खोटाङमा झाडापखालाले चार वर्षीय बालकको मृत्यु
खोटाङ : झाडापखालाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको छ ।
तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आज साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पताल प्रमुख डा रुपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याएकाले मृत्यु भएको बताए।
आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकले समयमै उपचार गराउन नसक्दा बालकको मृत्यु भएको र दाहसंस्कार लागि शव घर लैजान पनि चन्दा सङ्कलन गरिएको पत्रकार हरिबोल आचार्यले बताए। स्थानीयस्तरमा बनीबुतो गरेर परिवार धान्दै आएका युवराज र अनु दम्पत्तीका दुई छोरी र एक छोरा थिए । दुई छोरीमध्ये कान्छी अरुणा र आमासमेत झाडापखालाकै बिरामी रहेका आचार्यले जनाएका छन् ।