गण्डकीगाउँका यतिधेरै व्यावसायिक तरकारी किसानमा क्यान्सर कसरी ?

गण्डकीगाउँका यतिधेरै व्यावसायिक तरकारी किसानमा क्यान्सर कसरी ?

गोरखा : गण्डकी गाउँपालिकाले ६१ जना क्यान्सरका बिरामीलाई मासिक नियमित पाँच हजार रुपैयाँका दरले औषधि उपचार खर्च दिँदै आएको छ। त्यस्तै १५ जना मिर्गाैला फेल भई डाइलासिस गरिरहेका बिरामीलाई पनि भत्ता दिँदै आएको छ। 

सबैभन्दा धेरै वडा नं. २ मा १८ जना र वडा नं. ८ मा १५ जना यस्ता भत्ता पाउने बिरामी छन्। वडा नं. ७ मा सातजना र वडा नं. ६ मा ६ जना क्यान्सरपीडित बिरामी रहेको वडा अध्यक्षहरूले जानकारी दिएका छन्। 

बिरामी हुनेहरू सबै व्यावसायिक तरकारी किसानहरू हुन्। गण्डकी गाउँपालिकाका व्यावसायिक तरकारी किसानहरूमा बिगत चार÷पाँच वर्षयता क्यान्सर तथा मिर्गाैलाको रोग बढिरहेको गाउँपालिकाको स्वास्थ्य शाखाको तथ्यांकले देखाएको छ। ‘यी क्यान्सरका बिरामीहरू प्रायःजसो सबैजना व्यावसायिक तरकारी किसानहरू हुन्’, स्वास्थ्य शाखा प्रमुख कुमार सुनार भन्छन्, ‘के कारणले यस्तो भयो भनेर किटानका साथ भन्न त सकिन्न, तर असुरक्षित तरकारी खेती प्रणालीले गर्दा यहाँका किसानहरूमा क्यान्सर र मिर्गाैला फेललगायतका समस्या बढिरहेको हुनसक्छ।’ बिरामीहरूमध्ये अधिकांशलाई पाठेघरको मुखको क्यान्सर, घाँटी तथा फोक्सोको क्यान्सर हुने गरेको उनको भनाइ छ। 

वडा नं. ८ का एक वडा सदस्यले क्यान्सरको उपचार गराइरहेका छन्। छालाको संक्रमण भएका बिरामीको संख्या झन् उल्लेख्य रहेको पालिकाको भनाइ छ। ‘विशेष गरी दुई वर्षदेखि क्यान्सर, मिर्गाैलालगायतका नसर्ने रोगका बिरामीको संख्या बढिरहेको छ’, उनी भन्छन्, ‘तरकारी बालीमा रासायनिक मल र विषादीको अत्याधिक प्रयोग गर्ने गरेकाले यो अवस्था आएको हो कि भन्ने हाम्रो कच्चा बुझाइ छ।’ यो चिन्ताजनक अबस्थाबारे गाउँसभाहरूमा पनि पटक–पटक कुरा उठ्ने गरेको उनको भनाइ छ। ‘गाउँसभाहरूमा पनि यस विषयमा कुरा उठिरहन्छ’, उनले भने, ‘तरकारी बालीमा प्रांगारिक मल प्रयोग गर्न लगाउने, रासयनिक मल तथा विषादी प्रयोग गर्नुपरेमा पीपीई सेट लगाउनुपर्ने भन्ने नियम पनि बनाएका छौं।’ वडाहरूमा केही थान पीपीई सेट वितरण गरेको पनि उनले बताए। व्यावसायिक तरकारी किसानहरूमा क्यान्सर व्याप्त रहेको बारेमा विभिन्न संघसंस्थाले पनि अध्ययन अनुसन्धान गरिरहेका छन् तर प्रतिवेदन बुझाएका छैनन्।

हाम्रो पालिकामा दुई हजारभन्दा धेरै तरकारी किसान छन्। उनीहरू तरकारी बालीमा हेलचक्याइँपूर्वक रासायनिक मल र विषादीको प्रयोग गर्छन् । तुलसी रेग्मी, वडाध्यक्ष ७–गण्डकी गाउँपालिका 

