केही दिनअघि बिहानै राष्ट्रिय दैनिक ‘गोरखापत्र’ (घ) मा पढ्ने जुर्यो सु–अवसर। बिन्दु अधिकारी ढकाल बहिनीको चन्द्रमा जस्तै पूर्णिमा बदन चेहरा उज्याली फोटो चित्रानुहार हँसिली रचना पढ्ने अवसर जुर्यो ! गोरखापत्रको ग्राहक बन्नुको सौजन्य ! सुजन हृदयबाट बुर्लुकिन्छ सौजन्य ! थाहा भएर नि कोट्याउनु न चिमोट्नु हो न त निमोठ्नु नै। लेखनशैली विन्यास मात्र ! अन्तराल मौन संकेत गर्छ, गरिरहन्छ यस्तै यस्तो।
३७ वर्षपहिले आत्मभरोसी नै थिएँ। आत्मभरोसीको पर्याय साहसी। उमेरले बनाउँदो रहेछ, साहसिलो। साहसले शक्ति स्रोत उद्भव गर्दो रहेछ प्राणी–पर्यन्तमा। आत्मनुभूति आफ्नै यो। अरू थोक नसके नि आफ्नै अनुभूति किन संकुसनमा सेलाउने ? अन्तःस्करणले झक्झकाइरहन्छ। यस्तै के गरुँ ? के भनूँ ? बरु कनिकुथी लेखुँ !
३७ वर्षको अन्तरालमा देखें, अन्तर आकाश–जमिन झैं त्रिपुरासुन्दरी त्यसताका। न गाडी गुड्ने बाटो...। न त झिलिमिली बिजुली। भक्तपुर नगरपालिका त्यसताका झिलिमिली दुवै मानवकृत पाला दियो, दोस्रो प्राकृतिक वरदान। उसबेला नाङ्लोभरि कालीमाटीको आलो भिजेको पालामा तेल हालेर सलेदो बालेर। दोस्रो प्राकृतिक झिलिमिली बत्ती। अचेल ती प्राकृतिक झिलिमिली चहकमहक भेटदनँ। ती झिलिमिली जूनकीरी।
बुढ्यौली आँखामा... मेघ छैनन्। नयाँ सन्ततिलाई सायदै थाहा हुँदो हो...। नयाँ पुस्ताले नपाउँदो थाहा शुद्धि– जूनकीरी। बिलुप्त हुनु। लाग्छ, वैज्ञानिक मल प्रदाय– युरिया, फस्फोरस आदि। निमिट्यान्न सखाप पार्दा रैछन् –जैविक तत्त्व। देखिन्नन् अहिले जूनकीरी पदार्थ। माटोमा मात्र सीमित छैन, बरू प्राकृत जैविक तत्त्व सबै बिनाशकारी रहेछन्। वैज्ञानिक खोजीनीति कल्ले–कहिले गर्ने ? कतै चाईंचुईं छैन। सायद नास्क (नेपाल एग्रोनोमिकल्चरल कर्पोरेसन) नेपाल कृषि अनुसन्धान केन्द्र चासो चनाखो राख्दो हो। म झैं अइरे–गइरेको कल्ले गर्लान् चासो...! बालिक मताधिकारी अइरेगैरेहरू नै त छन्।
पाखुरीकसी जुर्मुराए के गर्ने ?
