श्रीकृष्णबाट सिक्नुपर्ने सन्देश

श्रीकृष्णबाट सिक्नुपर्ने सन्देश
फाइल तस्बिर।

हातमा चिटिक्क परेको मुरली। शिरमा मयूरको प्वाँख। ठूलो बगैंचा अनि त्यसमुनि अनेकन जीवजन्तु। यही परिदृश्यका साथमा गोपिनीहरूको मायामाबाँसुरीको मधुर धुनसँगै विराजमान छन्, श्रीकृष्ण। द्वापरयुगमा हिन्दु पञ्चांगअनुसार भाद्र कृष्ण अष्टमीको मध्यरात अर्थात् आजकै दिन मामा कंशको कैदमा रहेका पिता बसुदेव र माता देवकीको गर्भबाट उनको जन्म भएको थियो।

त्यसैले उक्त रात्रिलाई ‘मोह रात्रि’ पनि भनिन्छ। कृष्णलाई गोविन्द, कान्हा, कन्हैया, काले, मुरली मनोहर, श्यामसुन्दर आदि नामबाट पुकारिन्छ। उनका कथा र घटनाहरू वृन्दावन, मथुरा, यमुना र भूलोकमा चर्चित छन्। भगवान् विष्णुको आठौं अवतारको रूपमा श्रीकृष्णको जन्म भएको मानिन्छ। यस दिन हिन्दु धर्मावलम्बीले मनाउने वार्षिक पर्व हो, श्रीकृष्ण जन्माष्टमी। उनीहरूले श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाउने गर्छन्। श्रीकृष्ण जन्माअष्टमीको दिन नेपालभरका श्रीकृष्ण मन्दिरहरूमा भक्तजनको निकै ठूलो घुइँचो लाग्ने गर्छ। उक्त रात जाग्राम बसेर उनै कृष्णको आराधना गरिन्छ।

बाँसुरी बजाएर सबैलाई मन्त्रमुग्ध पार्न सक्ने उनै श्रीकृष्ण मुस्कानमा हर्ष, मनको सौन्दर्यता र सौम्यताको अद्भुत शक्ति कृष्णमा छ। उनको शिरमा मयूरको प्वाँख, गलामा सुगन्धित माला हुन्छ। यी सबैसँगै बिजुली चम्कँदा झैं चम्किलो देखिन्छन् उनी। ‘कर्म गर तर फलको आशा नगर’ भन्ने भाव गीतामा छ। काम कहिल्यै पनि ठूलो–सानो हँुदैन भनेर अनेकानेक त्यस्ता कार्यप्रति समानताको भाव कृष्णबाट सिक्न सकिन्छ। कर्म र फलबीचको सम्बन्धको व्याख्या प्रेरणाको रूपमा उदाहरणसहित श्रीकृष्णले भनेका थिए, ‘व्यर्थ चिन्ता किन लिन्छौ ? ’

अन्याय र अत्याचारबाट प्रताडित मानवको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा श्रीकृष्णको जन्म भएको पाइन्छ। उनै श्रीकृष्णले आजीवन सत्यको पक्षमा रहेर सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरु क्षेत्रमा भएको कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्ये एक अर्जुनलाई उपदेश दिने क्रममा श्रीकृष्णको मुखारबिन्दबाट व्यक्त श्रीमद्भागवत् गीता हिन्दु धर्मावलम्बीको पवित्र ग्रन्थ हो। ‘गीता’ नामले चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ।

श्रीकृष्णले बाल्यकालदेखि नै बडो विचित्रका लीलाहरू देखाए। पुतना, कंश, जरासन्ध, शिशुपालजस्ता दानवको जस्तो स्वभाव भएकाहरूको संहार पनि उनैले गरे। देवकी र बसुदेवका आठांै सन्तानको रूपमा जन्मिएका श्रीकृष्ण मथुराका यादव भृष्णी कुलमा जन्मिएका थिए। मथुरा भारतको उत्तर प्रदेश प्रान्तको एक जिल्ला हो। द्वापरयुगमा उग्रसेन नाम गरेका राजा थिए। उनका छोरा कंश र छोरी देवकी थिइन्। दाजु कंशले बहिनीको विवाह मित्र बसुदेवसँग गरी बहिनी ज्वाइँलाई पुर्‍याउन जाँदै गर्दा बाटोमा अकस्मात भविष्यवाणी भयो– ‘कंश तँ जसलाई पुर्‍याउन जाँदैछस्, उसकै आठौं गर्भबाट तेरो मृत्यु हुनेछ।’

