तत्कालीन राजा विक्रमबहादुर सिंह र रुद्रकुमारीको छोरा जयपृथ्वीबहादुर सिंह सानै उमेरमै परोपकारी स्वभावका थिए। खेलकुद र सिकारभन्दा उनलाई पढ्न र नयाँनयाँ कुरा जान्न मन लाग्थ्यो। राणा प्रधानमन्त्री जंगबहादुरकी छोरीपट्टिका नाति, राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरी–ज्वाइँ भएकाले नेपालको दरबारभित्र र बाहिर जनतामाझमा जयपृथ्वीको विशेष सम्मान थियो। शक्तिशाली राणा प्रधानमन्त्रीका ज्वाइँभन्दा सर्वसाधारणको सेवामा शिक्षा, पत्रकारिता र मानवतावादको मार्ग अवलम्बन गरेर निष्काम कार्य गर्न उनी रुचाउँथे। उनको जन्म १९३४ साल भदौ ७ गते बझाङमा भएको थियो।
रजौटा उन्मूलन कानुन : २०१७ सालमा राजा महेन्द्रको शासनकालमा लागू गरिएको राज्य रजौटा उन्मूलन ऐनसँगै अन्य स–साना राज्य र बझाङको राजतन्त्रको उन्मूलन भयो। नेपालका राजारजौटाले त्यस ऐनलाई स्वीकार गरे पनि बझाङका तात्कालिक राजा ओमजंगबहादुर (जयपृथ्वीका भाइ देवीजंग बहादुरका नाति रामजंगका छोरा)ले २०१८ मा विद्रोह गरे, हतियार उठाएर लडाइँ नै गरे। राज्यको सेनाद्वारा मार्मा भन्ने ठाउँमा उनी मारिए।
२०६३ को आन्दोलनताका मानार्थ राजाको सम्मान पाएका मुस्ताङी राजाको पनि अन्त भयो। १९९७ सालमा भारतको बेंगलर मृत्यु हँुदा जयपृथ्वीको कार्यले चर्चा पाइसकेको थियो। नेपालमा भन्दा विश्वमा उनको ख्याति फैलिसकेको थियो। भारतबाट प्रकाशित हुने ‘अमृतबजार पत्र’ले दोस्रो गौतम बुद्धको निधन भनेर समाचार प्रकाशित गरेको थियो।
शिक्षाप्रेमी : शिक्षा सबैका लागि अनिवार्य हुनुपर्छ। मानवता, शिक्षा र चेतनाबिना मानिस पशुसरह हो भनेर राम्ररी बुझेका जयपृथ्वीले नेपाली भाषामा पुस्तक लेखनदेखि प्रकाशन र वितरण कार्यमा पनि आफैं खटेर लागे। उनले पाठशाला खोल्ने, पाठ्यक्रम तैयार गर्ने, मातृभाषामा शिक्षा दिने, अभिभावकलाई केटाकेटीको पढाइमा संलग्न गराउने, पाठशालामै खाजाको व्यवस्था गराउनेजस्ता कार्यलाई निरन्तरता दिए। कुपोषण, विकृतिपूर्ण संस्कृति र अज्ञानताले बालबच्चाको विकासमा बाधा पुर्याउँछ भनेर राम्ररी बुझेका उनले प्राथमिक शिक्षादेखि उच्च शिक्षासम्म विभिन्न कार्य गर्न पहल गरेका उदाहरण थुप्रै छन्।
चैनपुर र काठमाडौंको नक्सालमा सत्यवादी पाठशाला खोलेर यिनले शिक्षाद्वारा चेतना फैलाउन प्रयत्न गरे। १९५८ सालमा जयपृथ्वीले अक्षरांक शिक्षा नामक पुस्तक लेखेर पाठशलामा पढाउन सुरु गरे। यस पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, जोडघटाउ, भागगुणन र इस्लाम धर्मका चाडपर्वको पनि उल्लेख छ। नेपाली भाषामा लेखिएको यस पुस्तक शिक्षाको क्षेत्रमा कोसेढुंगाका रूपमा स्थापित भएको छ। पाशुपत छापाखानामा एक हजारप्रति छापिएको अक्षरांक पुस्तकले नेपाली समाजमा नयाँ क्रान्ति ल्यायो। जयपृथ्वीले अक्षरमाला, पदार्थ तत्व विवेक, बालबोध भाग–एक, जापानको इतिहास, शारीरिक शिक्षा दर्पण, श्रेस्ता दर्पण भाग–१÷२, बालबोध, प्राकृत व्याकरण, भूगोल विद्या, मानवतावाद–१, २, ३, द फ्ल्याग अफ पिस र द ह्युमानिस्ट नामक पत्रिकाको प्रकाशन र वितरण गरेर शिक्षाको क्षेत्रमा नयाँ क्रान्ति नै ल्याए।
शिक्षाप्रेमी उनको अनुरोधमा चन्द्रशमशेरले आठ जनालाई जापानमा प्राविधिक शिक्षा लिन पठाए। क्याप्टेन जंगनरसिंह राणा, क्याप्टेन भक्तबहादुर बस्न्यात, देवनरसिंह राणा, बालनरसिंह रायमाझी, दीपनरसिंह राणा, हेमबहादुर राजभण्डारी, रुद्रलाल सिंह, विचारमानसिंह र अभिभावकको रूपमा स्वामी पुरानन्द गिरीको टोली जापान पुगेर शिक्षा पूर्ण गरेर नेपाल फर्किएको थियो। जापानमा पढ्न गएकामध्ये दुईजनाले हतियार इन्जिनियरिङ, दुईजनाले खनिज विषय, एकजनाले कृषि, एकजनाले मेकानिकल इन्जिनियरिङ, एकजनाले व्यावहारिक रसायनशास्त्र, एकजनाले सेरामिक्स तथा लेकर भेस विषय अध्ययन गरेको पाइन्छ।
