यात्रामा देशको मुहार

पुस्तक

यात्रामा देशको मुहार

संग्रहका नियात्रा नेपाल र भारतका विभिन्न भूगोलसम्म फैलिएका छन् । जसभित्र पहाडी दुर्गम क्षेत्रमा यात्रा गर्दा पाएका हण्डर, ठक्कर र मनोवैज्ञानिक त्रासको अवस्था, मधेसी समाज र त्यहाँको अवस्था, वृद्धा श्रमहरूमा पुग्दा संवेदित भएका अनुभूति सबै छन् ।

यात्राको लय प्रदीप सापकोटाको दोस्रो नियात्रासंग्रह हो । यात्राका इन्द्रेणी (२०७७) कृतिबाट नियात्राकारको परिचय बनाएका उनले यसमा जम्मा १७ नियात्रा समावेश छन् । विभिन्न समयमा विभिन्न उद्देश्यले गरिएका सामूहिक यात्राका क्रममा सँगालिएका भोगाइ, अनुभूति र दृश्यको वर्णन यस कृतिमा निकै सटिक र रोचक किसिममा प्रस्तुत छ । नयाँ ठाउँ, नयाँ भूगोल, समाज र संस्कृतिबारे जान्न र बुझ्न रुचि राख्ने उनले यात्रामा जाने, सिके र अनुभव गरेका विषयलाई पाठकसामु साझा गरेका छन् ।

नियात्रा लेखन भनेको यात्राको विवरण र वर्णन मात्र लेख्नु होइन । यात्राका क्रममा स्रष्टाले अनुभूत गरेका अनुभूति, दृश्य, घटना र परिवेशले निर्माण गरेका विचार र धारणा पनि कलात्मक रूपमा प्रस्तुत गर्नुपर्छ । यस कृतिका नियात्रामा पनि यस किसिमको सचेतता पाइन्छ र नियात्राकारले यात्राको क्रममा सँगालेका दृश्य, जानकारी र त्यसबाट निर्माण भएका धारणा र विचारलाई मिहिन ढंगले आत्मपरक शैलीमा प्रस्तुत गरेका छन् । यसले एकातिर पाठकलाई विभिन्न परिवेशको भ्रमणमा सरिक गराउँछ भने अर्कोतिर नियात्राकारको विश्वदृष्टि बुझ्न र तत्तत् स्थानप्रति धारणा बनाउन मद्दत गर्छ ।

यात्राका क्रममा देखेभेटेका दृश्य, पात्र र परिवेशको चित्रण र ती परिदृश्यहरू माथिका अनुभव, अनुभूति र दृष्टिकोण प्रस्तुत गर्ने क्रममा नियात्राकार सचेत देखिन्छन् । आफू जुन परिवेशमा पुगेको छ, त्यसबारे चासो र चिन्तासमेत व्यक्त गर्दै ती ठाउँका सकारात्मक पक्ष र कमजोरी पक्षलाई दुवैलाई प्रस्तुत गर्नु नियात्राकारको नियात्रागत प्रवृत्ति हो ।

‘नक्सलवाडी हुँदै टाइगरहिलमा बरालिँदा’ शीर्षकको नियात्रामा उनले त्यहाँको परिवेश र दृश्यको मात्र वर्णन गरेका छैनन् । नक्सलवाडी हुँदै दार्जिलिङ जाने क्रममा त्यस ठाउँसँग सम्बद्ध भएर आउने अतीतका संस्मरण र त्यसबाट निर्मित पूर्वधारणा पनि व्यक्त गरेका छन् ।

‘मलाई हठात् नक्सलाइट आन्दोलनको इतिहास याद आयो । भाकपाबाट विभाजित भएर चारु मजुमदार, कानु सन्यालसहितले यही नक्सलबाडीबाट वर्गशत्रु खतम अभियान सुरु गरेर आन्दोलनलाई हिंसात्मक रूप दिएका थिए । त्यस बीचमा कैयन सरकारी सेना प्रहरी, आन्दोलनका अभियानकर्ता र सर्वसाधारण मारिए । क्रमशः पश्चिम बंगाल, कलकत्तासहितका गाउँमा समेत यो अभियान अगाडि बढ्यो । पछि १९७२ तिर चारु मजमुदार पक्राउ परे र उनी जेलमै मरेपछि बिस्तारै यो पार्टी विभिन्न पार्टीमा विभाजित भयो शिथिल बन्यो (पृ. ११८) ।’ यसरी पाठकले यी नियात्रा पढ्ने क्रममा कतै आफू कहिल्यै नपुगेको भूगोलमा पुग्छन् त कहिल्यै आफूले कहिल्यै सामना गर्नु नपरेको समस्यासँग साक्षात्कार हुन्छन् । कहिले आफ्नै कुरा भनिदिएजस्तो अनुभूति गर्छन् त कहिले इतिहास र समाजका नौलो विषय सन्दर्भबाट जानकार हुन पाउँछन् ।