अनि कंश तत्कालै बहिनीलाई मार्न तयार भए। त्यसपछि बसुदेवले भने, ‘बहिनी नर्मानुस् प्रत्येक सन्तान जन्मनेबित्तिकै तपाईंलाई टक्र्याउने प्रण (वाचा) गर्छु।’ प्रण गरेपछि कंश मान्न तयार भए। बसुदेव र देवकी दुवैलाई कारागार (जेल) चलान गरे। क्रमशः छैटौं पुत्रसम्मलाई जन्मनेबित्तिकै कंशले मार्‍यो। देवकीको सातौं गर्भलाई भगवती योगमायाले देवकीको गर्भबाट बसुदेवकी अर्की पत्नी रोहिणीको गर्भमा सारिदिनुभयो। शेषनागका अवतार मानिने बलराम देवकीको सातौं गर्भ भएर पनि रोहिणीको कोखबाट जन्मिए। सातौं गर्भ तुहिएको कुरा कंशलाई जानकारी पठाइयो।

पूर्वजन्ममा भगवान् विष्णुलाई सन्तानका रूपमा प्राप्त गर्ने वर पाएका देवकी र बसुदेवको आठौं गर्भका रूपमा भाद्र कृष्ण अष्टमीका दिन श्रीकृष्ण अवतरित भए। उनको जन्मसँगै चतुर्भुज रूपमा विष्णुको दर्शण देवकी र बसुदेवले प्राप्त गरे। तुरुन्तै आफूलाई गोकुलको नन्दबाबाको घरमा पुर्‍याउन र नन्दबाबाको घरबाट छोरीको रूपमा जन्मिएकी योगमायालाई कारागारमा ल्याउन हुकुम भयो। बसुदेवका हातमा लगाइएका हतकडीहरू अकस्मात आफैं छुटे। कंशका सैनिकहरू निन्द्रामा परे। ढोकाहरू आफैं खुले। घनघोर वर्षा भयो। यमुना नदी निकै कुर्लिएर बगिन्।

बसुदेव बल्लतल्ल गोकुल पुगी यशोधाकी सन्तान योगमायालाई लिएर कारागारमा आई बसे। बसुदेव कारागार आउनासाथ सबै सैनिक ब्यँुझिए। कंशले थाहा पाए कि बालिका जन्मिइन् जुन अबोध शिशुलाई देवकीको आठौं सन्तान मानी ढुंगामा बजारेका थिए। अचम्म ढुंगामा बजारिनुको सट्टा हावामा उडी योगमायाको रूप लिई स्थानान्तरित पो भइन्। कंशलाई मृत्युको चेतावनी दिँदै अदृश्य बनिन्। कंशले बुवा राजा उग्रसेनलाई पनि जेल हाले। त्सपछि उनले सम्पूर्ण प्रजालाई दुःख दिन थाले। धर्मकर्मको काम प्रायः ठप्प भयो। असुरहरूको शक्ति बढ्यो। सज्जनहरूलाई सहनै नसकिने पीडा हुन थाल्यो। जगत् सबै अस्तव्यस्त भयो। जगत्मा हिंसा र अशान्ति व्याप्त भयो।

यी सबै दृश्य श्रीकृष्णले नजिकबाट नियालिरहेका थिए। श्रीकृष्ण गोकुलमा दाइ बलरामसँग हुर्कंदै गइरहेका थिए। श्रीकृष्णले भने, ‘जब जब यो संसारमा धर्मको हानिनोक्सानी हुँदै गएर अधर्म हाबी हुँदै जान्छ, तबतब धर्मको रक्षा गर्न नयाँ अवतार लिएर आउनेछु।’ केही समयपछि श्रीकृष्ण मथुरा नै फर्किए र दाजु बलरामको सहयोगमा कंशको संहार गरे। यस कारण पनि हिन्दुहरूको महान् पर्व श्रीकृष्ण जन्माअष्टमीले उनको प्रिय बन्न धर्मको पालना गर्नुपर्ने हुन्छ। मन, वचन र कर्म अति नै पवित्र हुनुपर्ने हुन्छ। सत्कर्म, सत्मार्ग, सत्विचारसहित धर्मको मर्म बुझी सत्कर्म गर्दा सबैको कल्याण हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.