सन् १९०२ मा स्वामी पुरानन्द गिरीको नेतृत्वमा जापान गएका आठ विद्यार्थी र १७ कामदारको टोली ४७ दिन लगाएर समुद्रको बाटो हँुदै क्रमशः कोलम्बो, रंगुन, सिंगापुर र कोबे हुँदै जापानको योकोहामा पुगेका थिए। यी विद्यार्थी नेपाल फर्कंदा जापानका केही विशेष फलफूल र फूलका बिरुवा नेपाल ल्याए। जसमध्ये काँचै खान मिल्ने हलुवाबेद, आकारमा ठूलो देखिने कटुस, विभिन्न रंगका गोदावरी फूलहरू र नीललहर फूल छन्।
पत्रकारिता : जयपृथ्वीबहादुर सिंहलाई नेपाली पत्रकारका अगुवा मानिन्छ। राजा पृथ्वीवीरविक्रम शाह र प्रधानमन्त्री देवशमशेरको शासनकालमा १९५८ साल वैशाख २४ गते सोमबारको दिन गोरखापत्रको प्रकाशन सुरु भयो। गोरखापत्रको प्रोप्राइटरमा उनै जयपृथ्वीलाई नियुक्त गरियो। उनले गोरखापत्रको गुणस्तर बढाउन विभिन्न प्रयत्न गरे। नक्सालको प्रेसबाट गोरखापत्र, पाठ्यपुस्तक र अन्य शैक्षिक सामग्री पनि प्रकाशन हुन्थ्यो। गोरखापत्रको पहिलो अंकदेखि प्रथम पृष्ठको माथि शिरमा आशीर्वचन छापिने परम्परा आजसम्म छ।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः
सर्वेभद्राणि पश्यन्तु मा कश्चिद दुःख भाग्जनः
जयपृथ्वीलाई नेपालमा विविध कार्य गर्न सजिलो थिएन। तर यहाँको परिस्थिति राम्ररी बुझेका उनले बेङ्लोरको चेट्टीरोडस्थित जया भवनलाई कार्यथलो बनाए। त्यहीँबाट आफ्नो ‘ह्युम्यानिस्ट क्लब’को मुखपत्रको रूपमा ‘द ह्युम्यानिस्ट’ नामको पत्रिका प्रकाशन गरी विश्वका प्रमुख घटनालाई उजागर गर्न थाले। पत्रपत्रिकाको प्रकाशनले मात्रै कुनै पनि राष्ट्रको स्तर निर्धारण गर्न सकिन्छ भन्ने यथार्थ उनले राम्ररी बुझेका थिए।
युरोप यात्रा : १९६४ साल चैत्र २५ गते सोमबार चन्द्रशमशेर साइत गरेर युरोप यात्रामा हिँडे। ४५ जनाको समूह लिएर उनी बेलायत सरकारको निमन्त्रणामा गएको विवरण नेपालका विभिन्न साहित्यिक स्रोतमा पाइन्छ। उक्त यात्रामा जयपृथ्वी पनि सम्मिलित थिए। १९६५ असार १२ गते जयपृथ्वीलाई लिएर चन्द्रशमशेर बेलायतको वाटर लुबाट वेजिंगस्टेक महल गएका थिए। महिना अठार दिनको यात्रा गरेर १९६५ भदौ १२ गते टोली काठमाडांै फर्कियो। नेपालका राणा प्रधानमन्त्रीहरूले गरेका विदेश भ्रमणमध्ये जंगबहादुरको बेलायत यात्रा (१९०६ माघ ४) र चन्द्र शमशेरको युरोप यात्रा निकै चर्चित छ। युरोप यात्रा नामक पुस्तकमा प्रस्थान काण्ड, समुद्र काण्ड, लन्डन काण्ड र पेरिस
काण्डमा विभाजित छ।
मानवतावादी नेता : जयपृथ्वी मानवतावादी नेता हुन्। यिनले विश्वका विभिन्न देश भ्रमण गरेर सामाजिक कार्यहरू गरेको उदाहरण थुप्रै छन्। सन् १९३६ मा इटलिका सेनाले इथियोपियामा आक्रमण गर्दा गुस्टार्ड ग्यास फाले। त्यसको प्रभावले सर्वसाधारण मानिस मूच्र्छा पर्दै मर्न थाले। जयपृथ्वीले ग्यास मास्क किनेर वितरण गर्ने निधो गरे। जापानको भिसा नभएकाले कार्यमा रोकावट हुने देखेर उनले राम्रो परोपकारी कार्य गर्न नक्कली भिसा बनाए। तर उनले जेल सजाय भोग्नुपर्यो। आफ्नै खर्चले ग्यास मास्क किनेर इथियोपियाका जनतालाई बाँड्ने उद्देश्य बताएपछि भने यिनी जेलबाट छुटे। जुन कामले हजारौंको ज्यान बच्यो। सन् १९३३ मा सिकागोको विश्वधर्मसँगमा भाग लिन जयपृथ्वी गए।
उपसंहार : स्वदेश र विदेशी भूमिमा नेपालका विभूति जयपृथ्वीको विभिन्न कार्यको वर्णन र प्रशंसा गरिएको छ। बिर्सिएका नायक उनको जीवनी र योगदानले पाठ्यक्रममा स्थान पाएको छ। समाज, राष्ट्र र विश्वकै लागि नयाँ विचारधारा लिएर उनले जसरी कदम चाले, त्यो प्रशंसनीय र अनुकरणीय छ। उनका दर्शन र विचार समेटिएका पुस्तक जनसमक्ष पुर्याउन आवश्यक छ।