नियात्राहरू पछिल्लो दुई दशकयताका छन् । संग्रहको पहिलो नियात्रा देशमा गृहयुद्ध चलिरहेको अवस्थामा अर्थात् २०५९ सालमा सुदूरपश्चिमको यात्रा गर्दा बाटोमा गरिने विभिन्न चेकजाँचले दिएको सास्ती र मनोवैज्ञानिक त्रासलाई निकै मार्मिक रूपमा प्रस्तुत गरिएको छ । दोस्रो ‘टनकपुरमा दुःखेको मन’ शीर्षकको नियात्रामा टनकपुर ब्यारेज देखेपछि छिमेकी देशले आफ्नो देशमाथि गरेको ज्यादतीले मन दुखेको कुरा लेखेका छन् । ‘गाजाको दह र पिँढीको बास’ लगायतका पाँच नियात्रा बागलुङ आसपास क्षेत्रको सामाजिक तथा सांस्कृतिक विषय र परिवेशमा केन्द्रित भई लेखिएका छन् ।

जातीय विभेदले ग्रस्त पारेको समाजमा त्यस्तो विभेद हटाउन र जनचेतना विकास गर्न नियात्राकार आफूले निर्वाह गरेको भूमिका पनि कृतिमा छ । ‘सहभोज’ शीर्षकको नियात्रामा छ ः जातीय विभेदको अन्धकार हटाउन खोजेको यो प्रयास चेतनाको मिर्मिरे उज्यालोमा पदार्पण गर्दैगर्दाको खुसी शब्दमा कहाँ व्यक्तिन्थ्यो र हजुर ! कथित दुई जातका दलितबीचको विभेद हटाउन कति सकें ! त्यसपछि त्यो कुराले निरन्तरता पायो पाएन ? याद भएन, तर मेरो आत्मसन्तुष्टिको उचाइ भने चुलियो (पृ. ६६) ।

आन्तरिक पर्यटनमा रमाउने र स्वदेशका विविध भाषा, संस्कृति र भूगोलबारे जान्न चाहने नियात्राकार बाह्य दृश्यमा मात्र रमाउँदैनन्, उनी प्रायः आन्तरिक संवादमा समेत मस्त रहन्छन् । दोलखाको भीमेश्वर नगरपालिकाको कार्यालय भवन परिसर पुगेपछि आफ्नो क्षेत्रको नगरपालिका भवन सम्झँदै लेख्छन् ः पढेर मात्र नहुने रहेछ । डिग्रीमात्र पनि केही होइन रहेछ । प्राविधिक ज्ञानलाई आफ्नो सीप कौशलतामा सही ढंगले घुलन गर्न सके मात्र सुन्दर भौतिक पूर्वाधार बन्न सक्दोरहेछ भन्ने कुरा खरीजुका टाँसिए झैं टाँसिइरह्यो (पृ. १११) । यसरी यात्राका क्रममा देखिएका दृश्य र घटनाहरूको वर्णनसँगै विचार र दृष्टिकोणहरूको प्रस्तुतिले नियात्रा अझ बढी आकर्षक बनेका छन् ।

मधेसको यात्रामा होस् या पहाडी गाउँको यात्रा गरिरहँदा, नेपालको पूर्वी भेगमा पुग्दा होस् या त धार्मिक पर्यटनको सिलसिलामा गरिएको यात्रामा अनि ऐतिहासिक भूभागको अवलोकन गर्दैगर्दाको समयमा होस्– नियात्राकारको जिज्ञासु स्वभाव जहाँ पनि सक्रिय हुन्छ । जसले नयाँ कुराहरूको उत्खनन गर्छ । यसरी भूगोलको यात्रासँगै नियात्राकारले पाठकलाई आन्तरिक संवादको समेत यात्रा गराउन सफल भएका छन् ।

संग्रहका नियात्रा नेपाल र भारतका विभिन्न भूगोलसम्म फैलिएका छन् । नेपालको पश्चिमी पहाडी समाजका सांस्कृतिक, सामाजिकलगायत यथार्थ, नेपालका पहाडी दुर्गम क्षेत्रमा यात्रा गर्दा पाएका हण्डर, ठक्कर र मनोवैज्ञानिक त्रासको अवस्था, मधेसी समाज र त्यहाँको अवस्था, वृद्धा श्रमहरूमा पुग्दा संवेदित भएका अनुभूति, धार्मिक उद्देश्यले गरिएको यात्रा र यसबाट प्राप्त जानकारी र अनुभूतिहरू सबै यी नियात्रामा रोचक ढंगले प्रस्तुत गरिएका छन् ।

कतिपय नियात्राहरू साहित्यिक भ्रमणमा केन्द्रित भएर लेखिएका छन् । यस्ता साहित्यिक उद्देश्यले गरिएका सामूहिक भ्रमणमा केन्द्रित नियात्राहरूमा साहित्य र साहित्यकारसँग सम्बद्ध विषय केन्द्रीय विषय बनेर आएको छ । त्यहाँको भूगोल, परिवेश र स्थानीयता परिधीय विषय बनेर आएको छ । यसरी विविध सन्दर्भ, विविध भूगोल र विविध किसिमका पात्रहरूको उपस्थिति रहेकाले फरकफरक स्वादका नियात्राहरू यस कृतिमा पढ्न पाइन्छ । समग्रमा करिब दुई दशकयताको नेपाली समाज, भूगोल, परिवेश र देशको अवस्थासमेतलाई प्रतिबिम्बित गर्न सफल प्रस्तुत नियात्रा संग्रह नेपाली साहित्यको पठनीय कृति हो ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.