अटोमोबाइल्सबारे सरकारलाई बुझाउन सके अर्थतन्त्र चलायमान गराउन सक्छौं

अटोमोबाइल्सबारे सरकारलाई बुझाउन सके अर्थतन्त्र चलायमान गराउन सक्छौं
करणकुमार चौधरी, अध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल । तस्बिर :सुनिता डंगोल।

प्रस्तुति : ममता थापा

दुई दशकभन्दा बढीको निरन्तरतालाई कायम राख्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले राजधानीको भृकुटीमण्डपमा आउँदो भदौ ११ गतेदेखि १६ गते (अगस्ट २७ देखि सेप्टेम्बर १)सम्म नाडा अटो शो–२०२४ गर्ने भएको छ। यसैक्रममा समग्र अटोमोबाइल्स व्यवसायको अवस्था र प्रदर्शनीबाट उपभोक्ताले लिने लाभ तथा व्यवसाय प्रबद्र्धनबारे अध्यक्ष करणकुमार चौधरीसँग गरिएको कुराकानी : 

समग्र अर्थतन्त्र शिथिल भइरहँदा अटोमोबाइल्स व्यवसाय कस्तो चलिरहेको छ ? 

सबैभन्दा ठूलो मारमा अटोमोबाइल्स व्यवसाय परेको छ। किनभने सरकारले नै यो क्षेत्रलाई अनुत्पादक भनेर वर्गीकृत गर्ने र यो क्षेत्रका लागि कसैले केही नबोलिदिने भएकाले अटोमोबाइल्स व्यवसाय सबैभन्दा मारमा परेको हो। सरकारले अग्रसर भएर यो क्षेत्रलाई सहयोगको भावना लिएको छैन। हामी निरन्तर सरकारलाई बुझाउनतिर लागिरहेका छौं। वास्तवमा हाम्रो इच्छा के हो भनेर सरकारलाई बुझाउन सकियो भने ठूलो रूपमा नेपालको अर्थतन्त्रलाई हामीले चलायमान गराउन सक्छौं भन्ने आशा छ।

त्यसो भए अहिले ठ्याक्कै तपाईंहरूले कस्तो समस्या भोग्नुभयो ?

अहिले अटो मोबाइलस क्षेत्रप्रतिको अविश्वास छ। नीतिगत रूपमा होस् वा अस्थिर सरकारको कारणले गर्दा हामीलाई ठूलो मार परेको छ। 

विगतका प्रदर्शनीमा सरकारले चिनेन त ?

त्यो बेला सरकारले चिनेको भएर यो क्षेत्रमा लचकपन थियो। तर, यो पटक सरकारको लचकपन नदखिएकाले पनि बढी ध्यानाकर्षण गर्न खोजेका हौं। 

अहिले त झन् बैंकहरूले ब्याजदर पनि घटाइरहेकका छन्। हायर पर्चेज कर्जामाकत्तिको आकर्षण छ ?

बैंकको ब्याज घटिरहेको छ भन्नु खाइरहेको चिया झन् मिठो हुँदै गएको जस्तो हो। चिया खानका लागि चिया अगाडि आइपुग्नु प¥यो। ब्याजदर घट्नु एउटा आधार दर हो तर सबैभन्दा मुख्य आधार भनेकै डाउन पेमेन्ट हो। कुनै व्यवसायबाट उपभोग गर्नका लागि डाउन पेमेन्ट सौहार्दपूर्ण हुनुपर्छ। आज २५–३० प्रतिशतको डाउन पेमेन्ट भएको भए सुनमा सुगन्ध हुन्थ्यो। यसर्थ हामी लोन टु भ्यालु रेसीयोमा लोन बढाएर डाउन पेमेन्टको भ्यालु घटाउन सकियो भने एकदम राम्रो हुन्थ्यो। नेपाल राष्ट्र बैंकलााई पनि चालु आवको मौद्रिक नीति आउनुअघि ७ बँुदे माग राखेका थियौं। तर, कुनै पनि सम्बोधन गरिएन। अझै पनि गर्लान् भन्ने आशा छ। 

आयात हेर्दा पेट्रोलियम पदार्थको हिस्सा बढी छ। खपत पनि सोही अनुपातमा भएको अनुमान गर्न सकिन्छ। गाडी स्टकमा बढी छ कि बिक्री भइरहेको छ ? बजारमा माग कस्तो छ ?

