विद्यालयहरू निजी, प्रश्न सार्वजनिक

विद्यालयहरू निजी, प्रश्न सार्वजनिक

शिक्षा देश विकास र प्रगतिको प्रधान मार्ग हो। सबल समाज तथा अनुकरणीय राष्ट्र निर्माणमा शिक्षाको भूमिका अतुलनीय हुन्छ। लेखक जोन डेवेको पुस्तक ‘डेमोक्रेसी एन्ड एजुकेसन’ अनुसार शिक्षाले देशमा लोकतन्त्रको स्वास्थ्य र समुन्नितमा समेत सबल भूमिका निर्वाह गर्दछ। व्यक्तिगत जीवनमा पनि शिक्षाका साधक र उपासकहरू नै सफल हुन्छन्।

हाम्रो बजेटको विशाल हिस्सा पनि शिक्षामै जान्छ। चालु वर्षमा समेत बजेटको लगभग ११ प्रतिशत शिक्षामा विनियोजन भएको छ। मन्त्रालयगत हिसाबमा यो सबैभन्दा अधिक हो। समृद्घ र सफल देश बनाउन सक्ने सबल जनशक्ति निर्माण त्यो खर्चको एकमात्र अनि अन्तिम अपेक्षा हो। यद्यपि यस्तो पुनितः कर्ममा सरकारको मात्र एकल पहल र अभ्यास प्रशस्त हुनै सक्दैन। सोही उद्देश्यमा होमिँदै देशमा निजी शिक्षालयहरू पनि अस्तित्वमा छन्। नेपालमा झन्डै १० हजार हाराहारीमा निजी विद्यालय भएको तथ्यांक छ।

तर पछिल्लो समयमा यस्ता निजी विद्यालयहरू सार्वजनिक सरोकारका अनेकन प्रश्नहरूले बेरिएका र घेरिएका छन्। वर्षै पिच्छे फेरिने पाठ्यपुस्तकहरू, महँगो शुल्क सबै विद्यार्थी र अभिभावकका लागि पेचिलो पक्ष बन्दैछ। अधिकांश निजी विद्यालयका संस्थापक र त्यसमा कार्यरत शिक्षक-शिक्षिकाको जीवनस्तरमा गहिरो बेमेल छ। यी विद्यालयमा कृषि चाहिँ ऐच्छिक र अंग्रेजी अनिवार्य हुन्छ। गाई, भैंसी, भेडा, बाख्रा पाल्ने हैन, कुकुर पाल्ने विचार श्रेयष्कर ठहर्छ। कपीदेखी जुत्तासम्मको व्यापार विद्यालय परिसर अथवा उनीहरूका पारिवारिक सदस्य वा नजिकका नातेदारका पसलमा नै लिनुपर्ने नरम एकाधिकारवादी चरित्र व्याप्त छ। गाई बाँध्ने स्कुलमा अध्ययन गर्नेहरूलाई देशको माया थियो, टाई बाँध्ने स्कुलमा पढेकाहरू निष्फिक्री देश छाडेर हिँडिरहेछन्।

केही अध्ययनले सहरकेन्द्रित निजी विद्यालयमा अध्ययनरत विद्यार्थी समाज र यसका अनेकन वास्तविकताबाट निकै टाढा रहेको पनि देखाउँछ। यदाकदा चिउरा कस्तो रूखमा फल्छ, गुन्द्रुकको बोट कस्तो हुन्छ भनेर सोध्ने विद्यार्थी भेटिन्छन् रे ! बिरुवाको स्याहार गर्नुपर्दा हाँगामा रंग, पातमा विभिन्न बुट्टा बनाउने तर पानी नहाल्ने पनि हुन्छन् रे ! सफा पारेर साग धुन लगाउँदा सरफ पानीमा साग डुबाउने गर्छन् पनि भनिन्छ।

