प्रहरीलाई प्रधानमन्त्रीले भने- अहिलेको सरकारले फलानोलाई समाऊ/ फसाऊ भनेर भन्दैन, ढुक्क भएर काम गर्नुहोस्
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनअनुसार काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौगोलिक पूर्वाधारहरूको समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले काम कर्तव्य अधिकारहरू निर्दिष्ट भएकाले ढुक्का भएर काम गर्न प्रहरीलाई निर्देशन दिएका हुन्।
'अहिलेको सरकारले फलानो अपराधी हो नसमाउ भनेर आदेश दिँदैन। अहिलेको सरकारले फलानोलाई फसाऊ भनेर आदेश दिँदैन। ढुक्कले काम गर्नु्होस्। निर्दोष मान्छेलाई फसाउनु र राज्यको शक्ति दुरूपयोग गरेर निर्दोषलाई दोषी करार गर्नेजस्ता क्रियाकलाप भनेका अपराधी क्रियाकलाप हुन्,'प्रधानमन्त्रीले भने,' यसैले कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन।'
प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने उल्लेख गर्दै उनले भने, 'झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन, तपाईंहरु कर्तव्यपालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नूस्, अवाञ्छित र अनुचित प्रभावमा नलाग्नूस् ।'
वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन निर्देशन समेत दिए।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार बेठिक प्रवृत्तीका ठाउँमा ठिक प्रवृत्तीलाई अगाडि बढाउन संकल्पका साथ गठन भएको जिकिर गरे। 'एउटा सरकारको ठाउँमा अर्को सरकार आयो। एउटा समीकरणका ठाउँमा अर्को समीकरण बन्यो होइन। एउटा प्रवृत्तीका ठाउँमा अर्को नयाँ प्रवृत्ती अस्थिरताका ठाउँमा स्थिरता। विभिन्न खालका बेठिक प्रवृत्तिका ठाउँमा ठिक प्रवृत्ती। ठिक प्रवृत्तीलाई अगाडि बढाउने संकल्पका साथमा यो सरकार बनेको हो,'उनले भने,'यो सरकारमाथि शंकाउपशंका गर्नुको औचित्य छैन।'