अस्पतालमा पालो पर्खाइ
उखानै छ, आज मर्यो भोलि ओखती ! अर्थात् बिरामी भएकै बेलामा ओखतीमूलो हुँदैन भने त्यसको कुनै अर्थ हुँदै। जीवनै पनि सकिन्छ। आखिर उपचार र ओखतीमूलो भनेको जीवन रक्षाका लागि नै हो। तर उपचार बेलामा नपाउने समस्या नेपालका प्रमुख अस्पतालहरूमै छ। भर्खरै सरकारले बहिरंग सेवा २४सै घन्टा चलाउने भनेको छ। तर, सबैतिर कार्यान्वयन भएको छैन।
अनि शल्यक्रिया गर्नुपर्यो भने त पालो नकुरी सुखै छैन। राजधानीको वीर अस्पतालमा अब पालो कुर्नु पर्दैन भनिएको हो। तर, भुक्तभोगी बिरामीको अनुभव बेग्लै छ। शिक्षण अस्पताल वा कान्ति अस्पतालमा पनि पालो कुर्नै पर्छ। त्यो पनि एक दुई दिन वा महिना होइन २ वर्ष नै। २÷२ वर्ष एउटा बिरामीले शल्यक्रियाका लागि पालो पर्खनुपर्छ भने त्यो के उपचार भयो ? अप्रेसन भनेको सामान्य बिरामीको हुँदैन।
औषधि खाएरमात्रै नभएपछि नै अप्रेसन गर्नुपर्छ। अनि त्यही अप्रेसनै बेलामा हुँदैन। २ वर्ष ढिला हुन्छ भने के त्यो बिरामीको सही उपचार भएको मान्न सकिन्छ। नाक, कान, घाँटीको मात्रै नभई मिर्गाैलाको पनि पालो कुर्नुपर्छ। एकातिर मिर्गाैलाको आफ्नै समस्या भएका बिरामीको पत्थरीको अप्रेसनका लागि पनि पालो कुर्नुपर्ने उदेकलाग्दो व्यवस्था लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा छ। अझ यो अस्पतालमा त सोम र बिहीबार मात्रै गरी सातामा दुई दिनमात्रै अप्रेसन गरिन्छ। यस्तो किनभने जनशक्ति अभाव छ। उपकरण अभाव छ। अरू भौतिक पूर्वाधारको पनि अभाव छ। देशको अरू सहरका सरकारी अस्पतालमा पनि सातामा दुई दिनमात्रै अप्रेसन हुन्छ। अरू दिन हुँदैन। पालोपालो विभिन्न बिरामीको गरी साताको दुई दिन छुट््याएर किसिमकिसिमका बिरामीका लागि अप्रेसन थिएटर उपलब्ध हुन्छ।
संविधानले मुलुकलाई समाजवादउन्मुख भन्छ। तर हालत अर्कै छ। समाजवादमा त स्वास्थ्यका लागि जनताले यति बिघ्न दुःख खेप्नु नपर्ने हो। अझै स्वास्थ्यका सबै सुविधा र सेवा सरकारले निःशुल्क नै दिनुपर्ने हो। यहाँ त बिमा गरेका बिरामीले पनि औषधोपचार पाउँदैनन््, पैसा तिरेर सेवा लिन्छु भन्दा पनि सरकारी अस्पतालमा सास्ती छ। पालोको कुरा त हुँदै भयो। यस्ता तमाम समस्याको निदानका लागि सरकारले स्वास्थ्यमा सबैभन्दा पहिला त बजेट नै अझै वृद्धि गर्नुपर्छ। उत्पादित दक्ष जनशक्तिको विदेश पलायन रोक्नुपर्छ। यहीं आकर्षक सुविधा दिएर राख्न सक्नुपर्छ। सबै सरकारी अस्पताललाई पूर्वाधार, उपकरण र जनशक्तिले भरिपूर्ण बनाएर पालो कुर्नुपर्ने समस्याको निदान हुनसक्छ।