खेल मैदान कि खेत मैदान ?, ‘लाइफलाइन’मै धक्का

खेल मैदान कि खेत मैदान ?, ‘लाइफलाइन’मै धक्का

काठमाडौं : दशरथ रंगशालालाई नेपाली खेलकुदको ‘लाइफलाइन’ भन्दा पनि फरक पर्दैन। किनभने दशरथ रंगशाला जति चलायमान हुन्छ, नेपाली खेलकुद पनि उत्तिकै गतिशील हुन्छ। अर्थात् नेपाली खेलकुद दशरथ रंगशालामा केन्द्रित मात्रै होइन, आ िश्रत पनि छ। तर, विडम्बना राज्यले चासो नदिँदा नेपाली खेलकुदको जिउँदो इतिहास बोक्ने दशरथ रंगशाला खण्डहरमा परिणत मात्रै भइरहेको छैन। जबरजस्ती खेलकुदका गतिविधि आयोजना गर्दा देशको शिर पनि निहुराउने काम भइरहेको छ।

नेपाली खेलकुदको मेरुदण्ड मानिने यो रंगशाला खेलकुद गतिविधि र खेलाडीको सफलताले मात्रै होइन, यसका संरचनाका कारण पनि बेलाबेला चर्चामा आइरहन्छ। यस्तै चर्चा मंगलबार पनि भयो। मंगलबार दशरथ रंगशालामा एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोटअन्तर्गत नेपालको ‘ए’ डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबीच प्रतिस्पर्धा भएको थियो। घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल हेर्न पाउँदा दर्शकहरूमा पनि ठूलो उत्साह थियो। एसियाली फुटबल महासंघ (एएफसी) ले गत चैतमा खोसेको दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता एक वर्षका लागि फिर्ता भएको थियो। त्यसैले राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी मात्रै होइन, फुटबलप्रेमी दर्शक पनि निकै खुसी देखिन्थे।

खेल हुनु केही समयअघि त्रिपुरेश्वर आसपासमा मुसलधारे पानी पर्‍यो। जसले दशरथ रंगशालाको मैदान जलमग्न भयो। खेल हुने निर्धारित समयमा पानी त रोकियो। तर, निकास राम्रो नहुँदा मैदान भने जलमग्न नै रह्यो। जसले गर्दा खेल सुरु हुनासाथ खेलाडीहरू पछारिन थाले। खेलाडीहरू बल खोसाखोस गर्दा पटक पटक पछारिएका थिए। उनीहरूको जिउभरी हिलैहिलो भएको थियो। अवस्था यतिसम्म थियो कि दर्शकलाई कुन टोलीको खेलाडी हो भनेर ठम्याउनै हम्मेहम्मे परेको थियो।

पहिले पुरानो प्रविधिअनुरूप निर्माण गरिएको थियो। १३औं दक्षिण एसियाली खेलकुदका क्रममा पुनर्निर्माण गर्दा पनि अन्तर्राष्ट्रिय प्रविधिमैत्री बनाउने काम भएन। पानी परेलगत्तै खेल भयो। खेल भइराखेका बेला भने पानी परेन। जसले गर्दा मैदान हिलाम्मे बन्न पुग्यो। मैदानको स्तरोन्नति गर्न एन्फा अध्यक्षलाई बजेटसँगै लाग्ने समय पनि पेस गर्न भनिसकेको छु। टंकलाल घिसिङ, सदयसचिव, राष्ट्रिय खेलकुद परिषद् 

मैदान हिलाम्मे हुँदा खेलाडीहरूले आफ्नो स्वाभाविक खेल कौशल देखाउन सकेनन्। जसले गर्दा नेपालको ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज पारोसँग २–१ गोलले पराजित भयो। सिनियरस्तरको फुटबल प्रतियोगितामा नेपालले भुटानसँग कहिल्यै हारेको थिएन। भुटानले उमेर समूहमा मात्रै नेपालाई पराजित गर्दै आएको छ। दुई वर्षअघि बहराइनमा आयोजना भएको एएफसी यू–२० एसियन कप छनोटमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो। सन् २०१७ र २०१९ मा भएको साफ यू–१८ च्याम्पियनसिपमा पनि नेपाल भुटानसँग पराजित भएको थियो। २०१७ मा भुटानमै भएको प्रतियोगितामा नेपाल भुटानसँग १–० गोलले पराजित भएको थियो भने २०१९ मा काठमाडौंमै भएको प्रतियोगितामा नेपाल भुटानसँग ३–० गोलले पराजित भएको थियो।

