कहिले बन्ला नेपाल ?

कहिले बन्ला नेपाल ?

भनिन्छ, १२ वर्षमा त बगेको खोला पनि फर्कन्छ। ज्योतिष विज्ञानको गणितले पनि १२ वर्षमा नै वृहस्पति ग्रहले सूर्यको एक फन्को पूरा गर्ने र त्यसले दुर्भाग्यलाई समेत सुभाग्यमा बदलिदिने सम्भावना माथि विश्वास गर्छ। तर यो देशको हकमा भने न बगेको खोला फर्कन सक्यो न त वृहस्पति ग्रहले आफ्नो कुनै चमत्कार नै देखाउन सक्यो। त्यस्ता १२ वर्षहरू कति आए कति ! देशको दुर्भाग्य कहिल्यै सुभाग्यमा बदलिन सकेन।

विक्रमको २००७ मा जब देश निरंकुश राणाहरूको चंगुलबाट मुक्त हुँदै थियो, तब बाजे पुस्ताले यो देश आफ्नै पालामा, आफ्नै आँखाअघि बन्ने सपना देखे। अब त यो देश बन्नबाट कसैले रोक्ने छैन भन्नेमा उनीहरू ढुक्क थिए। तर दुर्भाग्य, उनीहरूको सपना विपना नभई चकनाचुर भयो। तब फेरि बाजेपुस्ताको त्यो सपना बुवा पुस्ताले देख्न सुरु गरे। सपना देख्दादेख्दै बुवा पुस्ता पनि बाजे भइसके, सपना देख्ने आँखा डिलभित्रै हराइसके तर यो देश बनेको हेर्ने रहर उनीहरूको पनि पूरा हुन सकेन। तब बाजेले देख्न सुरु गरेको त्यो सपना उही विश्वास र व्यग्रताका साथ आज मेरो पुस्ताले देखिरहेको छ। तर फेरि विडम्बना मेरो पुस्तामा पनि २० वर्षमुनिका नवजवानहरूले भने यो देश बन्छ भन्ने सपना माथि विश्वास गर्नै सकेनन्। 

जताबाट जसरी हेरे पनि उनीहरूले यो देशमा आफ्नो भविष्य देख्नै सकेनन्। त्यसैले त प्रतिदिन दुई हजारभन्दा बढीका दरले उनीहरू नफर्किने गरी यो देश छाडिरहेका छन्। अब केवल यो देशमा दिनहँु खिइँदै गरेको एउटा सानो समूह छ जसले यो देश मेरै पालामा बन्छ भन्ने झिनो आशा लिएर यहीँ संघर्ष गरिरहेको छ।

दुर्भाग्य यो देशमा आजसम्म आएका कुनै पनि नेतृत्वले यो सानो समूहको झिनो आशालाई बलियो बनाउन सकेन। आज भन्दा ठीक ३० वर्षअघि अर्थात् सन् १९९४ मा एसियाली मुलुक भियतनामको कुल गार्हस्थ्य उत्पादन विश्व बैंकको तथ्यांकअनुसार १६.२९ विलियन अमेरिकी डलर र प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ८४१.५६ अमेरिकी डलर थियो। करिब २० वर्षसम्म चलेको युद्धको कारण क्षतवक्षत भियतनाम तत्कालीन समयमा अत्यन्त नाजुक अवस्थाबाट गुज्रिनु परेको थियो। तथापि सन् २०२३ को अन्त्यसम्म आइपुग्दा भियतनामले आफ्नो कुल गार्हस्थ्य उत्पादनमा २६.३७ गुणाले वृद्धि गरी ४२९.७२ विलियन अमेरिकी डलर पु¥याउन सफल भयो। विभिन्न समयमा भोग्नु परेको युद्धकै कारण तहसनहस अर्को मुलुक इराकले अत्यन्त कठिन परिस्थितिको बाबजुद पनि सन् १९९४ मा आफ्नो कुल गार्हस्थ्य उत्पादन ३.९९ विलियन अमेरिकी डलरबाट ६२.८६ गुणाले वृद्धि गरी सन् २०२३ सम्ममा २५०.८४ विलियन अमेरिकी डलर पु¥याउन सक्यो।

सन् २००० मा संसारकै तेस्रो गरिब मुलुक थियो, इथियोपिया। त्यहाँको कुल जनसंख्याको आधाभन्दा बढी गरिबीको रेखामुनि थिए। संसारभरका मानिसले गरिबी र भोकमरीको उदाहरण दिँदा अफ्रिका त पथ्र्यो नै त्यसमा पनि इथियोपियाको नाम झनै पहिला लिने गर्थे। त्यस्तो कहालिलाग्दो अवस्थाको इथियोपियाले कोरोना महामारी अघिको १५ वर्षसम्म औसत १० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेर संसारलाई नै आश्चर्यचकित तुल्यायो। अर्को यस्तो देश जसको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर सन् १९९४ मा अधोगतितर्फ झरेर –५०.२ प्रतिशत पुगेको थियो। जहाँ करिब सय दिनसम्म हुतु र तुत्सीको नाममा प्रत्येक एक मिनेटमा ६ जनाको हत्या हुने गरी नरसंहार भएको थियो। आङ नै सिरिंग हुने त्यस्तो कहालिलाग्दो अवस्थाबाट गुज्रिएको रुवान्डा सन् २०२४ को पहिलो त्रैमासिकसम्म आइपुग्दा ९.७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आज अफ्रिकाको सिंगापुर भनेर संसारमाझ चिनिँदै छ।

