मनहरूको समारोहबाट साझा निष्कर्ष निस्कियो। मनहरूको सन्नाटाबीच बुद्घवाणी घन्कियो– अप्प दीपो भवः।
मूर्त ईश्वर !
चिन्त्य ईश्वर !
मनले भर्खरै अमूर्त ईश्वरको स्थापत्य दर्शन गर्यो र मनमनै सोच्यो –ईश्वरको अनुपम अनुकम्पा निरन्तर प्राप्त भइरहोस्।
– ईश्वरीय आशीर्वाद !
– ईश्वरीय सद्भाव !
– ईश्वरीय प्रेम !
निरन्तर पाइरहने सपना बोक्यो। आफूलाई नित्य निरन्तर यो भक्तिमा एकाकार गर्ने प्रण गर्यो।
– अर्को मन ईश्वरको अगम्य अस्तित्व आंशिक स्वीकार गर्यो– चुपचाप बस्यो। एउटा मनले ईश्वरप्रति घोर अनास्था फैलायो र ईश्वरको विपक्षमा उचालियो। ईश्वरप्रति धावा बोल्यो। ईश्वरको उछितो काड्यो। कतिपय मनहरूले उसलाई अधर्मी सम्झे र अज्ञानी ठाने अनि विधर्मीको संज्ञा दिए।
ईश्वरको पक्षमा उभिनेहरू छन्।
ईश्वरको विपक्षमा उभिनेहरू छन्। तथष्ट बस्नेहरू छन्।
– चिन्त्य ईश्वर ! बोल्छ र सुन्छ र हेर्छ र प्राण छ र सत्य
र असत्य छुट्ट्याउँछ।
– अचिन्त्य ईश्वर ! बोल्दैन र सुन्दैन र हेर्दैन र निष्प्राण छ र सत्य र असत्य छुट्ट्याउँदैन। कल्पनातीत छ।
ईश्वर भन्नासाथ मन शून्य–शून्य हुन्छ। ईश्वरको अस्तित्वबाट मन पर–पर भागिरहेछ। महाशून्य हुन्छ मस्तिष्क ! शरीरमा जिरिङ–जिरिङ काँडा उम्रिन्छ। मन असम्पृक्त बनिदिन्छ। चुपचाप सुनिदिन्छु ईश्वर। मानिसको चेतनामा बसेको ईश्वर कसरी हटाउन सकुँला ?
– ईश्वर त भित्रभित्रै सल्किरहेको भुसको आगो हो। यसले व्यक्तिमात्रै होइन, समाज नै जलाउँछ। समाज जलाउनु भनेको देश जलाउनु हो। देशहरू यसैगरी जल्दै जाने हो भने यो आगो कहाँ पुग्दैन ? मनको जुलुसबाट एउटा चर्को आवाज निस्कियो।
– ईश्वर अस्तित्वहीन अस्तित्व हो। मनहरूको समारोहको निचोड हो यो।
भागेर कतिपय मनहरू ईश्वरको अस्तित्व स्वीकार गरिरहेका छन्। हलुंगे झैं कुच्चिएको निधारमा ईश्वरको आशीर्वाद थापिरहेका छन्। कलेटी परेका ओंठहरूमा ईश्वरको अस्तित्व टाँसिरहेका छन्। मन्दिरमा भोकको ईश्वर खडा गरेर भ्रमको कनिका छरिरहेका छन्। मनहरूको समारोहमा प्रवचन दिँदै मस्तिष्कमा ईश्वर जगाइरेका छन्– धर्मगुरुहरू !
मनहरूले धेरैअघि मनलाई तर्साउन ईश्वरको आख्यान रच्यो। पढ्नेहरू आख्यानको पात्रसँग तर्सिन थाले। आफैंद्वारा सिर्जित पात्रको चरणस्पर्श गर्न लागे मनहरू।
सुखमा र दुःखमा र पीडामा र भावमा र अभावमा मनहरू ईश्वर अस्तित्व निर्माणमा उभिए।
– ढुंगामा ईश्वरको खेती गर्यो।
– पानीमा ईश्वरको थपना गर्यो।
– आकाशमा ईश्वरको अस्तित्व स्वीकार गर्यो।
– माटोमा र बाटोमा र जलमा र थलमा र सूर्यमा र चन्द्रमामा र तारामा र ग्रहमा र इन्द्रेणीमा र वायुमा र शून्यमा र शक्तिमा र सौन्दर्यमा र आकारमा र निराकारमा ईश्वर निर्माण गर्यो।
ईश्वरसँग अभिशप्त छन् मनहरू
ईश्वरसँग निस्शब्द छन् मनहरू
ईश्वरसँग सन्तप्त छन् मनहरू
ईश्वर रचेर आफैंभित्र स–संकित छन् मनहरू !