क्यान्सरका बिरामीको संख्या बढ्नु चिन्ताजनक रहेको वडा नं. ७ का वडाअध्यक्ष तुलसी रेग्मीको भनाइ छ। 

‘हाम्रो पालिकामा दुई हजारभन्दा धेरै तरकारी किसानहरू छन्। उनीहरू तरकारी बालीमा हेलचक्याइँपूर्वक रासायनिक मल, विषादीको प्रयोग गर्छन्’, उनी भन्छन्, ‘जसले गर्दा आफू पनि बिरामी हुन्छन्, उपभोक्तालाई पनि बिरामी बनाउने सम्भावना छ।’ रासायनिक मल र विषादी प्रयोग न्यूनीकरणका विषयमा ठाउँठाउँमा होर्डिङबोर्डहरू राखेर जनचेतना फैलाएको उनले बताए। साथै पालिकाले विषादी न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू गरिरहेको उनले बताए। ‘अभियान त चलाएका छौं तर, प्रभावकारी भएको छैन’, उनले भने।

क्यान्सरका बिरामीको संख्या बढ्दै गएपछि गाउँपालिकाले बिरामीहरूको पहिचान गर्ने, खानपानमा सुधार, औषधि उपचार खर्चको दायरामा ल्याउने, अभिमुखीकरण गर्ने, सन्तुलित भोजनमा जोड दिने, विषादी रहित खानेकुरा खुवाउने, बिरामीको मनोबल बढाउने लगायतका कार्यक्रममा जोड दिएको स्वास्थ्य शाखा प्रमुख सुनारको भनाइ छ ।

विशेष गरी रासायनिक मल, विषादी छरेको भोलिपल्टै तरकारी टिपेर बजारमा लैजाने गर्दा किसान पनि बिरामी पर्ने, उपभोक्ता पनि बिरामी पर्न सक्ने अवस्था आएको वडा नं. ८ का अध्यक्ष कोकिल पुलामी मगरले जानकारी दिए। 

असुरक्षित तरकारी खेती प्रणालीले गर्दा यहाँका किसानहरूमा क्यान्सर र मिर्गाैला फेललगायतका समस्या बढिरहेको हुनसक्छ। कुमार सुनार, स्वास्थ्य प्रमुख, गण्डकी गाउँपालिका 

प्रायः किसानहरू तरकारी बारीमा अत्याधिक बढी मात्रामा विषादी र रासायनिक मल प्रयोग गर्न उद्धतरहेको स्थानीय सामूहिक कृषि उत्पादन सहकारी संस्थाका सचिव विजय रुपाखेतीको भनाइ छ। तर, यही विषादी र रासायनिक मलको प्रयोगले किसानमा क्यान्सर भयो भन्न नमिल्ने उनको तर्क छ। ‘तरकारी बालीमा अत्याधिक विषादी प्रयोग गरेको पनि सही हो, स्वास्थ्य शाखाले दिएको क्यान्सर पीडितको तथ्यांक पनि सही नै होला, तर विषादीकै कारण क्यान्सर भएको भन्नचाहिँ मिल्दैन’, रुपाखेती भन्छन्, ‘के कारणले यति धेरै किसान क्यान्सरबाट संक्रमित भए भन्नका लागि विशेष अध्ययन गर्नुपर्छ।’ 

प्रोफाइल

गण्डकी गाउँपालिका ७ की ४३ वर्षीया कमला कुमारी (नाम परिवर्तित) अचेल साहुको तरकारी बारीमा काम गर्न छोडेकी छिन्। ज्यानमा रोग पसेपछि उनी घर बाहिर हिँड्डुलबाहेक काममा निस्कन सक्दिनन्। कमला कुमारीलाई पनि क्यान्सर भा’छ रे भनेर छरछिमेकले अचेल शंकाको नजरले हेर्न थालेका छन्। त्यसैले कसैको सामु जुम्लुङ देखापर्न पनि मन लाग्दैन। 

