नेपाल प्रिमियर लिग मंसिर १५ गतेदेखि, पारस भन्छन्- घरेलु क्रिकेटमा नयाँ युगको सुरुवात हुनेछ
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित बिशेष समारोहबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेका हुन्।
क्यानले आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग आयोजना गर्ने जानकारीसमेत दिएको छ। कार्यक्रममा खेलकुद मन्त्री चौधरीले क्रिकेटले नेपाललाई विश्वमाझ चिनाएको भन्दै क्रिकेटको विकासमा सदैव सहयोग गर्न तयार रहेको बताए।
त्यस्तै क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगको आयोजनासँगै घरेलु क्रिकेटको नयाँ युगको सुरुवात हुने र क्रिकेटको व्यवसायिकतामा नयाँ आयाम थप्ने बताए। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सबैको साथ र सहयोगमा लिगलाई सफल बनाउने जिकिर गरे।