लघुवित्तमा आगजनी र तोडफोड

लघुवित्तमा आगजनी र तोडफोड
सुन्नुहोस्

विराटनगर : मोरङमा लघुवित्तका दुईवटा शाखा कार्यालयमा मंगलबार दिउँसो आगजनी र तोडफोड गरिएको छ। 

प्रहरीका अनुसार कानेपोखरी गाउँपालिका-२ दलेलीमा रहेको अभियान लघुवित्त र बेलबारी नगरपालिका-७ नयाँ बाहुनीमा रहेको नेशनल लघुवित्त वित्तीय संस्थामा आगजनी र तोडफोड भएको हो। अभियान लघुवित्तमा कानेपोखरी-२ कालीस्थानका रामबहादुर लिम्बूसहित १०/१२ जनाको संख्यामा पुगेको समूहले दिउँसो १२:४० बजेतिर आगजनी गरेको प्रहरीले जनाएको छ।  

अचानक लघुवित्तमा छिरेको समूहले कम्प्युटरको मनिटर र कागजात जलाएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दि । उनका अनुसार काठको कुर्सी तोडफोडसमेत गरिएको छ। घटनालगत्तै आगजनीमा संलग्नहरु फरार भएका थिए। 

प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामबहादुर लिम्बूसहित कानेपोखरी-२ की ३५ वर्षीया चन्द्रकला मगर, उर्लाबारी नगरपालिका-७ की ४० वर्षीया मीना रसाइली र ४३ वर्षीया राधा विश्वकर्मा रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा राखिएको छ। 

डीएसपी दाहालले फरार रहेका अन्य व्यक्तिहरूको खोजी तीव्र पारिएको जानकारी दिए। उनले घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको बताए। 
घटनामा संलग्नमध्ये केही व्यक्तिहरु त्यसअघि बेलबारीको नयाँ बाहुनीमा रहेको नेशनल लघुवित्त वित्तीय संस्थामा आक्रमणमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ। नेशनलमा बिहान ११:४० बजेतिर घटना भएको थियो। 

बेलबारी-६ का ५० वर्षीय माधव गिरीसहित ३०/३५ जनाको समूह प्रवेश गरेर नेशनलको कार्यालयमा रहेको ल्यापटप र कागजात पानीमा हालेर नष्ट गरिदिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार गिरीकी पत्नी ४५ वर्षीया पवित्रादेवी गिरी र छोरी २७ वर्षीया दोर्णकुमारी गिरी नेशनल लघुवित्तका सदस्य रहेको खुलेको छ। आमा-छोरीले नै त्यहाँबाट ऋणसमेत लिएको पाइएको प्रहरीले जनाएको छ । ऋण लिएका उनीहरूले तिर्न आलटाल गर्दै आएको लघुवित्तले जनाएको छ।  

पत्नी र छोरी ऋणी रहेको लघुवित्तको कार्यालयमा गिरीसहितको समूह प्रवेश गरी ल्यापटप र कागजात नियन्त्रणमा लिँदै सुनसरी-मोरङ सिचाई आयोजनाको नहरमा फालेर नष्ट गरिदिएको डीएसपी बस्नेतले बताए। उनका अनुसार घटनामा संलग्नहरूको पहिचान भइसकेको छ। घटनापछि फरार रहेका कारण खोजी तीव्र पारिएको जानकारी बस्नेतले दिए। 

नेशनल लघुवित्त शाखा कार्यालयका सेक्सन अफिसर नवीन सापकोटाले अचानक एउटा हुल प्रवेश गरेर आतंक मच्चाएको जानकारी दिए। ‘४/५ वटा बोरा लिएर आएका रहेछन्। लघुवित्तभित्र प्रवेश गरेर ल्यापटप, कागजातलगायतका कागजात धमाधम बोराभित्र हाल्न थाले। २ वटा बोरा हामीले खोसेर राख्यौं,’ उनले भने, ‘त्यसक्रममा कर्मचारीसँग धकेलाधकेल भयो। ल्यापटप र कागजात जलाउन पेट्रोल नै लिएर आएका रहेछन्। तर, सम्भव भएन।’

सापकोटाका अनुसार जलाउन सम्भव नभएपछि नहरको पानीमा फालेर त्यो समूह फरार बनेको छ। पानीमा हालेका कारण ल्यापटप र कागजात कामै नलाग्ने गरी बिग्रिएको उनले बताए। ‘हामीले कहिल्यै नदेखेका नयाँ मान्छेहरु आएका थिए। भीडमा रहेका २ जना मात्रै चिन्यौं,’ उनले भने, ‘अरुलाई चिनेनौं । तत्काल प्रहरीलाई घटनाको जानकारी गराएका छौं।’

मोरङमा भएका दुवै घटनाको जिम्मेवारी लघुवित्त तथा वित्तीय संस्थाविरुद्धको संघर्ष समितिका संयोजक मणिराम ज्ञवालीले लिएका छन्। संयोजक ज्ञवालीले लघुवित्तविरुद्ध मुलुकभर विभिन्न २५ स्थानमा प्रदर्शन गरिएको बताए। सरकारसँगको सहमति कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिएको उनको भनाइ छ। 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले चैत २ गते लघुवित्त पीडित संघर्ष समितिसँग ६ बुँदे सहमति गरेको थियो। सहमतिपछि संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको थियो। सरकार परिवर्तन भएलगतै संघर्ष समितिले आन्दोलन सुरु गरेको हो।  

सरकारसँगको सहमति कार्यान्वयन नभएपछि कडा संघर्षमा उत्रिएको ज्ञवालीले बताए। ‘सरकारसँग सहमति भएको थियो। तर कार्यान्वयन भएन। त्यसैले कडा संघर्षमा उत्रिएका छौं। साथीहरूले आक्रोशमा के-के गर्नुभयो हामी बु्झ्दैछौं,’ ज्ञवाली भन्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.