यात्राभित्रको यात्रा

पुस्तक

यात्राभित्रको यात्रा

‘अमेरिका यात्राका डोबहरू’ले मलाई साथै लान सक्यो। त्यसैले भन्छु, अरू पाठकलाई पनि लैजान्छ।

हरिप्रसाद उप्रेतीलाई कुशल कर्मचारी, निजामती कर्मचारी संगठनका नेता, ट्रेड युनियन अधिकारका जानकार, राजनीतिमा सक्रिय व्यक्तित्व र कानुन व्यवसायीका रूपमा मात्र चिनेको थिएँ। कोरोनाकालमा हरिजीका साहित्यिक लेखरचना, टिप्पणीहरू फेसबुक र पत्रपत्रिकामा छापिन्छन्। त्यसैबेलादेखि हरिजी लेखनमा पनि अभ्यस्त मानिस रहेछन् भन्ने बोध गरें।

एक दिन मेरो आत्मकथानात्मक उपन्यास ‘यात्रा जिन्दगीको’ उनलाई दिन्छु अनि ‘अमेरिका यात्राका डोबहरू’ शीर्षकको उनको नियात्रा मलाई दिन्छन् उनी उसैबेला। यात्राका डोबहरू पल्टाउँछु। २०० बढी पृष्ठको ४५ शीर्षकमा विभाजित अमेरिका यात्राका स्थान विशेष तथा ती स्थानप्रतिको अवधारणा र प्रत्यक्षरूपमा आफूले देख्दा अनुभूत गरिएका सन्दर्भहरूको सँगालो हो यो नियात्रा भन्ने लाग्छ। यात्राको पृष्ठभूमिबाट सुरु भएर नेपाल फर्किएको दिनमा नियात्रा टुंगिएको छ। यसमा अमेरिका गएर विभिन्न स्थानको भ्रमण अवलोकन गरेर आफ्नै देश फर्किएको विषयवस्तु समेटिएको छ।

छोरा–बुहारी वा छोरी–ज्वाइँ आफ्नो उद्देश्यमा सफल हुनु भनेको बाबुआमाका निमित्त स्वर्ग प्राप्त हुनु हो। तर त्यतिमात्र हुँदो रहेनछ सन्ततिप्रति आमाबुवाको अपेक्षा। छोराछोरीले हामीलाई पनि त्यो संसारको रमण गराउनेछन् भन्ने अपेक्षा ज्युँदो बन्दोरहेछ मनमा। हरिजी यसरी लेख्छन्, ‘जब जेठो छोरा आलोक जीवनका रंगीन सपना बोकेर अमेरिका पसे २०७३ सालमा अनि हाम्रो अमेरिका पुग्ने एउटा आधार बन्न गयो। झन् उनको वृत्ति विकासको सुरुआत भएपछि हाम्रो सम्भावना अलि नजिकियो’ (पृष्ठ १०)। यस पुस्तकको विषयमा शुभकामनाका पुष्पगुच्छा शीर्षकमा नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालले नियात्राको सैद्धान्तिक पाटो र यसको मर्मलाई उल्लेख गर्दै बडो मूल्यवान् शुभकामना लेखेका छन्।

नियात्राको ऐतिहासिकताबारे उनले लेखेका छन्, ‘चिनियाँ पदयात्री ह्वेन साङ र फाहियान, फ्रान्सेली पदयात्री सिल्भाँ लेभी, जापानी पदयात्री इकाई मावागुची आदिलाई हाम्रो तत्कालिन ऐतिहासिक परिवेशका जीवित साक्षीका रूपमा मानिरहेकै छ नि !’ (पृष्ठ क)। ‘नियात्रा एउटा जीवित साहित्य हो। यो राजनीतिभन्दा भिन्न हुन्छ’ भन्दै प्रतीकजी लेख्छन्, ‘राजनीति शौचालय हो भने साहित्य भोजनालय हो’ (पृष्ठ ग)। ‘हो पनि नियात्रा भनेकै मनका भावनासँगै हिँड्नु वा यात्रा गर्नु हो। यात्रा गर्दा जुन बाटो हिँडियो, जुन ढुंगामा उक्लियो, जुन धाराको पानी पिइयो, जुन लौरो टेकियो ती ती वस्तु चिज र प्राप्त परिवेशको भावना मिसिएको वर्णन गर्नु नै नियात्रा लेखन हो। जब नियात्रा लेखनमा यात्राकारको अनुभूति जोडिन पुग्छ तब नियात्रा साहित्य बन्छ’, कृतिको भूमिकामा जय छाङ्छाले लेखेका छन्।

छाङ्छा लेख्छन्, ‘अन्त्यमा, प्रस्तुत अमेरिका यात्राका डोबहरूको अपार सफलताको कामना गर्दै सर्जक उप्रेतीजीले नेपाली नियात्रा साहित्यको भण्डारलाई अमूल्य कृति उपहार दिनुभएका छ।’ छाङ्छाको यस भनाइले नियात्रा निबन्धको मूल्य स्थापना गरेको छ। अमेरिका सबै पुग्दैनन्। पुगे पनि हरिजीले जसरी घुमफिर गर्दैनन्। घुमफिरमा रमाए पनि सबैले यस्तो सिर्जना दिन सक्दैन। पुगेर पनि यस्ता सिर्जना दिन नसक्ने वा पुग्नै नसक्ने सबैलाई एकपटक हरिजीले डुलेको, घुमेको देखेको प्रस्तुतिले पाठकलाई लेख र लेखकसितै तत्तत् स्थानमा पु¥याउन यो नियात्रा सफल छ।