सिनियर स्तरको प्रतियोगितामा नेपाल भुटानसँग कहिल्यै पराजित भएको थिएन। त्यसैले चर्च ब्वाइजको हारपछि खेलाडीको प्रदर्शन, टोलीको तयारी तथा यसको आगामी प्रभावका बारेमा विश्लेषण र चर्चा हुनुपर्ने हो। तर, चर्चामा बटुल्यो, हिलाम्य मैदानले। अन्तर्राष्ट्रिय मान्यता पाएको दशरथ रंगशालाको मैदानको दुर्गतिले खेलकुदका पदाधिकारीलाई मात्रै होइन, समग्र देशलाई नै गिज्याइरहेको थियो। खेल भइरहँदा मैदानमा पानी पर्न सक्छ। खेलाडीहरूले भिजेरै खेल खेल्छन्। तर, दशरथ रंगशालाको मैदानको जस्तो हविगत अन्यत्रको मैदानको हुँदैन। तन्तर्राष्ट्रिय स्तरको मान्यता पाएको मैदानमा पानी तर्किने, सोस्ने र बहने प्रणालीको विकास गरिएको हुन्छ। जसले गर्दा खेल भइरहँदा पनि पानीको निकास भइरहेको हुन्छ। दशरथ रंगशालाको मैदानको अवस्था भने यीभन्दा फरक छ। वषौंअघि निर्माण भएको मैदानमा आधारभूत संरचनाकै अभाव प्रस्ट देखिन्थ्यो। यो कुरामा मैदानको मर्मतसम्भार गर्दै आएका थमन भुसाल पनि सहमत छन्। ‘सन् १९९७ मा ड्रेनेज सिष्टम बनेको हो। त्यसपछि अहिलेसम्म पनि निकासको मर्मतसम्भार हुन सकेको छैन’, गत अप्रिलदेखि मैदानको काम गर्दै आएका उनी भन्छन्, ‘हामीले विगत पाँच महिनादेखि दुबो लगाउने र अन्य स्तरोन्नतिको काम गर्दै आएका छौं।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै निर्माण गरिए पनि मौसमले धोका दिँदा हिलाम्मे भएको बताए। ‘पहिले पुरानो प्रविधिअनुरूप निर्माण गरिएको थियो। १३औं दक्षिण एसियाली खेलकुदका क्रममा पुनर्निर्माण गर्दा पनि अन्तर्राष्ट्रिय प्रविधिमैत्री बनाउने काम भएन’, सदस्यसचिव घिसिङले भने, ‘पानी परेलगत्तै खेल भयो। खेल भइराखेका बेला भने पानी परेन। जसले गर्दा मैदान हिलाम्मे बन्न पुग्यो।’ उनले मैदानको स्तरोन्नति गर्न एन्फा अध्यक्षलाई बजेट र समय पेस गर्नका लागि निर्देशन दिइसकेको बताए।

खेलाडी र प्रशिक्षकको आलोचना

दशरथ रंगशालाका विषयमा भुटानी क्लब पारो एफसीका खेलाडी र प्रशिक्षकले नै आलोचना गरेका थिए। जापानी स्टार केइसुके होन्डाले दशरथ रंगशालाको मैदान आफूले खेलेकामध्ये अहिलेसम्मकै खराब भएको बताएका थिए। पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले पनि दशरथ रंगशालाको मैदानप्रति असन्तुष्टि जनाउँदै यस्तो खराब मैदान अहिलेसम्म कहीँ नदेखेको बताएका थिए। ‘मैले यति खराब मैदान अहिलेसम्म कहीँ पनि देखेकै थिइनँ’, उनले प्रिम्याच कन्फरेन्समा भनेका थिए। त्यसपछि मैदानका विषयलाई लिएर संसारभर चर्चा भएको थियो।