खण्डित सपना बोकेर हिँडिरहेका छन् मनहरू !
मस्तिष्कमा ईश्वर बोकेर हिँड्ने अभ्येषणाहरू छन्। आफ्ना कयौं ऊर्जालाई भक्तिमा बदलेर रामनाम गाउनेहरू छन्।
गतिशीलता रोकेर खुट्टा तन्काउनेहरू स्वर्ग र नर्क र बैकुण्ठ निर्माण गरिरहेछन्। सन्ततिका आँखामा कोरिरहेका छन्–
अमूर्त ईश्वरको चित्र।
मनमा मृत्युको भय छ।
केवल मृत्युको भयमा बाँचिरहेको छ, ईश्वर !
त्रासको स्वैरकाल्पनिक (फेन्टासी) आकृति हो, ईश्वर ! कायरहरूको आड र भरोसा हो, ईश्वर ! मनहरूको समारोहमा अनेकौं मनहरूको मन्थन चलिरहेको छ। जब–जब आस्तिक मन बोल्छ। पल्लो छेउबाट नास्तिक मन चिच्याउँछ– ईश्वर विश्वको सबैभन्दा ठूलो भ्रम हो। ईश्वर मानिसको तरंगित कल्पना हो। ईश्वर त मानव चेतनाको अभेद्य भ्रान्ति हो। अदृश्य र अप्राप्य र अमूर्त आभास मात्रै हो।
नित्सेले जलाइसकेको छ– ईश्वर !
विज्ञानले अस्वीकार गरिसकेको छ, ईश्वर !
ईश्वर सापेक्ष होइन, निरपेक्ष छ।
संसार सापेक्ष होइन, निरपेक्ष छ। हरेक मानिस एउटा सत्ता हो। यो भूतलमा सबैभन्दा खँदिलो चैतन्य हो। आफैंमा विचार हो। दर्शन हो। समयसापेक्ष चिन्तन हो अनि नूतन धारणा हो। मानिस पञ्चतत्त्वले बनेको क्षणभंगुर र नाश्वर प्राकृतिक शक्ति हो। प्रकृतिको सर्वाेत्तम सिर्जना हो। मानिस आफैंमा ईश्वर हो। हरेक मानिसभित्र स्व–ईश्वर विराजमान छन्।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैं ‘मानिस स्वयं ईश्वर हो।’ ईश्वर छन् भने मानिसको करुणामा छन्। विशाल काया भएको हृदयमा छन्। मानवीय दयामा छन्। करुणामा छन्। मानवीय सेवामा छन्। आदरमा छन्। सद्भावमा छन्। सह–अस्तित्वमा छन्। मित्रतामा छन्। भाइचारामा छन्।
– वसुधैव कुटुम्मा छन्। वैश्विक चिन्तनमा छन्
र समभावमा छन्।
– मनको सुन्दर सिंहासनमा जगदीश्वरको राज देवकोटा मानिसको मनमा ईश्वरको बासस्थान देख्छन्। उनले मानिसलाई ईश्वरको दर्जा दिएका छन्।
खै ? यो मनले पनि देवकोटा मार्ग पछ्याउँछ।
अदृश्य ईश्वरको अस्तित्व स्वीकार गर्न कसरी तयार
होला मन ?
