परराष्ट्रमन्त्रीको भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता

‘नेपाल–भारत घनिष्ठ सभ्यताको सम्बन्ध’

‘नेपाल–भारत घनिष्ठ सभ्यताको सम्बन्ध’
भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार साँझ नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताका क्रममा। तस्बिर : डा. राणाको फेसबुक

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन्।  भेटवार्तामा नेपाल भारतका सम्बन्धका विविध पक्षबारे छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।  

भेटबारे परराष्ट्रमन्त्री डा. राणाले भनेकी छन्, ‘दिल्लीमा भारतका प्रधानमन्त्री शिष्टाचार भेट भयो।  हामीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताबारे छलफल गर्‍यौँ।  मलाई आशा छ, यो भ्रमण र हाम्रा उच्चस्तरीय भेटघाटले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेछ। ’

भारतीय प्रधानमन्त्री मोदीले परराष्ट्रमन्त्री देउवालाई स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको सामाजिक सञ्जाल एक्समा लेखेका छन्।  मोदीले भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी रहेको पनि बताएका छन्।  उनले दुई मुलुकको विकास साझेदारीमा निरन्तर गतिका लागि तत्पर रहेको उल्लेख गरेका छन्। 

भेटमा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा समकक्षी मोदीलाई नेपाल भ्रमणका लागि पठाइएको निमन्त्रणापत्र प्रदान गरेकी छन्।  उनीहरूबीच करिब आधाघण्टा छलफल भएको थियो।  भेटवार्तामा भारततर्फ विदेशमन्त्री डा. एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्री, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत अधिकारी सहभागी थिए। 

नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगाना, कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा, काउन्सुलर दुर्पदा सापकोटालगायत थिए। 

यसैबीच, सोमबारै डा. राणाले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरिन्।  हैदराबाद हाउसमा भएको भेटमा ऊर्जा, व्यापारलगायत द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ।  भेटवार्तापछि सामाजिक सञ्जाल एक्समा लेख्दै भारतीय विदेश मन्त्री डा. जयशंकरले राणाको पहिलो औपचारिक विदेश भ्रमणमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्।  

उनले लेखेका छन्, ‘ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकासलगायत बहुआयामिक सहयोगबारे छलफल भयो।  नेपालले भारतमा करिब एक हजार मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुसी लागेको छ, यो एउटा नयाँ कोशेढुंगा हो। ’

परराष्ट्रमन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा गएकी हुन्।  डा. राणाको मन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हो। नेपाली दूतावासले भेटवार्तामा व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधारलगायत नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा भएको जनाएको छ। null

भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमणमा पनि हवाई रुट, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालगायतको विषयमा छलफल भएको थियो।  नेपाल र भारतबीच एउटा मात्रै हवाई रुट छ।  पञ्चेश्वर आयोजना लामो समयदेखि अघि बढ्न सकेको छैन।  गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका समयमा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने सहमति गरेको थियो।  त्यसको कार्यान्वयन विषयमा छलफल भएको छ।  

दुवै विदेशमन्त्रीहरू हालका नेपाल भारतका नियमित द्विपक्षीय संयन्त्रलगायत विभिन्न तहमा संलग्नतालाई निरन्तरता दिन सहमत भएका छन्।  डा. जयशंकरले परराष्ट्र मन्त्री राणाको सम्मानमा दिवाभोज आयोजना गरेका थिए।  

यो भ्रमण दुई मित्रवत् छिमेकीहरूबीचको उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको निरन्तरता भएको दूतावासले जनाएको छ।  भदौ २ गते गएकी डा. राणा ६ गते नेपाल फिर्ता हुनेछिन्।  

भारतीय विदेश मन्त्रालय उत्तरी महाशाखाले भ्रमणबारे विज्ञप्ति निकाल्दै दुई समकक्षीको भेटमा विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरूबारे पनि छलफल भएको जनाएको छ।  

‘गहिरो ऐतिहासिक, सभ्यतागत, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको भारत र नेपाल घनिष्ठ र हितैषी छिमेकीहरू हुन्’, विज्ञप्तिमा भनिएको छ, ‘हालैका वर्षहरूमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूले गति हासिल गरेको छ जुन विशेषगरी पूर्वाधार, अन्तरदेशीय रेलमार्ग, सडक र पुलसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटीलगायत कनेक्टिभिटीका क्षेत्र जस्तैं भौतिक, डिजिटल साथसाथै जनता–जनताबीचको सम्बन्धमा प्रकट भएको छ। ’ 

नेपालले अब करिब एक हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरूको सिर्जना गर्नेबारे चर्चा गर्दै दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिका बारे कुरा गरेका थिए।  यस सम्बन्धमा दुवै परराष्ट्रमन्त्रीले दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको कार्यान्वयनका कारण ऊर्जा सहकार्यको क्षेत्रमा उपलब्ध अभूतपूर्व अवसरहरू उपर छलफल गरे।  

नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रूपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेसनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराह्रना गरियो।  

विज्ञप्तिमा प्रधानमन्त्री मोदीसँगको भेटमा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे छलफल भएको उल्लेख छ।  ‘छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो’, विज्ञप्तिमा भनिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.