कहिलेकहीँ वडा कार्यालयमा औषधि उपचार खर्च लिन भने आफैं जान्छिन्। नत्र उनलाई सिजन–सिजनमा साहुको तरकारीबारीमा काम गर्न जान भ्याइनभ्याइ हुन्थ्यो। आफ्नै तरकारी थिएन। साहुले धानखेत मासेर तरकारी लगाउँथे। यो सिजनमा टारीखेतको ठूलो पाटोमा बोडी, लौका, फर्सी, घिरौंला लटरम्मै हुन्थ्यो। राम्रो बजारभाउ पाइरहेकाले साहुले उनलाई नियमितजसो काममा बोलाउँथे। 

राम्रै दाम हात लाग्ने हुँदा झिसमिसेमै नित्यकर्म सकिवरी उनी साहुको तरकारीबारीमा जान्थिन्। यो सिजनमा बोडीले भाउ राम्रो पाउँथ्यो, उत्पादन राम्रो हुन्थ्यो, कामको चटारो हुन्थ्यो, उनको पोल्टामा नोट पनि राम्रै पथ्र्यो। हुन्थेन त केवल शिरमा शिरपोस, पाउमा पाउपोस, मुखमा मास्क, हातमा पञ्जा अनि ज्यानमा विषादी नछिर्ने सुरक्षित पोसाक।

राम्रो बजारभाउ पाइरहेका बेला तरकारीमा लागेको लाई र शत्रुकीरा देखेपछि उनलाई पनि झोक चल्थ्यो। अनि उनी कुनै जोखिमको पर्वाह नगरी पम्प बोकेर तरकारी बारीमा पस्थिन्। तोकिएको काम सक्नुथियो त्यसैले, उनी अबिराम तरकारी बारीमा खटथन्।

तरकारीमा विषादी प्रयोग गर्दा शीत नओबाइकन बारीमा नपस्नु भनेर तालिम दिनेले सिकाएको उनलाई थाहा हुन्थेन। बिहान शीत सुकेदेखि घाम नचर्किँदै विषादी प्रयोग गरिसक्नुपर्छ, अनि अपराह्नतिर घाम ओझाएपछि मात्र विषादी छर्कनुपर्छ। घामको राफमा विषादी छक्र्यो भने आफैंलाई असर पर्छ भनेर सिकाएको कार्यक्रममा उनले भाग लिनै पाइनन्। त्यसैले दिनभर चर्को घाममा विषादी छर्ने गर्थिन्। त्यसकै नतिजा अहिले देखिएको हो भनेर सबैले भन्छन्। 

बिरामी भएर काठमाडौं उपचार गर्न जाँदा डाक्टरले पाठेघरको मुखको क्यान्सर छ भनेपछि उनी छाँगाबाट खसेजस्तो भइन्। १० वर्षदेखि स्वास्थ्यको पर्वाह नगरी साहुको तरकारीबारीमा विषादी छर्केको झल्झली याद आयो। अहिले गाउँपालिकाले मासिक पाँच हजार औषधि खर्च त भर्छ, त्यसले निको हुने हो कि होइन, कसैले किटान गरेर भन्न सकेका छैनन्। बेलामा होस् नपुर्‍याएकोमा उनीसंग पछुताउनुबाहेक कुनै विकल्प बाँकी छैन।

 ब्यापक लापरबाही 

आम्दानीको लोभमा किसानहरूले स्वास्थ्यमा हेलचक्र्याइँ गर्ने गरेको तरकारी किसान ढुण्डीराज मरहट्टा बताउँछन्। सरकारी निकायले विभिन्न तालिम दिने गरेको भए पनि किसानहरूले व्यवहारमा नउतार्ने गरेको उनको भनाइ छ। ‘कुनै सिजनमा कुनै तरकारीले राम्रो भाउ पाइरहेको छ भने र त्यसमा लाइकीरा लागेको छ भने जसरी पनि त्यो कीरा मार्नुपर्छ भनेर जथाभावी विषादी प्रयोग गर्ने चलन छ’, मरहट्टा भन्छन्, ‘कृषि प्राविधिकले १० एमएल विषादी राख्नु भनेको छ भने पसलेले १५ एमएल राख्नु भनेर दिन्छन्। पसलेले १५ एमएल राख्नु भनेर सुझाव दिए भने किसानले २० एमएल राखिदिन्छन्। स्वास्थ्य देख्दैनन्, पैसा मात्र देख्छन्। यही समस्या हो।’ आजै विषादी राखेको तरकारी भोलिपल्ट बजारमा लाने गरेको पनि उनको भनाइ छ।