– वादे वादे जायते तत्त्वबोधः
ईश्वर सत्य हो, तथ्य होइन।
– हामीले सानो छँदा सिंह र खरायोको कथा पढेका थियौं। जहाँ एउटा खरायोले सिंहलाई झुक्याउँदै इनारमा पुर्याउँछ। सिंहले इनारमा आफैंजस्तो सिंह देख्छ। अनि सिंह इनारको सिंहलाई देखेर झम्टिँदै इनारमा हामफाल्छ। त्यहाँ इनारमा सिंह देखिएको ‘सत्य’ हो तर तथ्य होइन।
ईश्वर पनि सत्य त हो यद्यपि तथ्य होइन।
ईश्वर निर्जीव हो।
निष्प्राण हो।
ईश्वर निर्जीव भएकाले उसले सुन्दैन र भाषा बुझ्दैन र संकेत जान्दैन र आफ्नो–पराइ चिन्दैन र ऊ त केवल जडमात्रै हो। जब ईश्वर सुन्दैन, जान्दैन, चिन्दैन भन्ने थाहा पाउँदा पाउँदै ईश्वरको अभ्यर्चना गर्छाैं – दोषी को ? ईश्वर कि हामी ? विज्ञान बुझेको मन बोल्यो।
ईश्वरीय विवादमा– परबाट अर्को शालीन मन खिस्स हाँस्यो।
उनीहरूको ‘आस्था’ र ‘अनास्था’मा मानिसहरू विभक्त भए। केही मानिस न ईश्वरको नजिक रहे। न ईश्वरको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा गरे ! ईश्वर स्वीकार्ने मनहरू हरेक कुरामा ईश्वर देखाउँछन्।
– जन्ममा ईश्वर !
– मृत्युमा ईश्वर !
– सम्पन्नतामा ईश्वर !
– अभावमा ईश्वर !
– पीडामा ईश्वर !
– हाँसोमा ईश्वर !
– आँसुमा ईश्वर !
– प्रेममा ईश्वर !
– बिछोडमा ईश्वर !
– जयमा ईश्वर !
– पराजयमा ईश्वर !
‘मनहरू’ ‘ईश्वर’ देखाएर भागिरहेछन्। जस पनि ईश्वरलाई र अपजस पनि ईश्वरलाई दिनु कत्ति न्यायोचित हुन्छ ? मनहरूको समारोहबाट अलिक विद्रोही ‘मन’ चिच्याउँदै बोल्यो।
ooo
ईश्वरको विरोधमा उठेका छन् हातहरू जुट्दैछन् – मनहरू !
यत्ति हो जति उठ्नुपर्ने हो उठिसकेका छैनन्। जति जुट्नुपर्ने हो जुटिसकेका छैनन्। समयलाई ईश्वरको त्रास देखाएर ठिगुरामा हाल्न कतिञ्जेल सकिन्छ ? आस्था हो। आस्था त भिक्षुको स्वरूपमा पनि गर्न सकिन्छ। बुद्धको पथबाट पनि गर्न सकिन्छ। सेवाको मार्गबाट पनि गर्न सकिन्छ। बुद्ध बनेर, गान्धी बनेर, मण्डेला बनेर, फ्लोरेन्स नाइटिंगेल्स भएर, होचिमिह्न बनेर, ली क्युआन बनेर !
म मनको भीषण मौनता नियालिरहें।
मानिसहरू विभक्त छन्।
उनीहरूको चिन्तन विभक्त छ।
मन विभक्त छ।
विचार विभक्त छ।
दर्शन विभक्त छ।
सौन्दर्य विभक्त छ।
शक्ति विभक्त छ।
भक्ति विभक्त छ।
अनेकौं चिन्तन र अनेकौं चेतना र अनेकौं चरित्र र अनेकौं आयाम र अनेकौं चर्तिकलामा टुक्राटुक्रामा विभाजित छ यो ब्रह्माण्ड। मानिस चेतनाको पुञ्ज हो। विचारको वैभव हो। अनुभवको आलोक हो। अनुभूतिको गहिरो अनुशीलन हो।
ईश्वर छ र ईश्वर छैन !
ईश्वर हो र ईश्वर होइन !
अस्तित्व स्वीकार गर्नेहरू छन्। अस्तित्व अस्वीकार गर्नेहरू छन्। ईश्वर मान्नेहरू छन्। ईश्वर नमान्नेहरू छन्। मनहरू विरोधमा छन्। मनहरू समर्थनमा छन्।
ईश्वर हामीलाई के चासो ? ईश्वरको चासो नगर्नेहरू पनि छन्। ईश्वरको पछि नलाग्नेहरू पनि छन्। आँखा चिम्म गर्छु र हेर्छु हृदयको यो अनन्त गहिराइ। बाहिरी आँखाले हेर्ने त निश्चित दूरी छ र निश्चित परिधि छ र निश्चित रंगहरू छन् र निश्चित परिवेशहरू छन्। आँखा चिम्लेर हेर्दा अनन्त छ दृश्य। अथाह छ परिवेश। अगणित छ परिधि। अलिखित छन् रंगहरू !
