रहरले लागेको खेलमा नसोचेको सफलता

रहरले लागेको खेलमा नसोचेको सफलता
सुन्नुहोस्

काठमाडौं : कञ्चनपुरको महेन्द्रनगरका सुमित विष्टले ६ कक्षा पढ्दादेखि तेक्वान्दो सिक्न थालेका हुन्। उनी पाँच कक्षा सकेपछि थप अध्ययनका लागि भारतको नैनीताल पुगे। त्यहाँको पार्वती प्रेमाजगाती सरस्वती बिहारमा भर्ना भएका उनले रहरले तेक्वान्दो खेल्न थाले। परिवारले पढाइमा मात्रै नलागी केही खेल खेल्न भनेपछि उनले तेक्वान्दो रोजेका थिए। 

सुरुमा रहरले खेल्न थाले पनि तेक्वान्दोमा उनको लगाव बढ्दै गयो। उनले त्यहाँका विद्यालयस्तरीय प्रतियोगितामा पनि प्रतिस्पर्धा गरे। सात कक्षामा पढ्दै गर्दा तेलंगनामा आयोजना भएको अल इन्डिया स्कुल च्याम्पियनसिपमा सहभागिता जनाए। उनी स्कुलको टिमबाट प्रतियोगिताका लागि छनोट भएका थिए। उनले त्यस प्रतियोगितामा पदक त जित्न सकेनन्। तर, ‘एक्सपोजर’ भने राम्रैसँग पाए। यस्तै अल इन्डिया इन्टर स्पोर्ट्स अथोरिटीको संयोजनमा कोरियन कल्चर सेन्टरले आयोजना गरेको प्रतियोगितामा उनले रजत पदक जिते। उनले उक्त प्रतियोगितामा ४१ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। 

भारतमा पढाइ सकेपछि नेपाल आएका उनले २०७८ बाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थाले। यही वर्ष आयोजना भएको मेयर कप तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जिते। २०७८ मै सुदूरपश्चिमस्तरीय छनोट प्रतियोगितामा पहिलो हुँदै १७औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाएका थिए। ५४ केजीमा प्रतिस्पर्धा गरेका उनले स्वर्ण पदक जितेका थिए। त्यसलगत्तै उनी एसियाली खेलकुदका लागि भएको छनोट प्रतियोगितामा पनि सहभागी भएका थिए। 

यस्तै, २०७८ मै प्रथम मुख्यमन्त्री सुदूरपश्चिम तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका उनले पावर गेम्स तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण पदक नै चुमेका थिए। त्यसपछि गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले स्वर्ण पदक जिते। त्यतिबेला उनले नेपाल पुलिस क्लबबाट सहभागिता जनाएका थिए।

राष्ट्रिय प्रतियोगितामा आफूलाई अब्बल सावित गरेका सुमितले अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा सन् २०२३ मा जी–टु तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पहिलो पटक सहभागिता जनाए। यस्तै सन् २०२२ मा पाकिस्तानको इलाहावादमा भएको चौथो कमब्याक्स एसियन तेक्वान्दो च्याम्पियनसिप र अजरबैजानमा भएको वल्र्ड च्याम्पियनसिपमा पनि सहभागिता जनाए। पाँचौं कमब्याक्स एसियन तेक्वान्दो च्याम्पियनसिपमा क्वार्टरफाइनलबाट बाहिरिएका सुमितले नेपालमै आयोजना भएको ११औं कोरियन एमबेस्डर तेक्वान्दो च्याम्पियनसिपमा भने स्वर्ण पदक जिते। 

सुमित सुरुमा रहरले तेक्वान्दोमा लागे पनि अब यसबाट टाढा हुन नसक्ने बताउँछन्। ‘पहिले परिवारले कुनै खेल खेल भनेपछि तेक्वान्दो खेल्न थालें। त्यतिबेला रहरै रहरले खेलेको थिएँ। अहिले भने तेक्वान्दो जीवनसँग जोडिएको छ। अब यसबाट टाढा हुन सकिँदैन’, उनी भन्छन्।   


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.