नियामक निकायको पर्याप्त निगरानी नभएको सामूहिक कृषि उत्पादन सहकारी संस्थाका सचिव विजय रुपाखेती बताउँछन्। ‘सरकारी निकायहरूले तालिम र आवश्यक सरसामान नदिएको पनि होइन, अर्गानिक उत्पादनका लागि जैविक मल बनाउने नीति नबनाएको पनि होइन तर, व्यवहारमा उतार्न सकिएको छैन’, उनी भन्छन्, ‘जसरी तालिम दिइएको छ, त्यो व्यवहारमा उतारिएको छ कि छैन भनेर बारम्बार नियमक निकायको अनुगमनको खाँचो छ।’ किसानकै लापरबाहीले स्वास्थ्यमा ठूलो समस्या देखापर्ने उनको निश्कर्ष छ।


स्वास्थ्य मन्त्रालयको ध्यान जानुपर्छ : सुशीलनाथ प्याकुरेल

केही वर्षअघि पाँचखालका किसानहरूमा क्यान्सर देखिएको चर्चा चलेको थियो। विषादीको बढी प्रयोगले क्यान्सर भएको घटनाबाट पाठ सिक्नुपर्छ।  उत्पादन वृद्धिका लागि कृषिजन्य एवं तरकारीमा रासायनिक मल, विषादीको प्रयोग अत्यधिक प्रयोग गरिरहेका छन्। 

सन्तुलन मिलाएर प्रयोग गर्नुपर्छ। तर, आवश्यक मात्राभन्दा बढी प्रयोग गर्नु कार्सिनोजेन हुन्छ। किसानहरूलाई यस सम्बन्धमा अनविज्ञ छन्। किसान मात्र होइन उपभोक्ता पनि पीडित छन्। स्वास्थ्यमा कति असर पर्छ ?    भन्ने बारेमा विचार गरिएन।  कृषि मन्त्रालयले यस सम्बन्धमा हेक्का राख्नुपर्छ।  उत्पादनमा फाइदा हुने ध्येयले स्वास्थ्यमा असर पर्ने गरी विषादीको प्रयोग गर्नुहुँदैन। खुला सीमाका कारण भारतबाट आयात भएका विषादीको परीक्षण हुन सकेको छैन। यस कुरामा कृषि मन्त्रालयले सचेतना गर्नुपर्ने जरुरी छ। विषादीको प्रयोगले  स्वास्थ्यमा परेको असरका बारेमा स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्छ।   कृषि लगायतका अन्य सरोकारवाला मन्त्रालय, निकायसँग समन्वय गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ। जनस्वास्थ्य ऐन,२०७५ अनुसार  स्वास्थ्य मन्त्रालयले आफ्नो नेतृत्वदायी भूमिका खेल्न सक्छ।   

(डा. प्याकुरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ हुन् ) 
प्रस्तुति: दिनेश  गौतम

विषादीमा पाइने कार्सिनोजेनले क्यान्सर गराउँछ : डा. अरुण शाही

हामीले बिर्सनै नहुने कुरा के हो भने विषादीमा कार्सिनोजेन तत्वहरू हुन्छन्।  क्यान्सर गराउने तत्वहरू भनेकै कार्सिनोजेन हो। अहिले  अन्नबाली एवं तरकारी उत्पादनमा वृद्धि गर्न  जथाभावि ढंगले विषादीको प्रयोग जुन किसिमले भइरहेको छ, त्यो स्वास्थ्यका लागि निकै हानिकारक छ। विषादीमा क्यान्सर गराउने कार्सिनोजिन भन्ने तत्वहरू पाइएको  विभिन्न अध्ययन, अनुसन्धानमा देखिएको छ। 