‘सम्झनु काम गर्दा कुन कुन चिज हुन् सम्झनु काम गर्दा...।’ कवि शिरोमणि स्व. लेखनाथ पौड्यालका वाणी मुखरन यो झलमल झल्किन्छ। मनभित्र आफ्नै अहोरात्र !!! जुम्लाको खलंगा नेपालगन्जबाट डोल्पाको खलंगासम्म नेपाल एयरलाइन्सको चिलगाडी (एयरप्लेन) बाट उत्रें। त्यस उपरान्त त पैदल सवारी लुखुरलुखुर। दुने भेरी नदीकिनार वारिपारि बस्ती। तत्कालीन प्रमुख जिल्ला अधिकारी तालुक मन्त्रालयदेखि नै चिनेका। एक रात डुने सरस्वतीतिरमा बास बसी भोलिपल्ट बिहानै भेरी नदीको मुहान् से–फोक्सुण्डो ताल लक्षित पदमार्ग तताएँ।
प्रजिअ महोदयले एक सबल जीउडालका पथप्रदर्शक भार वाहक जुराइदिनु सौजन्य थियो। दिनभरको थकान घरबाट बनाएको मसलादार सातु तातोपानीसित खाँदाको स्वाद अहिले झैं लाग्छ। पैदल भ्रमणको रौनक छन् अनेक। जति शैलशिखर उक्ल्यो उत्ति नै शिला चुचुरोको सौन्दर्य आकर्षक। कुनै चुचुरो श्रीपेच आकारका कुनै अकल्पनीय शालिग्राम आकारका काला–पत्थर। हिँडाइले थाकेर चूर जीउ पुनर्तागीकरण भइन्दोछ।
‘प्रसिद्ध त्रिपुरासुन्दरी’ पढ्दा बिन्दुजीले अंकित गर्नु भएको पढ्दै गर्दा ‘संसार एउटा किताब... यहाँ हिँड्नु, डुल्नु, अवलोकन गर्नु पढेजस्तो। ...भनिन्छ यात्राले मानिसको भाग्य उदय हुन्छ। आशा पलाउँछ, विश्वास जगाउँछ। जस्तो कि बर्तुन थपेको दियो।’ यी हरफहरूले मगनमस्त अध्येता, तर्कयुक्त कथन, भावुक–कल्पनाशील कविका पृष्ठपोषणकारी मनमस्तिष्कधारी प्रतीत गराउँछ।
पाठक समाजको आफ्नै दायित्व हुन्छ। नकारात्मक सोचले ग्रसित पाठकले नयाँँ पुस्तालाई संवद्र्धन गर्नु साटो हतोत्साही पार्छ। मलाई नकारात्मक सोचमा भन्दा सकारात्मक पहल कर्म मन पर्छ।
३७ वर्षअगाडिको त्रिपुरासुन्दरी र अहिलेको आनकातान नै अन्तर अनुभूत हुन्छ। भयो नै त्यसताका एक उद्देश्य उन्मुख लक्ष्यमा पुगेको। केवल भ्रमण मात्रै निसान थिएन। तत्काल स्थानीय महाजन मोलीलालजीले स्कुल पुस्तकालय कक्ष निर्माणस्थल देखाउन लानुभयो। एनडीएस (नेसनल डेभलपमेन्ट सर्भिस) अन्तर्गत कविवर केदारमान ‘व्यथित’का माइलो छोरो ठूलो चट्टान खन्दै प्वाल पार्दै गरेको देखें। उहाँको नाम कण्ठस्थ भएन। ठूलो खड्कुलोभरि गहत भतभती उमालेर चट्टान खन्दै गरेको प्वाल लामो फलामे डाँडूले खाल्डो भर्दै थिए।
ए भाइ के गर्दै हुनुहुन्छ ? भत्भती उम्लँदो गहतको झोलले चट्टान चरक्क चर्काउँदो ज्ञान आर्जन गरें। पित्तथैली÷मिर्गौलाका पत्थर फुटाल्न आयुर्वेद कविराजहरूले गहलको झोल सेवन गर्न सल्लाह दिन्थे। आफ्नै टोल छिमेकी प्रजापतिले गहतको झोल सेवनले चरक्क पत्थर फुटाएको कानमा परेको सुनाएथे। तैपनि हामै्र समाजमा ‘जात फाल्नु गहतको झोलमा’ उखान किन र कसरी चले चलाए खोजीनीति गर्नै छ।
संगीतभित्रका विसंगतिहरू। विसंगतिसितका संगति मानव समाजका कमजोरी। कमजोरीसितका सबलताहरू सर्बत समान छन् घोलिएका। सभ्यता शृंगार हुन् भन्छु। विवेच्य छन्। सदा काल नियाल्दै पर्गेल्नु करामत भनुँ कि मानव चेतका धनसार ? आआफ्नै धारणा समाजको संस्कार।