आज यी स्थानमा भारी वर्षा हुने
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहानबाट कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
आज राति कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
भारी वर्षाको पनि सम्भावना भएको क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।