पेट्रोलियम पदार्थको खपतलाई अटोमोबाइल्स क्षेत्रको उतारचढावसँग लिंक गर्दा गाह्रो हुन्छ। किनभने पहिल्यै थुप्रै गाडीहरू बाटोमा छन्। पेट्रोलियम पदार्थको खपत प्रत्यक्ष इन्डस्ट्रिजहरूसँग सीमित छ। कतिको व्यवसाय चलायमान छ र कतिको ढुवानी भइरहेको छ भनेर लिंक गर्न सकिन्छ। अटो मोबाइल्स क्षेत्रको आयात एकदमै गिरावटमा छ। यस क्षेत्रमा धेरै राम्रो भनेको विद्युतीय सवारी (ईभी) मात्रै हो। त्यो बाहेक अरू सबै क्षेत्र घटेका छन्। समग्रमा हेर्दा लगभग ६० प्रतिशत मटोमोबाइल्स क्षेत्रको कारोबार खुम्चिएको छ। हेभी इक्विपमेन्ट, ढुवानीका सवारी ९० प्रतिशत घटेको छ तर ईभीको भने बढेको छ। यस्तै, ४ पांग्रे अटोमोबाइल्स ६०–७० प्रतिशतले खुम्चिएको छ। 

देशकै ठूलो अटो शो मानिएको ‘नाडा अटो शो २०८१’ नजिकिँदै छ, तयारी कस्तो छ ?

यस वर्ष नाडा अटो शो पहिलेभन्दा भव्य र प्रभावशाली हुने अपेक्षा गरिएको छ। यसले अटोमोबाइल क्षेत्रका नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन हुनेछ। जसले अर्थतन्त्रलाई महत्वपूर्ण रूपमा वृद्धि गर्न मञ्च तयार पार्नेछ। प्रदर्शनीलाई चारपांग्रे, दुईपांग्रे, हल्का व्यावसायिक सवारीसाधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ। यसले सबै आगन्तुकहरूका लागि एक सुविधाजनक र प्रभावकारी अनुभव सुनिश्चित गर्छ। आगन्तुकहरूको सुविधाका लागि, टिकटहरू अब खल्ती एपमार्फत अग्रिम रूपमा खरिद गर्न सकिन्छ। अग्रिम टिकट खरिदकर्ताहरूले अगस्ट २६ सम्मको टिकट खरिदमा २० प्रतिशत क्यासब्याक लाभ उठाउन सक्ने छन्, जसले यो रोमाञ्चक कार्यक्रममा सहभागी हुन अझै सजिलो बनाउँछ।

अटो शो आयोजना गर्नुको उद्देश्य के हो ? 

विगतमा अटो शो आयोजना गर्दैगर्दा बढीभन्दा बढी ग्राहक तथा उपभोक्तालाई कसरी रिझाउने भन्नेमा केन्द्रित हुन्थ्यो। यो पटक भने मुख्य केन्द्र नै सरकारलाई अटोमोवाइल्स क्षेत्र मुलुकका लागि जरुरी हो भनेर बुझाउन लागेका हौं। यस प्रदर्शनीले मात्र आर्थिक गतिविधिलाई बढावा दिने छैन। बरु राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने अटोमोबाइल व्यवसाय समुदायको मनोबललाई पनि उचाल्ने विश्वास गरेका छौं। चुनौतीपूर्ण वातावरणको बाबजुद, प्रदर्शनीले कम्पनीहरूको तर्फबाट उत्साहजनक सहभागिता प्राप्त गरेको छ। आगन्तुकहरूले नयाँ ब्रान्डहरू र नवीन प्रविधिहरूको व्यापक पहुँच पाउनेछन्। साथै वित्तीय विकल्पहरू र व्यावसायिक अवसरहरूको पनि लाभ उठाउन सक्नेछन्। शोले आगन्तुकहरूलाई सवारीसाधन खरिद निर्णय लिनका लागि आवश्यक जानकारी प्रदान गर्ने छ। 

यसपटकको अटो शोका मुख्य विशेषता÷मुख्य आकर्षण के–के हुन् ? शोमा ईभीको बर्चश्व कस्तो हुने छ ?

