भैरवकुमारी जात्रा सुरु
दोलखा : ऐतिहासिक सहर दोलखा बजारमा बुधवार बेलुका १० बजेबाटबाट भैरवकुमारी जात्रा सुरु भएको छ। ५ दिनसम्म चल्ने यो जात्रामा कालो रङ्गको वस्त्रधारी भैरवका पछाडि रातो भेषमा सजिएकी कुमारी अनि उनीहरूको वरिपरि हातहतियारसहित विभिन्न वेषभूषामा सजिएका सिपाहीहरू रातभरि घुमेर नाच्ने गर्दछ।
गाईजात्राको भोलिपल्ट भाद्र कृष्ण पक्ष द्वितीयादेखि षष्टीसम्म १४ जनाको समूहमा एकै पटक बाजा बजाई भैरव कुमारी र सिपाहीहरूसहित नचाउने यो जात्रा दोलखा बजारमा मात्र देखाइने वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले बताए।
शिवभक्ति समुदायले मात्र नाँच्ने यो जात्रा उक्त समुदायका युवाहरू रोजगारीका सिलसिलामा बाहिर गएका कारण सञ्चालनमा कठिनाइ भएको वडाध्यक्ष स्टालिन श्रेष्ठको भनाइ छ। भैरव, कुमारी, नकिन, चाकालचुकुल, गुभाजु, माछा मार्ने अभिनयकर्ता गरी शिवभक्ति समुदायका नाच्ने टोलीको १४ जनाका समूहमा यो जात्रा सुरु गरिन्छ।
बजार स्थित कुमारी घरबाट निकालिने यो जात्रा हेर्न धेरै भक्तजनहरू दोलखा बजार आउँछन्। भैरव कुमारी जात्रामा मुकुण्डोसहित कालो जामा लगाइ उन्मत्त तामाको लिङ्ग अरूले अठ्याई बोकेको भैरव अघि अघि बाजाको तालमा नाँच्दै र मुकुटसहित रातो साडी लगाएको कुमारी र विभिन्न वेषभुषामा
हातहतियार समेत बोकेका हतियारधारी गणहरू भैरव र कुमारीको आसपास हुने गरी नाच देखाउँदै दोलखा शहरको विभिन्न देवस्थलहरूको परिक्रमा गर्ने गर्छन्।
यो नाँच राती १० बजेबाट बिहान ४ बजेसम्म अथवा चराले ननाघ्ने गरी भित्र पसि सक्नुपर्ने भएपनि पुग्नुपर्ने ठाउँ सबैतिर पुग्दा अलि ढिला पनि हुन सक्ने वडाध्यक्षको भनाइ छ।
भैरवकुमारी जात्रा निकाल्ने समयमा दोलखाका अधिकांश महिला र युवतीहरू व्रतसमेत बस्ने गर्छन्। बिहानदेखि व्रत बसी बेलुका भैरव कुमारीको पूजा गरी सगुन दियो भने मनमा चिताएको कुरा पूरा हुने जनविश्वास रहेको छ। भैरव कुमारीको दर्शन मात्र गर्यो भने पनि रोग ब्याधि नलाग्ने र मनमा चिताएको कुरा पूरा हुने किंवदन्ती छ।
भैरव कुमारी जात्रा दोलखामा कहिलेदेखि सुरु भयो भन्ने एकिन प्रमाण नभए पनि दोलखामा पाइएको ने.सं. ५८० को अभिलेखमा भैरव कुमारी जात्रा दोलखा शहरमा प्रर्दशन गरिने जात्रा मध्ये सबै भन्दा पुरानो जात्रा हो भन्ने उल्लेख भएको पाइन्छ।