मैदानको माटोको गुणस्तर कमजोर रहेको र पानीको निकास पनि गतिलो नभएको भन्दै एएफसी र फिफाले समेत प्रश्न उठाइरहे पनि स्तरोन्नतिमा बेवास्ता गरिँदै आएको थियो। स्तरोन्नतिका नाममा पटक–पटक जथाभावी माटो राख्ने कामले पनि गुणस्तर कमजोर भएको आरोप लाग्दै आएको छ। भुसाल भने माटोको बेसमा बनेका (नेचुरल) मैदानमा वर्षाको समयमा समस्या आउने बताउँछन्। ‘माटो बेसमा बनेका मैदानमा पानी पर्दा समस्या आउने गरेको छ। त्यही कारण विदेशी रंगशालाका मैदान बालुवा (स्यान्ड) बेसमा बनेका हुन्छन्। हामीले स्तरोन्नतिको जिम्मा लिएपछि स्यान्ड बेस बनाउने काम थालेका छौं’, भुसाल भन्छन्, ‘माटो बेसको मैदानमा वर्षातको समयमा समस्या आउँछ नै।’ पछिल्लो पाँच महिनाको अवधिमा मैदानको लेभलिङ, दुबो रोप्ने, जंगली झार निकाल्ने, रोलिङ, टपबेसलगायतका काम गरिएको भुसालले बताए।

एक वर्षका लागि अन्तर्राष्ट्रिय मान्यता

एन्फाले दुई÷तीन महिनाअघि नै मैदान मर्मतसम्भार गरेर यसअघि प्रतियोगिता आयोजना गर्दै आएको थियो। राखेपले मैदान लिएपछि एन्फाले मैदान मर्मतसम्भार गर्न नै पाएन। आगामी दिनमा रंगशालाको स्वामित्व एन्फामै फर्काउने अभियानमा लागेका छौं। रंगशालामा फुटबलबाहेक अन्य खेल गर्न दिनु हुँदैन। यो मैदान फुटबलका लागि मात्रै हो। यसअघि पनि रग्बीका कारण मैदानको अवस्था बिग्रिएको थियो। त्यसैले अब फुटबल बाहेक अरू खेललाई रंगशाला दिनुहुँदैन।, दीपक खतिवडा, उपाध्यक्ष, अखिल नेपाल फुटबल संघ

दशरथ रंगशालाले गत साता मात्रै अन्तर्राष्ट्रिय रंगशालाको मान्यता पाएको हो। एसियाली फुटबल महासंघ (एएफसी) ले रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजनाका लागि अनुमति दिएपछि अन्तर्राष्ट्रिय मान्यता पाएको हो। एएफसीले दशरथ रंगशाला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि योग्य रहेको रिपोर्ट एन्फालाई दिएको थियो। एएफसीका प्रतिनिधिले गत साउन ९ गते दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको प्रतिवेदन दिएको थियो। यसअघि दशरथ रंगशालाको मैदान, फ्डलाइट र रंगशालाको समग्र सुरक्षाको प्रश्न उठाउँदै एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अयोग्य रहेको जनाएको थियो। त्यसपछि गत चैतदेखि राष्ट्रिय खेलकुद परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण थालेको थियो। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको प्रतिवेदन एएफसीले दिएपछि गत चैत ८ गते घरेलु मैदानमा आयोजना हुनुपर्ने विश्वकप फुटबलअन्तर्गत एसियाली छनोटको दोस्रो चरणको नेपाल र बहराइनबीचको खेल बहराइनमै भएको थियो भने जेठ २४ गते संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेल साउदी अरेबियामा भएको थियो।

रग्बीलाई दोष

विश्वकप फुटबलअन्तर्गत एसियाली छनोटको दोस्रो चरणको नेपाल र बहराइनबीचको खेल दशरथ रंगशालामा हुनुपर्ने थियो। घरेलु मैदानमा खेल गराउन एन्फाले तयारी पनि थालेको थियो। त्यही क्रममा एएफसीका प्रतिनिधिले दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरेका थिए। मैदान, फ्डलाइट र रंगशालाको समग्र सुरक्षामा प्रश्न उठाउँदै एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अयोग्य रहेको रिपोर्ट दिएपछि एन्फा र राखेपबीच विवाद बढेको थियो। राखेपले एन्फाको बेवास्ताका कारण रंगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउन नसकेको आरोप लगाएको थियो। एन्फाले भने फुटबलबाहेकका अन्य खेलसँगै विभिन्न कार्यक्रमलाई रंगशाला दिँदा समस्या आएको जिकिर गरेको थियो। रग्बीका कारण मैदान बिग्रिएको आरोप एन्फाले लगाएको थियो। त्यसपछि लामो समयदेखि एन्फाले संरक्षण गर्दै आएको मैदानको संरक्षण र मर्मतसम्भारको जिम्मा परिषद् आफैले लिएको थियो।