यो प्रदर्शनीमा संसारमा बढीभन्दा बढी बिक्ने गाडी, आधुनिक गाडी र एकदम लक्जरीयस गाडीहरूको प्रदर्शनी हुनेछ। शोमा विद्युतीय सवारी (ईभी) हरू थुप्रै देख्न पाइन्छ। विभिन्न हाइब्रिड ईभी पनि हुनेछन्। विभिन्न प्रयोजनमा टेस्टिङ भइरहेका हाइड्रोजन इलेक्ट्रिकल भेहिकल पनि हुने छन्। यससँगै पेट्रोल, डिजिटल र कमर्सियल सबै हुनेछन्। २ पांग्रे र ३ पांग्रेलाई पनि शोमा अवसर दिइएको छ। यस्तै, लुब्रिकेन्ट्स, हेलमेट, टायर, ब्याट्रीलगायत प्रदर्शनीमा समावेश हुने छन्। नेपालमै भएका उद्योगहरूका उत्पादन प्रदर्शन गर्ने भएकाले उपभोक्तालाई सबै चिजको उपभोग गर्ने मौका जुर्ने छ। 

नाडा अटो शोमा हिरो जुम स्कुटरले बहुप्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ भने खल्ती टिकटिङ पार्टनरका रूपमा रहनेछ, जसले सहज टिकट खरिद अनुभव प्रदान गर्नेछ। वल्र्डलिंक आधिकारिक इन्टरनेट पार्टनर हुनेछ, जसले सम्पूर्ण कार्यक्रमको दौरान अबिच्छिन्न कनेक्टिभिटी सुनिश्चित गर्ने छ।

यससँगै, चाडपर्वको मौसम नजिकिँदै गर्दा, नाडा अटो शो २०२४ ले अटोमोबाइल प्रेमीहरूका लागि नयाँ मोडेलहरू, प्रविधिहरू र प्रवृत्तिहरू अन्वेषण गर्ने अनुपम अवसर प्रदान गर्ने छ। आगन्तुकहरूले नयाँ ब्रान्डहरू र नवीन प्रविधिहरूको व्यापक पहुँच पाउनेछन्, साथै वित्तीय विकल्पहरू र व्यावसायिक अवसरहरूको पनि लाभ उठाउन सक्ने छन्। शोले आगन्तुकहरूलाई सवारीसाधन खरिद निर्णय लिनका लागि आवश्यक जानकारी प्रदान गर्ने छ। हरेक वर्ष बित्दै जाँदा, आगन्तुक र प्रदर्शकहरूको बढ्दो संख्या अटोमोबाइलहरूको दैनिक जीवनमा महत्वपूर्ण भूमिका खेल्न थालेको संकेत गर्छ, जुन पहिले विलासिता मात्र थियो।

शोमा कति र कस्ता स्टल हुनेछन्, यसमा कति उपभोक्ताले भिजिट गर्लान् र कति बराबर कारोबार हुने अनुमान गर्नुभएको छ ? हेभि इक्विपमेन्ट पनि राखिन्छ ?

यस वर्षको प्रदर्शनीमा २४ चारपांग्रे ब्रान्डहरू, १९ दुईपांग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारीसाधन ब्रान्डहरू प्रदर्शन गरिनेछन्। साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन्, र ७ वित्तीय संस्थाहरूले विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन्। कुल मिलाएर, शोमा ९५ प्रदर्शकहरू सहभागी हुने छन्, जसले १३० स्टलहरूमा आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्नेछन्। तर यहाँ ठाउँको अभावले गर्दा हेभी इक्विपमेन्ट भने हुने छैनन््। टाटा ईभीद्वारा प्रस्तुत नाडा अटो शो २०२४ले ६ दिनको अवधिमा करिब ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। 

यसअघि पटक–पटक शोका लागि भृकुटी– मण्डपको प्रदर्शनीस्थल सानो भयो भन्ने गुनासो थियो नि ? यसको विकल्प किन भएन त ?

हामीले विकल्प खोजेका थियौं। भक्तपुरतिर वा ललितपुरको गोदावरीतिर पनि सोचेका थियौं तर सबैतिर पायक पर्ने केन्द्रबिन्दु नै भृकुटीमण्डप देखिएकाले यही उपयुक्त ठानियो। त्यहाँँ पार्किङ अभाव, प्रदर्शनमा साँघुरो भन्ने थाहा हुँदाहुँदै पनि ग्राहकको चाहनाअनुसार हामीले सोही स्थान रोज्न बाध्य भएका हौं। 

विगतमा गरिएका अटो शोबाट व्यवसायीहरूलाई कसरी राहत मिलेको थियो र यसपटक कस्तो मिल्ला ?

पोहोर सालको अटो शो कोभिडपछिको पहिलो थियो। त्यसले एउटा व्यवसायलाई चलायमान बहाउने र पहिलाको जस्तो स्थितिमा फर्काउने सोचेको थियो। तर यो पटक पहिला जस्तो स्थितिमा फर्काउनेभन्दा पनि अझै अटो क्षेत्रका लागि प्राथमिकता दिन खोजेका छौं।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.