गुल्मीमा एक लाख बढी नागरिक स्वास्थ्य बिमाको पहुँचमा
गुल्मी : पछिल्लो समय गुल्मीका नागरिकको स्वास्थ्य बिमामा आकर्षण बढ्दै गएको छ। नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्य अनुरूप सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम जिल्लामा प्रभावकारी बन्दै गएको हो। सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमको महत्त्व र प्रभावकारिता नागरिकले बुझ्न थालेपछि गुल्मीमा स्वास्थ्य बिमा गर्नेको संख्या बर्सेनि बढिरहेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीले जनाएको छ।
गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ २०७६ सालदेखि गुल्मीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको थियो। दुई नगरपालिका र १० गाउँपालिका भएको यस जिल्लामा पछिल्लो समय बिमितको संख्या बर्सेनि बढ्दो क्रममा देखिएको छ। २०७८ सालको जनगणना अनुसार गुल्मीमा दुई लाख ४६ हजार आठ सय ३६ जनसंख्या रहेको छ।
स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका अनुसार हालसम्म एक लाख १३ हजार आठ सय ५५ जनाले स्वास्थ्य बिमा गरेका स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका जिल्ला संयोजक सुवास घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार यस जिल्लामा हालसम्म करिब ५४ प्रतिशत नागरिक बिमाको पहुँचबाट बाहिर छन्।
जिल्लाका १२ वटा स्थानीय तहमध्ये सबैभन्दा बढि रेसुंगा नगरपालिकाका नागरिकले स्वास्थ्य बिमा गराएका छन्। सबैभन्दा कम मदाने गाउँपालिका भित्रका नागरिकले बिमा गराएका छन्। बिमा मार्फत स्वास्थ्य सेवा लिन केही झन्झटिलो प्रक्रिया रहेको कतिपय बिमित बताउँछन्। तीन हजार पाँच सय रुपैयाँमा एक परिवारका ५ जना सदस्यले वर्षमा एक लाख बराबरको स्वास्थ्य सेवा पाउँछन्। पाँचभन्दा बढि परिवारका सदस्य भएमा प्रतिव्यक्ति ७ सय तिरेर वार्षिक २० हजारका दरले स्वास्थ्य सेवा लिन सक्छन्।
रेसुङ्गा नगरपालिकामा २१ हजार छ सय ३५ नागरिकले स्वास्थ्य बिमा गरेका छन्। मुसिकोट नगरपालिका भित्रका छ हजार नौ सय ७७ जना नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा आएका छन्। जिल्लाको कालीगण्डकी गाउँपालिकाका छ हजार एक सय ६६, मालिकामा सात हजार तीन सय ६७, सत्यवतीमा १४ हजार चार सय ६२ जनाले स्वास्थ्य बिमा सदस्यता लिएको कार्यालयले जनाएको छ। त्यस्तै मदानेमा दुई हजार नौ सय ८३ जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन्।
रुरु क्षेत्रमा स्वास्थ्य बिमा गराउने बिमितको संख्या १२ हजार नौ सय ७८ जना रहेको छ। छत्रकोट गाउँपालिकामा ११ हजार दुई सय १२ जनाले स्वास्थ्य बिमा गराएका छन्। धुर्कोट गाउँपालिकामा आठ हजार सात सय ६९, गुल्मी दरबार गाउँपालिकामा नौ हजार तीन सय ७२ जना, इस्मा गाउँपालिकामा छ हजार एक सय ७९ र चन्द्रकोट गाउँपालिकामा पाँच हजार सात सय ५५ जना बिमित रहेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।
सरकारले लिएको अपेक्षा अनुरूप नागरिकलाई बिमामा जोड्न भने सकेको अवस्था छैन। नागरिकलाई स्वास्थ्य बिमामा जोडेर सहज पहुँच दिलाउन समुदायस्तरमा पुगेर बिमाका फाइदा र यसको महत्त्व बारे जनचेतना फैलाउन आवश्यक रहेको संयोजक घिमिरेले बताए। औपचारिक क्षेत्रका सबैको अनिवार्य बिमा गर्ने, स्वास्थ्य बिमामा स्थायी दरबन्दी संरचना स्वीकृत गर्ने, सेवा प्रदायक स्वास्थ्य संस्थामा अनुगमन तथा निरीक्षण, बिमा बोर्डले स्वीकृत गरेका औषधी नागरिकलाई पर्याप्त उपलब्ध गराउने कुरामा सरकारको ध्यान पुग्न सकेमा मात्रै बिमितको संख्यामा वृद्धि हुने उनको भनाई छ।
सरकारले जेष्ठ नागरिक, एचआइभी संक्रमित, कुष्ठरोगी र जटिल खालको क्षयरोगीको निःशुल्क स्वास्थ्य बिमा गरिदिने गरेको छ। तर, कतिपय नागरिक गरिब,विपन्न,आर्थिक अबस्था कमजोर भएका कारण बिमाबाट बञ्चित भएका छन्। स्वास्थ्य बिमामा व्यक्ति, समुदाय र सरकारको प्रत्यक्ष सहभागिता रहने भएकाले पनि यसलाई अनिवार्य बनाउन सरकार लाग्नु पर्ने देखिन्छ। स्वास्थ्य बिमा कार्यक्रम मार्फत गुल्मी अस्पतालमा उपचार गराउनेको संख्या बढ्दो छ। दैनिक सयौंको संख्यामा अस्पतालमा बिरामी आउने गरेका छन्।