एन्फाका उपाध्यक्ष दीपक खतिवडा भने दशरथ रंगशालाको स्वामित्व एन्फामै फर्काउन लागिपरेको बताउँछन्। ‘दुई÷तीन महिनाअघि नै मैदान मर्मतसम्भार गरेर एन्फाले यसअघि प्रतियोगिता आयोजना गर्दै आएको थियो। राखेपले मैदान लिएपछि एन्फाले मैदान मर्मतसम्भार गर्न नै पाएन’, उनले भने, आगामी दिनमा रंगशालाको स्वामित्व एन्फामै फर्काउने अभियानमा छौं।’ उनले फुटबलको विकासका लागि एन्फा लागेको बताउँदै सरकारी निकायबाट नै अप्ठ्यारो अवस्था सिर्जना गर्नु दुखद् भएको बताए। उनले दशरथ रंगशालाको मैदानमा फुटबलबाहेक अन्य खेल गर्न दिन नहुने बताए। ‘रंगशालामा फुटबलबाहेक अन्य खेल गर्न दिनुहुँदैन। यो मैदान फुटबलका लागि मात्रै हो’, उनले भने, यसअघि पनि रग्बीका कारण मैदानको अवस्था बिग्रिएको थियो। त्यसैले अब फुटबल बाहेक अरु खेललाई रंगशाला दिनुहुँदैन।’

हाम्रा कारणले मैदान बिग्रिएको होइन। संसारभर फुटबल र रग्बी एउटै मैदानमा खेलिन्छ। अन्यत्र कतै पनि यो समस्या आउँदैन। हाम्रोमा मात्रै रग्बीले बिगार्‍यो भन्ने आरोप लाग्छ। यो सरासर निराधार आरोप हो। हामी पनि रंगशाला स्तरोन्नति र मर्मतम्भारमा हातेमालो गन तयार छौं। गोविन्द घिमिरे, महासचिव, नेपाल रग्बी संघ

बिहीबार काठमाडौं सोल्टी होटलमा उपाध्यक्ष खतिवडाले दशरथ रंगशालाको स्वामित्व फिर्ता लिने कुरा पत्रकारहरूसँग गरिरहँदा त्रिपुरेश्वरस्थित राखेप मुख्यालयमा राखेप सदस्यसचिव टंकलाल घिसिङ र एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङबीच मैदान स्तरोन्नतिका विषयमा छलफल भएको थियो। मैदान स्तरोन्नतिका लागि लाग्ने समय, बजेटलगायतका विषयमा दुई पक्षबीच प्रारम्भिक छलफल भएको राखेपले जनाएको छ। छलफलमा सदस्यसचिव घिसिङ र अध्यक्ष नेम्बाङले मैदानको स्तरोन्नति गर्न लाग्ने समय, सीमा, बजेटलगायतका विषयमा चासो व्यक्त गर्दै दुवै पक्षले गम्भीर भएर पहल गर्नुपर्नेमा जोड दिए पनि स्वामित्वका विषयमा भने छलफल नै गरेनन्।

नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे संसारभर फुटबल र रग्बी एउटै मैदानमा खेलिने बताउँदै रग्बीका कारण दशरथ रंगशालाको मैदान नबिग्रिएको जिकिर गरे। ‘हाम्रा कारणले मैदान बिग्रिएको होइन। संसारभर फुटबल र रग्बी एउटै मैदानमा खेलिन्छ। अन्यत्र कतै पनि यो समस्या आउँदैन। हाम्रोमा मात्रै रग्बीले बिगार्‍यो भन्ने आरोप लाग्छ’, उनले भने, ‘रंगशला स्तरोन्नति र मर्मतम्भारमा हामी पनि हातेमालो गन तयार छौं।’

