विषादी प्रयोगमा सावधानी अपनाऔं
गोरखाको गण्डकी गाउँपालिकाका ६१ जना अहिले क्यान्सरपीडित छन् । अरू कतिपयलाई मिर्गाैला रोग लागेको छ । ती ६१ जनाको अर्काे समानता भनेको सबै किसान हुन् । सबैले व्यावसायिक खेती किसानी गर्दै आएका छन् ।
प्रारम्भिक अनुमान के भने तरकारी खेतीमा विषादीको प्रयोग गर्नाले नै उनीहरू क्यान्सर र मिर्गाैलाको रोगी भएका हुन् । ती सबैलाई गण्डकी गाउँपालिकाले बिरामी भत्ता दिने गरेको छ । मासिक पाँच हजार भत्ता बुझाएरमात्रै पालिकालाई चिन्ता दूर भएको छ । जनप्रतिनिधिहरू गाउँसभामा गाउँलेको क्यान्सर र मिर्गाैला रोग प्रभावबारे आवाज पनि उठाउँछन् । तर, उपायको खोजी
हुन सकेको छैन ।
व्यावसायिक खेती किसानी गर्दा विषादीको प्रयोग अत्यधिक हुने गरेको छ । छिटो फल्ने, ठूलो फल्ने र रोगकीराबाट बचाउने हुँदा किसान विषादीमा आकर्षित छन् । तर विषादीले त्यतिमात्रै गर्दाे रहेनछ, क्यान्सरै पनि लगाउँदो रहेछ, वा मिर्गाैला नै फेल गराउँदो रहेछ भन्ने उनीहरूलाई पत्तो भएन । विषादी हालेको तरकारीले किसानलाई मात्रै नभई उपभोक्तालाई पनि घात गर्छ ।
तर नेपालमा तरकारीको विषादी नापजाँच गरेरमात्रै उपभोक्ताकहाँ पुर्याउने चलनै छैन । भएका विषादीमापक यन्त्रहरू पर्याप्त र ठाउँठाउँमा छैनन् । प्रत्येक तरकारी बजारमा त्यस्तो यन्त्र हुनुपर्छ र सबैतिर जाँचिनुपर्छ । त्यसअघि नै चाहिँ किसानलाई विषादीमा कार्सिनोजेन भन्ने तŒव हुन्छ भन्ने बुझाइनुपर्छ ।
त्यसो त क्यान्सर लगाउने तत्व विषादीमा हुन्छ नभनिने पनि होइन, कतिपय ठाउँमा किसान वा विषादी विक्रेताले लापरबाही गर्छन्, हल्का रूपमा लिन्छन् पनि । भनिएको मात्राभन्दा बेसी हाल्छन्, छिटो, ठूलो र धेरै फलाउने लोभमा । अन्ततः परिणाम आफैंलाई रोग लाग्छ । खासमा विषादीको नियन्त्रण फितलो हुँदा नै देशभर यस्तो समस्या हुन सक्छ । गोरखाको गण्डकी गाउँपालिका एक्लो नहुन सक्छ, व्यावसायिक किसानलाई रोगी बनाउनेमा । जहाँजहाँ विषादी प्रयोग गरिन्छ, समस्या साझा हुनसक्छ । अध्ययनहरू कम भएका छन्, त्यसैले समस्या सार्वजनिक भएका छैनन् ।
तरकारीमा विषादी पूर्ण रूपमा रोक लगाउन सकिने अवस्था तत्काललाई छैन । तर विस्तारै कम गर्ने र पूर्णत अर्गानिक खेतीमा लैजाने गरी राज्यबाट पहलकदमी हुनुपर्छ । त्यस्तै नीति नियम बनाउनुपर्छ । र, विषादी नियन्त्रणमा कडा हुनुपर्छ ।