई प्रष्ट्याएर लेखिदिएका पाइन्छन्। किन, थाहा छैन सवारीचालकहरू आफूलाई किन त्यतिसारो गरिब मान्छन् कुन्नि !

एउटा सवारीचालक आफ्नो सवारीसाधनमा लेखेका छन्–
‘सुन्दर रहेछ तिम्रो मुहार
म दुःखीले चिन्न सकिनँ
अमूल्य रहेछ तिम्रो माया
म गरिबले किन्न सकिनँ।’

यो सत्य हो, माया–प्रेममाथि धनसम्पत्तिको रजगज आजको कटु यथार्थ हो। पैसा नभए सही माया–प्रेम पनि हुँदैन, आज पैसा भए त्यसले नै सबै थोक किन्न पाइन्छ। अर्थात्, गरिब भए मायासमेत गर्न पाइन्न, प्रेमसमेत गर्न पाइन्न। शायद यही धारणाको आधारमा गरिबीको परिचय दिइएको हुनुपर्छ।

कुनै सवारीसाधनमा त निराशाका उच्चतम बिन्दु छोएका शब्दहरू लेखिएका भेटिन्छन्। यहाँ एउटा प्रश्न भने बलियोसँग खडा हुन्छ– के, सवारी चालकहरू अधिकांशतः प्रेममा धोका खाएकै हुन्छन् त ? त्यो पनि आफू गरिब भएका कारणले ! सवारीसाधनमा प्रायः प्रेममा धोका खाएका प्रेमीको नै बढीभन्दा बढी भावनाहरू देखिन्छन्। उछासहरू भेटिन्छन्। मानौं, प्रेममा धोका खाएपछि अब दुनियाँमा केही बाँकी छैन, सबै समाप्त भयो। शायद त्यसैले, धोका खाएकाहरूले केवल आफ्ना प्रेमिकालाई सम्बोधन गरिरहेका हुन्छन्– चाहे प्रेमिकाले सुनून् या नसुनून् ! शब्द–शब्दमा आफ्ना गुनासाहरू, अनुरोधहरू, अपेक्षाहरू व्यक्त गरिरहेका हुन्छन्। यस्तो लाग्छ, तिनका जीवन सुधार्न अथवा तिनलाई जीवनबाट मुक्ति दिलाउन प्रेमिका 
नै ईश्वर बनेर आउनुपर्छ।

‘बाली दियालो मेरो च्यान (चिहान) सजाउनू म पनि हेर्नेछु बाटो, मेरो मसानमा आउनू तिमीले अब मुटु मेरो कात्रोले ढाकिदिनू म पनि हेर्नेछु बाटो मेरो मसानमा आउनू’

वास्तवमा, वियोगान्त प्रेमका पात्रहरूलाई एउटा कुराको कहिल्यै हेक्का रहेन कि पीडित प्रेमी वा उनकी प्रेमिका नरहँदैमा संसार समाप्त हुँदैन। संसारमा कति प्रेमी आए होलान्, प्रेमिका आए होलान्, कतिले विश्वासघात गरे होलान्, कतिले आत्महत्या गरे होलान् ! तिनको लेखाजोखा राखेर चलायमान दुनियाँलाई कसले आफ्नो मुठ्ठीमा राखिरहन सक्छ र !कसैको अनुपस्थितिमा पृथ्वी घुम्न रोकिँदैन, संसार उसरी नै प्राकृत रूपले चलिरहन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.