एन्फा र रग्बीबीच द्वन्द्व निम्तिने खतरा

आगामी अक्टोबर ३ देखि ५ तारिखसम्म काठमाडौंमा एसिया रग्बी सेभेन्स ट्रफी आयोजना हुँदै छ। उक्त प्रतियोगिताका लागि नेपाल रग्बी संघले दशरथ रंगशाला बुकिङ गरिसकेको जनाएको छ। महिला र पुरुषको प्रतिस्पर्धा हुने प्रतियोगितामा १९ राष्ट्रका २६ वटा टोलीको सहभागिता रहने छ। यस्तै अक्टोबर १७ देखि ३० सम्मद दशरथ रंगशालामै महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगितामा घरेलु टोली नेपालसहित, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र भुटानको सहभागिता रहने छ।

एन्फा उपाध्यक्ष दीपक खतिवडाले दशरथ रंगशालामा अबदेखि रग्बीको प्रतियोगिता आयोजना गर्न नदिने बताए। ‘चिनियाँ राष्ट्रिय दिवसका अवसरमा दशरथ रंगशालमा मैत्रीपूर्ण खेल भएको थियो। त्यो खेलअघि रग्बीको प्रतियोगिता भएको थियो। त्यतिबेला मैदानको हालत अत्यन्त खराब थियो। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सबैले गुनासो पनि गर्नुभएको थियो’, उनले भने, दशरथ रंगशाला फुटबल खेल्नका लागि बनाइएको हो। त्यसैले महिला साफ अघि यो रंगशालामा रग्बी खेल आयोजना हुन दिँदैनौं। नेपाल रग्बी संघका महासचिव घिमिरेले एसिया रग्बी सेभेन्स ट्रफी दशरथ रंगशालामै आयोजना बताए। ‘दशरथ रंगशलामा यू–१८, यू–२० का प्रतियोगिता गरेका कारण यो प्रतियोगिताको अवसर पाएका हौं। अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रंगशालामा भएका कारण हामीलाई एसिया रग्बीले विश्वास गरेको हो’, उनले भने, ‘प्रतियोगिता दशरथ रंगशालामै हुन्छ। प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने छ।’

यू–२० साफ च्याम्पियनसिप सातदोबाटो सर्‍यो

आइतबारदेखि सुरु हुन लागेको यू–२० साफ च्याम्पियनसिप सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सकेको छ। एन्फाले प्रतियोगिता रंगशालामा गर्ने तयारी गरे पनि मैदानको अवस्थाका कारण सातदोबाटो सरेको हो। शुक्रबार म्याच कमिस्नर अब्दुल हामिद अब्दुल गफरले दशरथ रंगशालाको निरीक्षण गरेका थिए। निरीक्षणपछि रंगशालाको मैदानमा खेल खेलाउन योग्य नभएको प्रतिवेदन बुझाएको जनाइएको छ। 

सन् १९९७ मा ड्रेनेज सिष्टम बनेको हो। त्यसपछि अहिलेसम्म पनि निकासको मर्मतसम्भार हुन सकेको छैन। माटो बेसमा बनेका मैदानमा पानी पर्दा समस्या आउने गरेको छ। त्यही कारण विदेशी रंगशालाका मैदान बालुवा (स्यान्ड) बेसमा बनेका हुन्छन्। हामीले स्तरोन्नतिको जिम्मा लिएपछि स्यान्ड बेस बनाउने काम थालेका छौं। माटो बेसको मैदानमा वर्षातको समयमा समस्या आउँछ नै। थमन भुसाल, प्राविधिक, स्पोर्ट्स फ्लोर एक्सपर्ट

राखेप सदस्यसचिव टंकलाल घिसिङले परिषद् र एन्फासँ भएको जनशक्तिलाई परिचालन गरेर सेमिफाइनलदेखिका खेल रंगशालामा सञ्चालन गर्न लागिपरेको बताए। ‘अहिलेको मौजदा प्रविधि, मौजुदा जनशक्तिलाई उपयोग गरेर स्तरोन्नतीको काम पनि गर्ने र दीर्घकालीन रूपमा स्तरोन्नतीको कामलाई पनि सँगसँगै अगाडि बढाउन काम अगाडि थालिएको छ’, सदस्यसचिव घिसिङले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.