विश्व बैंकको पछिल्लो तथ्यांकअनुसार सन् २०२३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन ४०.९१ विलियन अमेरिकी डलर रहेको थियो। जबकि हाम्रोभन्दा जटिल र आधा बढी सानो भूगोल भएको भारतको उत्तराखण्ड राज्यको कुल गार्हस्थ्य उत्पादन ४२ विलियन अमेरिकी डलर थियो। यसैगरी, कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर सन् २०१६ मा ९ प्रतिशत, २०१९ मा –२.४ प्रतिशत र २०२३ मा ३.९ प्रतिशत हुनुले हाम्रो अर्थतन्त्र कति अस्थिर र अपरिपक्व छ भन्ने प्रस्ट हुन्छ। त्यस्तै, हाम्रो सरकारी ऋण सन् २०१५ मा घटेर कुल गार्हस्थ्य उत्पादनको २२.३ प्रतिशत भएकोमा सन् २०२३ को अन्त्यसम्म आइपुग्दा यो बढेर ४२.७ प्रतिशत पुगेको छ। एकातिर देशको कमजोर अर्थतन्त्र र अर्कातिर नेतृत्वको अकर्मण्यता हेर्दा यो बर्सेनि अझ बढ्दै जाने निश्चित छ। त्यतिमात्र होइन, यो देशको वैदेशिक व्यापारको अवस्था झनै कहालिलाग्दो छ। वर्षौंदेखि निरन्तर नकारात्मक रहेको हाम्रो व्यापार सन्तुलन आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तसम्ममा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८३ हजार ७ सय ७९ रुपैयाँको घाटा बेहोरेको छ। चीन, भारत, बंगलादेशजस्ता देशहरूले आफ्नो जनसंख्यालाई नै पुँजीमा रूपान्तरण गरेर समृद्धि प्राप्त गरिरहँदा हाम्रो देशमा भने शिक्षित बेरोजगारको संख्या दिनहँु बढ्दो छ। 

माथि चर्चा गरिएका देशहरू कुनै समय नेपालकै हाराहारीमा रहेका, संसारले तेस्रो विश्व भनेर छुट्ट्याएका अविकसित र गरिब मुलुकहरू थिए। ती कतिले कुनै बेला भोकमरीको हाहाकार भोगिरहँदा नेपालले भने अन्य मुलुकहरूमा धान निर्यात गर्दै थियो। तर आज ती देशहरूले विकास र समृद्धिमा छलांग मार्दै वैश्विक प्रतिस्पर्धामा नेपाललाई धेरै पछि पारिरहँदा यो देशलाई भने समृद्ध हुनबाट के ले रोक्यो ? संसारभर मेहनती र परि श्रमी भनेर चिनिएका जनता हुँदाहुँदै पनि यो देश बन्न नसक्नु के मेहनतकै कमी भएर हो ? कि यो देशका जनताले सही नेतृत्व छान्न नसकेर हो ? अथवा, कि यो देशलाई सतीले नै सरापेको हो ? 

संसारमा २० देखि ३० वर्षको छोटो अवधिमा जति पनि देशहरूले आज ठूलो आर्थिक प्रगति हासिल गरेका छन्, त्यो जादुको छडी चलाएर वा भाग्यवश प्राप्त गरेको सफलता हुँदै होइन। त्यो त सही समयमा, सही नीति र योजनामार्फत, शासक र शासित दुवैभित्र रहेको देश बनाउने व्यग्र हुटहुटीको व्यावहारिक रूपान्तरण हो। जुन यो देशमा आजसम्म देख्न सकिएन। वैश्विक अर्थतन्त्रको इतिहास हेर्दा ली क्वान यूले सिंगापुर बनाए, महाथिर मोहम्मदले मलेसिया बनाए, पल कगामेले रुवान्डा बनाए तर नेपाल चाहिँ कहिले र कसले बनाउने ? 


संसारमा २० देखि ३० वर्षको छोटो अवधिमा जति पनि देशहरूले आज ठूलो आर्थिक प्रगति हासिल गरेका छन्, त्यो जादुको छडी चलाएर वा भाग्यवश प्राप्त गरेको सफलता हुँदै होइन। वैश्विक अर्थतन्त्रको इतिहास हेर्दा ली क्वान यूले सिंगापुर बनाए, महाथिर मोहम्मदले मलेसिया बनाए, पल कगामेले रुवान्डा बनाए तर नेपाल चाहिँ कहिले र कसले बनाउने ?
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.