किसानहरूले कुन खालको विषादी प्रयोग गरिरहेका छन् ? कहिलेदेखि विषादीको  प्रयोग गरेका हुन् ? कति मात्रामा प्रयोग गरिरहेका छन् ? कृषि विज्ञको सुझाव पालना भएको छ÷छैन  ?   भन्ने बारेमा पनि अध्ययन अनुसन्धान गरेर मात्र निक्र्यौल निकाल्न सकिन्छ।

 गोरखामा मात्र होइन अन्य जिल्लामा पनि  विषादी प्रयोग गरिएको छ। शरीरमा  आवश्यकभन्दा बढी कोषिकाको अनियन्त्रित  वृद्धि नै क्यान्सर  हो। कोषिकाको अनावश्यक र अनियन्त्रित वृद्धिमा कार्सिनोजेन तत्वको मुख्य भूमिका हुन्छ। किसानहरूले विषादी छर्कंदा पनि सुरक्षा मापदण्ड अपनाएका हुँदैनन्। 

 व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) मात्र होइन सामान्य मास्कको  पनि प्रयोग गरेका हुँदैनन्। यसले पनि स्वास्थ्यमा असर परिरहेको हुन्छ। एकातिर व्यक्तिगत सुरक्षा नअपनाई विषादी छर्किरहेका हुन्छन् भने अर्कोतिर कति विषादी छर्कनुपर्ने हो अर्थात् विषादीको परिमाण बारेमा पनि अनविज्ञ हुन्छन्।

यस सम्बन्धमा किसानलाई ज्ञान पनि छैन। आवश्यक सचेतना पनि फैलाउन नसकिएको यथार्थ हो। जसका कारण क्यान्सर, मिर्गौला फेल हुने लगायतका  विभिन्न रोगहरू लाग्ने जोखिम बढ्दै गएको छ। क्यान्सर रोग लाग्नुमा अस्वस्थकर जीवनशैली, विषादीयुक्त खानपान पनि हो। रासायनिक मल, विषादीमा एन–नाइट्रोसो कम्पाउन्ड पाइने विभिन्न अध्ययनमा पाइएको छ। धेरै मात्रामा  रासायनिक मलको प्रयोग गर्नु पनि स्वास्थ्यका लागि घातक मानिन्छ। अत्यधिक रासायनिक मल, विषादीको असुरक्षित रूपमा  प्रयोग गर्ने र विषादीयुक्त तरकारी, अन्नको उपभोगले छाला, फोक्सो, पेट, लिम्फोमा लगायतका शरीरका विभिन्न अंगमा क्यान्सर हुन सक्ने जोखिम हुन्छ।

त्यसैले सरकारले रासायनिक मल, विषादीको प्रयोग कसरी भइरहेको छ ?    भन्ने बारेमा सरकारले अनुगमन गर्नुपर्ने जरुरी छ। गोरखामा एउटै गाउँमा देखिएको  क्यान्सर र मिर्गौला फेल भएको केसको सन्दर्भमा सम्बन्धित विशेषज्ञहरूलाई स्थलगत अध्ययन गर्न लगाउनुपर्ने खाँचो छ।   

गोरखाको गण्डकी गाउँपालिकाभित्रका ६१ जना कृषकलाई क्यान्सर भएको  र स्थानीय निकायले औषधि उपचार खर्च दिँदै आएको घटनाले जो कोहीको ध्यान तान्छ।  झन् क्यान्सर विशेषज्ञहरूको ध्यान तान्नु स्वाभाविक नै हो। एउटै गाउँका स्थानीय ६१ कृषकलाई क्यान्सर हुनुको मुख्य कारण विषादी नै हो भनेर अहिले यकिन गर्न गाह्रो हुन्छ।

स्थलगत रूपमा किसानलाई परीक्षण गरेर आवश्यक अध्ययन, अनुसन्धानपछि मात्र विषादीको प्रयोगले नै हो भन्ने प्रमाणित भएमा  यकिन साथ भन्न सकिन्छ। 

(डा. शाही क्यान्सर रोग विशेषज्ञ हुन् )
प्रस्तुति: दिनेश  गौतम

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.