नियात्रा भन्नु नै सजीव यात्राको वर्णन, भाव उत्पादन र अक्षरको संयोजन हो भन्ने लाग्छ। जसले पाठकलाई चलचित्रमा झैं दृश्य, घटना, वार्ता र अवस्थितिको अनुभूत गराउँछ। यसरी भेटिएका देखिएका वस्तु चिजले यात्रीको मनमा जे भाव उत्पन्न गर्छ, त्यही भावलाई भाषाको माध्यमले वस्तुसित संयोजन गरिन्छ, त्यसैलाई नियात्रा साहित्य भनिन्छ। कृतिका ४५ शीर्षक, ती हरेक शीर्षकका अन्तरवस्तु, त्यहाँ वर्णित परिवेशको चर्चा गर्दा यो सिंगो पुस्तक बन्न पुग्छ। अतः केही उदाहरण दिएर यसलाई टुंग्याउने अनुमति चहन्छु। यात्रामा दैनिक भोगेका कुराबाहेक बेग्लै अनुभूति हुने गर्छ हरकोहीलाई।

हरिजी लेख्छन्, ‘आकाशमा बितेको रात शीर्षकमा यसरी आकाशमा रात बिताउने क्षण जीवनमा फेरि पनि आउँला कि नआउँला ?’ (पृष्ठ ५)। यात्री आफ्ना विषयमा जति नै जानकार छु भने पनि ‘नजानेको अक्षर भैंसी बराबर’ भने जस्तै हुँदोरहेछ। हरिजी स्तानबुलको सकस शीर्षकमा यस्तो भन्छन्, ‘जाँचका बारेमा जिज्ञासा राख्दा त्यो जाँच लागूऔषधको जाँच भन्ने बल्ल मलाई थाहा हुन्छ (पृष्ठ ७)। यात्रुले गन्तव्य भेट्दा कस्तो अनुभूत गर्छ ‘अमेरिकामा पहिलो पाइला’ शीर्षकमा हरिजी लेख्छन्, ‘बिस्तारै खुसी प्रवेश हुन थाल्छ। निर्दलीय पञ्चायत व्यवस्थाबाट बहुदलीय व्यवस्थामा मुलुक प्रवेश गर्दा जनतामा आशा पलाए जस्तै’ (पृष्ठ ९)। भूगोल र आनीबानीले मानिसलाई आफूमा समाएको हुन्छ त्यो छुटेपछि अर्को नसमातिन्जेल सकस नै हुन्छ सुविधा राम्रो भए पनि।

अमेरिकी बिछ्यौनामा नेपाली निद्रा शीर्षकमा लेखिएको छ, ‘यसरी रातमा रात र दिनमा दिन खप्टिएपछि सबैभन्दा प्रभावित भनेको निद्रा रहेछ। जेट ल्यागको समस्या भनेर चिनिने रहेछ यो’ (पृष्ठ १९)। देश जति विकसित र सम्पन्न हुन्छ। भौतिक वस्तुको प्रयोग त्यति नै हुन्छ। ती भौतिक उत्पादन केवल मानिसका उपयोगका साधन हुन्। जसले भौतिक वस्तुको उपयोग गर्न सक्दैन त्यो निरर्थक सावित हुन्छ। पैसा कमाउन समय र मिहेनत जरुरत हुन्छ। यसर्थ सम्पन्न देशमा काम गर्ने मानिस थाक्न पाउँदैन। नेपालमा जस्तो दिनको तीन छाक भण्डारा लगाएर पकाएर बस्ने फुर्सद हुन्न। हप्तामा हुने बिदाको दिन पकायो अनि सात दिन खायो।

यस सन्दर्भमा एक दिन पकाउने सात दिन तताउने शीर्षकमा छ, ‘कामको यस प्रकारको व्यस्तताले मानिस थकाइमा पर्नु स्वाभाविक हो। कर्मस्थलमा नै थाकेको मानिसले छुट्टीको दिन खानेकुरा पकायो। आफ्नो खाने तालिकाअनुसार त्यहाँबाट निकाली ततायो, खायो’ (पृष्ठ १८४)। कोरोना कहर विकसित राष्ट्रमा कतिको त्रासमय थियो भन्ने कुरा यसमा छ। नेपाल फर्किने दिनमा लेखक लेख्छन्, ‘अमेरिकामा फेरि कोरोनाको तेस्रो लहरको रूपमा ओमिक्रोन भेरियन्टको प्रकोप सुरु हुन लागिसकेको छ। महामारीले हामीलाई रोक्ने पो रहेछ कि जस्तो पनि लागिरहेको हुनाले अनिश्चय र आशंकाको भूमिमा परेर नेपाल फर्किइँदैछ’ (पृष्ठ १९२)। उनी राम्रो साहित्य सर्जक भन्ने प्रमाणित गर्ने यो पुस्तक साक्षी छ।

नियात्रा पढ्दा नियात्राकारसँगै पाठक तत्स्थान र अवलोकनका समग्र विषयमा साथ रहन सक्यो भने त्यो नियात्राले पाठकलाई आफूसाथ हिँडाउन सक्यो। पाठकले नदेखेका स्थान वस्तु र विषय लेखकका आँखाले देख्यो। त्यसो भयो भने नियात्रा पाठकमैत्री भयो। हरिजीको ‘अमेरिका यात्राका डोबहरू’ले मलाई साथै लान सक्यो। त्यसैले भन्छु, अरू पाठकलाई पनि लैजान्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.