देशैभर भदौरे झरी, जताततै सडक अवरुद्ध
काठमाडौं : देशभर मंगलबारदेखि परेको अविरल वर्षाका कारण विभिन्न जिल्लाका जनजिवन अस्तव्यस्त बनेको छ। गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालका अनुसार विपद्मा परी एक जनाको मृत्युसमेत भएको छ। रामेछापमा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको हो। म्याग्दी, पाल्पा, चितवनमा गएको पहिरोमा परी ५ जना घाइते भएका छन्।
यस्तै अविरल वर्षाबाट कालीकोटमा २ जना घाइते भएका छन्। विशेष गरी चितवन, म्याग्दी, स्याङ्जा, तनहुँ, डडेलधुरा, बर्दिया, पाल्पा, तेह्रथुम, कास्की, कालीकोट र कैलालीमा अत्यधिक वर्षा भएको छ। पछिल्लो २४ घण्टामा अविरल वर्षाका कारण देशभर ६४ लाख बढीको क्षति भएको छ। वर्षाले ४७ वटा परिवार विस्तापित भएका छन् भने १० घरमा पूर्णक्षति भएको छ। ५८ वटा विपद्का घटना घटेका छन्।
अविरल वर्षाका कारण काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ। बुधबार बिहान साढे १० बजे खसेको पहिरोको कारण त्यहाँको सवारी व्यवस्थापन चुनौतीपूर्ण रहेको थियो। उक्त क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ।
काठमाडौं आउनका लागि नागढुंगा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई काठमाडौं पठाउन सुरु भएको छ। सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने जनाइएको छ। वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो। जसका कारण काठमाडौं–नौबिसे सडक खण्ड प्रभावित भएको थियो। यस्तै सडक अवरुद्ध देशैभर रहिरह्यो।
प्रहरी प्रधान कार्यालय नक्सालले दिएको जानकारी अनुसार अविरल पानीले गर्दा देशभरका १५ जिल्लामा विभिन्न सडकहरू अवरुद्ध भएका छन्। बाढी पहिरोको कारण भक्तपुरको साखुबाट भक्तपुर जाने सडक पूर्णतया अवरुद्ध भएको छ। संखुवासभाको उत्तर दक्षिण कोसी राजमार्ग, दोलखाको चरिकोट सडकखण्ड, प्युठानको स्याउलीबास सडकखण्ड, डोल्पाको भेरी करिडोर पूर्णतया अबरुद्ध छ।
नेपाल प्रहरीका प्रबक्ता दानबहादुर कार्कीका अनुसार मनसुन सुरु भए यता विपद्मा परेर देशभर १ सय ९४ जनाको मृत्यु भएको छ। २ सय ४६ जना घाइते र ४९ जना बेपत्ता भएका छन्। प्राकृतिक विपद् सुरु भएयता चट्याङले लागेर मृत्यु हुने व्यक्तिको संख्या २६ जना र ७१ घाइते छन्। प्राकृतिक विपद्का २४ सय ४८ घटनामा परेर १२ सय २० घर विस्तापित भएका छन्। बाढिमा परेर १३ सय ९७ घर डुवानमा परेका छन्।
यस्तै २२ करोड ४५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। यसबाट ४८ सय ८९ परिवार विस्तापित भएका छन्। विपदका कारण ५ विद्यालय र २ सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भएका छन्।
प्रहरी प्रबक्ता कार्की भन्छन्, ‘देशभर बाढी, पहिरो र डुवानका घटना बढिरहेका छन्। सर्तक हुनका लागी सवैमा अनुरोध छ। डुवानका लागि पनि पूर्वसर्तकता अपनाउन जरुरी छ। आफू बस्नेनजिक वरपरको वातावरण र विपद्का घटना हुने संभावनाको विषयमा जानकारी राखौं।’
विपद् उद्धारका लागि नेपाल प्रहरीका १२ हजार प्रहरी परिचालन गरिएको कार्कीले जानकारी दिए। उनी भन्छन्, ‘आफ्नो क्षेत्रको भौगोलिक अवस्थालाई हेरेर सर्तक हुन जरुरी छ। विपद् जोखिमका लागि अन्य सुरक्षा निकायसँग सहकारी गरी २४ सै घण्टा तयारी अवस्थामा छ। नागरिक उत्तरदायीत्वका रूपमा हेरेर प्रहरी संगठन संवेदनशील रहेको उनले बताए। कार्की भन्छन्, ‘विपद्लाई रोक्न नसकेपनि यसबाट हुने क्षति कम गर्न सकिन्छ भनेर हामी सक्रियतासाथ लागिपरेका छौं।’