रथयात्राका क्रममा १४३ जना प्रहरी नियन्त्रणमा

रथयात्राका क्रममा १४३ जना प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

विराटनगर : विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्राका क्रममा चोरी र पकेटमारीमा संलग्न तथा शंकास्पद गतिविधि गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रथयात्राका क्रममा १ सय ४३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेकामध्ये १० जना महिला छन् । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले उच्छृङ्खल र शंकास्पद गतिविधि तथा चोरी र पकेटमारीमा संलग्नहरुलाई अनुसन्धानको दायरामा ल्याइएको जानकारी दिए । 

‘सबै जनालाई अहिले प्रहरीको नियन्त्रणमा राखिएको छ । थप कुरा बुझेपछि मात्रै कति जनालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने भन्ने टुंगो लाग्छ,’ उनले भने, ‘नियन्त्रणमा लिइएकामा केही भारतीय नागरिक पनि छन् । भीडभाडको मौका छोपेर चोरी तथा पकेटमारी गर्ने उद्धेश्यले उनीहरु विराटनगर आएको देखिन्छ ।’ प्रहरी नियन्त्रणमा रहेकाहरुका सम्बन्धमा थप कुरा बुझ्ने काम भइरहेको एसपी कार्कीले बताए । 

रथयात्रालाई लक्षित गरेर ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गर्दै विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षा सक्रियताकै कारण रथयात्रा भव्य, सभ्य, सुरक्षित र मर्यादित भएको छ । 

एसपी कार्की रथयात्रा अवधिभर सादा पोसाक र हतियारसहितका प्रहरी परिचालन गरिएको बताउँछन् । सादा पोसाकमा मात्रै १३ वटा टोली परिचालन गरिएको उनले बताए । यात्राका क्रममा चोरी र पकेटमारीका छिटपुट घटना भने भएका छन् । भक्तजनले लगाएका गरगहना तथा बोकेका मोबाइल र पैसा चोरी भएको हो । 

सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउँदै भक्तजनको सुरक्षामा ध्यान दिएका कारण रथयात्रामा ठूला घटना हुन नपाएको एसपी कार्की बताउँछन् । प्रहरीले केही दिन अघिदेखि नै शंकास्पद व्यक्तिहरु माथि निगरानी बढाएको थियो । 

ऐतिहासिक राधाकृष्ण रथयात्रा भव्य रूपमा सम्पन्न भएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा मंगलबार हजारौं भक्तजनको उपस्थिति रहयो । रथयात्राकै कारण विराटनगरमा मानवीय चहलपहल पनि अत्यधिक थियो । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट राधाकृष्णको युगल जोडीसहितको रथ दिउँसो ३:३० बजेतिर निकालिएको हो । रथयात्राले बजार क्षेत्रको ९ किलोमिटर यात्रा पूरा गरेको थियो । 

रथयात्रा तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर साँझ समापन भएको छ । यात्राका क्रममा रथलाई ४३ स्थानमा विश्राम गराइएको थियो । रथयात्रा सकिएलगत्तै उत्सवका रूपमा आतसबाजी गरिएको छ ।

विराटनगरको रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिँदै आएको छ । यो विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो । पछिल्लो रथयात्रा खटको ९३ औं र रथको ५६ औं संस्करण हो । रथयात्रालाई लक्षित गरेर कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थियो । 

राधाकृष्ण रथयात्रा हेर्न पूर्वी नेपालसहित छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट हजारौं भक्तजन आएको रथयात्रा समारोह समितिले जनाएको छ । करिब ५ लाख भक्तजनले रथयात्राको प्रत्यक्ष अवलोकन गरेको दाबी समितिको छ । रथको डोरी छोयो भने मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.