‘हाइटेन्सन’बाट करेन्ट लागेर मृत्यु
विराटनगर : विराटनगरमा ‘हाइटेन्सन’ लाइनबाट करेन्ट लागेर मंगलबार दिउँसो एक जनाको मृत्यु भएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले मोरङको बूढीगंगा गाउँपालिका–३ गंगाचोक घर भएका ४२ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको जानकारी दिए। कार्की विराटनगर महानगरपालिका–३ स्थित विराट हेल्थ कलेजका सवारी चालक हुन्।
कार्कीले विराटनगर–३ खार्जी चोकमा विराट श्री होस्टल सञ्चालनको तयारी गरेका थिए। होस्टलको उद्घाटन बुधबार थियो। होस्टलको ३ तलामाथि ‘वेल्डिङ’का लागि फलामको ‘पाइप’ तान्ने क्रममा बिहान ११:४५ बजेतिर कार्कीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ‘पाइप’ले विद्युतको ‘हाइटेन्सन’ लाइनको तार छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
उपचारका लागि विराट शिक्षण अस्पताल लगिएका कार्कीको दिउँसो १:३५ बजेतिर मृत्यु भएको डीएसपी बस्नेतले बताए। उनका अनुसार कार्कीले सञ्चालन गर्न लागेको होस्टलका सहयोगी पाँचथरको हिलिहाङ गाउँपालिका–६ का २९ वर्षीय बलबहादुर लिम्बू करेन्ट लागेर सामान्य घाइते भएका छन्। उनको उपचार भइरहेको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।