अनावश्यक अंग्रेजी मोहको बोझ बोकाएर बालबालिकाको सिकाइको प्रारम्भिक आधार र स्वाभाविक क्षमता विध्वंश गर्ने विद्यालय बढ्दैछन्। कुनै एक स्तरमा पुगेपछि भाषा सिक्नु सही हो। तर हाम्रो समाज, परिवेश, संस्कृतिलाई आफ्नै भाषामा राम्ररी बुझ्न सकिन्छ। भाषा केवल माध्यम हो तर सोच, भावना र निष्कर्षचाहिँ क्षमता हो। अंग्रेजी सिकाउने नाममा बालबालिकाको सोच्ने शक्ति, विश्लेषणात्मक क्षमता नै बन्धक हुनेगरी शब्दमोहलाई प्राथमिकता दिने निजी विद्यालयले विद्यार्थीलाई गलत बाटोमा लगाइरहेछन्। अंग्रेजी बोल्ने मेसिन उत्पादन गर्ने विद्यालय बढिरहेछन्। अपनत्व, आत्मीयता, नेपालीपन, सामाजिकता तथा स्वतःस्फूर्त विचार उत्पादनलाई तिलाञ्जली दिने विद्यालय विद्यार्थीमैत्री हँुदैनन्।

अधिकांश मानिस घरमा पाहुना आउँदा बालबालबालिका बोल्दैनन्, घुलमिल गर्दैनन्, सामाजिक हुँदैनन् भनेर गुनासो गर्छन्। तर बोल्न चाहिँ अंगे्रजीको मात्र बोझ बोकाउने भएपछि बालबालिकालाई सामाजिकभन्दा एक्लोपना प्यारो लाग्न थाल्छ। दक्षिण कोरियाका एक लेखक ‘को’ले ‘सिक सोसाइटी, इल एजुकेसन’ नामक पुस्तकमा यस्तो शिक्षाको स्वभावमाथि बिहंगम चर्चा गरेका छन्।

अधिकांश निजी विद्यालयले विद्यार्थीलाई अनावश्यक किताबहरू र अव्यावहारिक व्यस्तताको बोझ बोकाएका छन्। बालसुलभ मनोविज्ञान, मानिसको सिक्न सक्ने क्षमताको प्राकृतिक नियममाथि उपहास भइरेहको छ। विद्यार्थीलाई गृहकार्यको नाममा स्वाभाविक रूपमा मानवीय स्वास्थ्यले माग गरे जति पनि सुत्न नदिने गरी बोझ दिने विद्यालयले उनीहरूमा सिकाइ र पढाइप्रति नकारात्मक धारणा जन्माइरहेछ। अधिकांश विद्यालयको सिकाइ गतिविधि अधिक बोझिलो छ। न त विद्यार्थीको उमेर र शारीरिक क्षमताले धान्न सक्छ न त उसले त्यसको महŒव अनि भविष्यमा त्यसबाट पाउने उपलब्धि आभाष गर्न सक्छ।

घरमा अभिभावकसँग बसेर छलफल गर्ने, सिकेका कुरा सेयर गर्ने, रिफ्रेस हुने, घरायसी काममा अभिभावकलाई सघाउने, विश्लेषणात्मक तर्क गर्ने कुरामा अभिप्रेरित गर्ने शैक्षिक अभ्यासले मात्र विद्यार्थीको खास विकासमा योगदान गर्छ। खेल्न, उफ्रिन, सहपाठी तथा साथीसँगीसँग भलाकुसारी गर्न र समाजमा घुलमिल हुन पाउने सयमले उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक र दीर्घकालीन परिपक्वता प्रदान गर्छ। निजी विद्यालयहरू यस्ता सत्यतामा अनुदार अनि निःसन्देह बनिरहेछन्। समाजका सम्भ्रान्त र उच्च वर्गका लागि पैसाको खोलो बगाउने विज्ञापन बन्ने दौडमा छन्।

यसरी, व्यावहारिकभन्दा विलासी बनिरहेका विद्यालय विद्यार्थीका लागि रहर र रोजाइभन्दा बोझ र कर बन्दैछन्। प्राप्तांकभन्दा आचरणगत परिपक्वता शिक्षाको रोजाइ हुनुपर्छ। जसबाट निजी क्षेत्रका शैक्षिक संस्थाहरू धेरै दुर्गममा छन्। ‘मल्टिटास्किङ’को नाममा बालसुलभ मनस्थितिमाथि बोझ बोकाउने पद्घतिको बर्खिलाप गरिनुपर्छ। अधिकांश निजी विद्यालयमा एउटा बालबालिकाले दैनिक अध्ययनमा सरदर ८ घण्टा बिताएपछि फेरि उसलाई संगीत, नृत्य, कराँते, पौडी, घोडाचढी देखी धनुषवाणलगायत अनेकन खालका सीपमा एकैचोटी संलग्न गराइएको देखिन्छ।

