संघ र प्रदेशबाट आएको बजेट फ्रिज

संघ र प्रदेशबाट आएको बजेट फ्रिज
सांकेतिक तस्बिर

रुकुमपूर्व : रुकुमपश्चिमबाट यसपटक प्रदेश सरकारको ठूलो बजेट फ्रिज भएको छ। स्थानीय तह तथा प्रदेश मातहतका कार्यालयमा विभिन्न शीर्षकमा प्राप्त झन्डै आधा अर्ब रुपैयाँ बजेट खर्च हुन नसकी फ्रिज भएको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयअन्तर्गतको प्रदेश लेखा एकाइ कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाभरबाट ४८ करोड ५९ लाख ९८ हजार रुपैयाँ फ्रिज भएको छ।

जिल्लामा कुल २ अर्ब ३१ करोड २३ लाख ४३ हजार रुपैयाँ प्राप्त भएकोमा १अर्ब ८२ करोड ६३ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ। यो कुल बजेटको ७८.९८ प्रतिशत हो। जिल्लामा प्राप्त भएको बजेट मध्ये २१.०२ प्रतिशत फ्रिज भएको प्रदेश लेखा एकाइ कार्यालय रुकुमपश्चिमका प्रमुख यामबहादुर पुनले दिएका छन्। जिल्लाबाट सबैभन्दा बढी विकासे अर्थात् पुँजीगत बजेट फ्रिज भएको छ।

जिल्लाबाट ३१ करोड २३ लाख ५२ हजार रुपैयाँ पुँजीगत बजेट फ्रिज भएको पुनको भनाइ छ। जिल्लामा कुल १ अर्ब ३६ करोड ९९ लाख ६३ हजार पुँजीगत बजेट प्राप्त भएकामा १ अर्ब ५ करोड ७६ लाख ११ हजार रुपैयाँ अर्थात् ७७.२० प्रतिशत मात्र खर्च भएको छ।

चालु बजेट पनि ठूलो मात्रामा फ्रिज भएको छ। प्रदेश कोष लेखा एकाइ कार्यालयका अनुसार जिल्लाबाट १७ करोड ३६ लाख ४६ हजार रुपैयाँ फ्रिज भएको छ। यो कुल बजेटको १८.४३ प्रतिशत हो। जिल्लामा चालु बजेट कुल ९४ करोड २३ लाख ७९ हजार रुपैयााँ प्राप्त भएको थियो। जसमध्ये ७६ करोड ८७ लाख ३३ हजार रुपैयाँ अर्थात् ८१.५७ प्रतिशत बजेट खर्च भएको छ।

जिल्लामा कर्णाली प्रदेश मातहतका १५ कार्यालय र ६ स्थानीय तहमा प्रदेशबाट बजेट आएको थियो। कार्यालयहरूको तुलनामा स्थानीय तहको खर्च राम्रो देखिएको छ। 

जिल्लाका ६ वटै स्थानीय तहले प्रदेशबाट आएको बजेट ९० प्रतिशतभन्दा बढी खर्च गरेका छन्। कार्यालयतर्फ सबैभन्दा कम खर्च खानेपानी, सिँचाई तथा ऊर्जा विकास कार्यालयको ६४ प्रतिशत छ भने सबैभन्दा बढी जिल्ला समन्वय समितिको ९९.२५ प्रतिशत रहेको छ। स्थानीय तहतर्फ कम सानीभेरी गाउँपालिकाको ९२ प्रतिशत रहेको छ भने चौरजहारी नगरपालिकाको सबैभन्दा बढी ९७.५१ प्रतिशत रहेको छ।

यसैबीच प्रदेश मातहत ४ करोड ४२ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको प्रदेश लेखा एकाइ कार्यालय रुकुम पश्चिमले जनाएको छ। दरबन्दीअनुसार कर्मचारी नहुँदा कर्मचारीको तलब भत्ताको रकम र केही कार्यालयका १५ लाखभन्दा मुनिका योजना कार्यान्वयन नगर्ने निर्देशनका कारण बजेट फ्रिज भएको देखिएको कार्यालय प्रमुख पुनको भनाइ छ।

बितेको वर्ष जिल्लाबाट संघको भन्दा बढी बजेट प्रदेशको फ्रिज भएको छ। संघबाट बढी बजेट आएको भए पनि फ्रिज बजेटको तुलना गर्ने हो भने प्रदेशको बढी देखिएको छ। जिल्लामा सङ्घबाट चालु र पुँजीगततर्फ संघबाट कुल ५ अर्ब ३० करोड ८५ लाख ६१ हजार रुपैयाँ आएकामा ३५ करोड ३९ लाख ८१ हजार रुपैयाँ फ्रिज भएको थियो। संघको भन्दा प्रदेशको १३ करोड २० लाख १७ हजार रुपैयाँ बढी फ्रिज भएको छ।

विभिन्न ठाउँमा बजेट अभावका कारण योजना अलपत्र परेको भन्ने गरिए पनि यसरी जिल्लाबाट बर्सेनि ठूलो रकम खर्च हुन नसकी फ्रिज हुँदा बजेट अभाव भयोभन्नु गलत भएको विज्ञहरूको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.