जङ्गली हात्तीको आतङ्क, रातभर जाग्राम बस्न बाध्य आरक्ष क्षेत्रका स्थानीय
इनरुवा : सुनसरी बराहक्षेत्र नगरपालिका–२ पुनरवासका पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराई नसुतेको एक हप्ताभन्दा बढी भएको छ । उनले एक हप्तादेखि राति सुत्नै छाडेका छन् । रातको समयमा जङ्गलमा दैनिक आउने जङ्गली हात्तीको गतिविधि निगरानी गर्नुपर्ने भएकाले उनी नसुतेका हुन्।
प्रत्येक रात ‘टर्चलाइट’ बोकेर हात्ती धपाउनुपर्ने आफ्नो दिनचर्या नै भएको उनको भनाइ रहेको छ । दिनभरि बाहिर काम गरेर रातिको समयमा खाना खाएर आराम गर्नका लागि आएका बेलामा दैनिक जङ्गलबाट आउने हात्तीका कारणले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले बताए। रातिको समयमा आउने हात्ती धपाउँदा धपाउँदै रात बित्ने गरेको उनको भनाइ रहेको छ ।
भट्टाई जस्तै बराहक्षेत्र–२, पुनर्वासका चन्द्रबहादुर मगरको अवस्था पनि उस्तै रहेको छ । दैनिक रुपमा कोशी टप्पु वन्यजनतु आरक्ष तथा अन्य जङ्गलबाट आउने हात्तीका कारणले समस्या हुँदै आएको छ । भदौ १२ गते मात्र बाहिरबाट गलेर आएका बेलामा खाना खाएर सुते पनि आएको हात्तीको समूहले घरमा क्षति पु¥याएको उनले बताए। यी दुईजना त मध्यवर्ती क्षेत्रका लागि उदाहरणका पात्र मात्र हुन्।
यस क्षेत्रमा दैनिक रुपमा आरक्षबाट आउने हात्तीको कारणले आर्थिक तथा भौतिक क्षति गर्ने गरेको छ । हात्तीबाट पीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको भए पनि त्यसले पर्याप्त भएको छैन । क्षतिपूर्तिले मात्र सबै समस्याको समाधान नहुने भएकाले दीर्घकालीन रुपमा यसको समाधान खोज्नका लागि पटक–पटक स्थानीयले माग गरेका छन् ।
कोशी टप्पु आरक्ष प्रशासनसमेत हात्तीका कारणले समस्या हुँदै आएको र यसबाट पीडित भएकालाई सुविधा सहज रुपमा उपलब्ध गराउँदै आएको जनाएको छ । साउनदेखि यता अहिलेसम्म एक सयभन्दा बढी घरपरिवारले क्षतिपूर्तिका लागि कोशी टप्पु वन्यजन्तु आरक्षमा सिफारिसका लागि आएको बराहक्षेत्र–२ का वडाअध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए। रासस