बालबालिकाको क्षमता, रुचि र आवश्यकता पहिचान नै नभै केवल देखासिखीका लागि उनीहरूलाई हरेक क्षेत्रमा सहभागी गराउनु गम्भीर असावधानी हो। क्षमता अभिवृद्घिको नाममा होस्टल राखेर बालबालिकाको अविरल पारिवारिक सामीप्यता र काख पाउने अधिकार हनन् गर्न अधिकांश निजी विद्यालय उद्यत् देखिन्छन्। पहिलेका विद्यार्थीहरू आधार कक्षाहरूमा कमजोर अथवा सामान्य भए पनि विस्तारै अनुभव र स्वःसिकाइले खारिँदै जान्थे। जुन बेलाको शिक्षाले उनीहरूको पेसागत जीवन निर्धारण गथ्र्यो त्यहाँ पुग्दा अब्बल बन्थे। त्यसमा मेहनत गर्दाको सुखद परिणामको आकलन गर्न सक्थे।

त्यसबेला त्यो शिक्षाप्रति रुचि जाग्थ्यो, मेहनत गर्थे र सफल हुन्थे। अहिलेका अधिकांश बालबालिकालाई विद्यालय स्तरमा नै यति बोझ बोकाइएको छ कि विश्वविद्यालय स्तरमा पुग्दा उसलाई पढ्ने लेख्ने कुरामा वितृष्णा र विरक्तिभाव उत्पन्न भइसकेको हुन्छ। जुन तहको शिक्षाले उसको पेसागत जीवन निर्धारण गर्ने हो। त्यहाँ पुग्दा उसलाई अध्ययनमा रुचि अनि आकर्षण नै रहँदैन। त्यही भएर अहिलेका अधिकांश विद्यार्थी विद्यालय स्तरमा एकदमै राम्रा देखिए पनि उच्च शिक्षामा गएर कमजोर बन्दै जाने र पेसागत चरणमा सामान्यतर्पm झर्ने तथ्यांक बढ्दो छ। यस्तो नियति निजी विद्यालयको उपज हो।

विश्वभर सर्वोत्कृष्ट विद्यालय शिक्षा मानिएका देशमा विद्यालय शिक्षा सजिलो र स्वाभाविक सिकाइको बाहुल्य भएको पाइन्छ। हाम्रोमा भने आधुनिक र गुणस्तरीय शिक्षाको आवरणमा थोपरिएको बोझले जीवनको गुणस्तर तथा स्वाभाभिकतालाई चुनौती दिइरहेको छ। सामान्य पूर्वाधार तथा आवश्यक शैक्षिक जनशक्ति भएको विद्यालय छ भने अन्य सबै भुलभुलैया त्यागेर बालबालिकालाई त्यस्तै विद्यालयमा राख्नु उचित हुन्छ। कठिन परि श्रम विद्यालय शिक्षा पार गरेपछि गर्नुपर्छ भन्ने सिकाउनुपर्छ। विद्यालयमा स्वाभाविक तथा सिकाइको प्राकृतिक नियमअनुसार सिक्न दिनुपर्छ।

ढुंगामाटोकोे घर हेर्दा चिटिक्क नदेखिएला तर दिगो हुन्छ र स्वस्थ्य पनि। अनि सिसाको महल हेर्दा भव्य देखिए पनि क्षणभंगुर। आधुनिक तथा गुणस्तरीय शिक्षाको नाममा निजी विद्यालयमा अभ्यास गरिएको देखावटी हाइफाईले हामीलाई यही दुःखान्त बाटोतिर डोहोर्‍याइरहेको छ। बालबालिकाको शिक्षण सिकाइ बोझिलो हैन, सजिलो हुनुपर्छ, घोक्न होइन, सिक्न दिनुपर्छ। अधिकांश निजी स्कुल योलगायत माथिका अधिकांश मापदण्डमा निक्कै कमजोर छन्। विद्यालयहरू निजी हुन् तर सरोकार अनि समस्या सार्वजनिक बन्दैछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.