ईश्वर मानव निर्मित एक त्रास हो। बुद्धले ईश्वरको परिकल्पना कहिल्यै स्वीकार गरेनन्। बुद्ध भन्छन्, ‘ईश्वर एउटा कल्पनामात्र हो। त्यसैले ईश्वरलाई मान्नेहरू धर्मपन्थहरू उपयोगी छैनन्।’
अब म कसरी विश्वास गरुँ ईश्वरीय अस्तित्व ?
आधुनिक विज्ञानमा विश्वास नगरुँ हामीले पाएका प्राप्तिहरू गुम्ने त्रास। विज्ञानले प्राप्त गरेका उपलब्धिहरूबाट आफूलाई कसरी वर्जित गर्न सक्छु। बरु मृत्यु स्वीकार्य छ विज्ञान अस्वीकार्य हुनै सक्दैन।
विज्ञान बिना संसार अपूर्ण छ।
ज्ञान बिना मानिस अपूर्ण छ।
विवेक बिना मानिस अपूर्ण छ।
यो आधुनिक युगमा ज्ञानहीन मानिस एक निमेष पनि टिक्न सक्दैन।
ईश्वरसँग अभिभूत मन भन्छ– यो संसार ईश्वरीय शक्तिले बाँधेको छ। यो सम्पूर्ण चराचर जगत् ईश्वरको लीला हो। खै, किन हो मनलाई म बाँध्न सक्दिनँ। त्यो अदृश्य शक्तिसँग मेरो कुनै मोह छैन। मभित्रको मन भडकन्छ।
केही मानिसहरू ईश्वरको अपरम्पार शक्तिमा चुर्लुम्म डुबेर, नित्य भक्तिमा लीन रहे। जीवनको शाश्वत सत्य नै ईश्वरीय भक्तिमा र अनुष्ठानमा लगाए। कयौं मानिसहरू गहन आस्थामा प्रलिप्त भए। ईश्वरीय सुख र ईश्वरीय आस्था र ईश्वरीय अध्यात्म र ईश्वरीय चिन्त्य !
ईश्वर मानिसहरूको आस्था।
ईश्वर मानिसहरूको जीविकोपार्जन।
ईश्वर मानिसहरूको खेलौना।
ईश्वर मानिसहरूको लीला।
ईश्वर मानिसहरूको हतियार।
ईश्वर मानिसहरूको व्यापार।
ईश्वर मानिसहरूको त्रास।
ईश्वर मानिसहरूको गन्तव्य।
ईश्वर मानिसहरूको पवित्रधाम।
ईश्वर मानिसहरूको अहम्।
ईश्वर मानिसहरूको निष्ठा।
ईश्वर मानिसहरूको भ्रम।
परकतैबाट आवाज फुसफुसायो। मानिसहरू आगो भए। धर्मभिरुहरू चिच्याए र कराए र कर्कस आवाज घनिभूत भयो। ईश्वरलाई भ्रम भन्नेहरू पापी हुन्। तिनीहरूको नर्कमा बास हुन्छ। तातोतेलमा उम्लिनु पर्छ पापीहरू। कसैले श्राप दियो।
ईश्वरभन्दा प्रकृतिको बढी विश्वास गर्छ अर्को मन।
हरेक जीवका लागि प्रकृति सबैभन्दा ठूलो ईश्वर हो। मस्तिष्कले पनि अमूर्त कुराभन्दा मूर्त कुरामा बढी विश्वास गर भन्छ। यसर्थ, सम्पूर्ण प्राणीलाई पालनपोषण गर्ने प्रकृति छोडेर कसरी अमूर्त ईश्वरको विश्वास गर्न सक्छ मन ?
प्रकृति नै ईश्वरीय शक्ति हो।
गाँस र बास र कपासको स्रोत हो।
मनहरूको आस्था र विश्वास र भरोषा हो।
मभित्रको मन उद्देलित हुँदै भन्छ – जीवनका लागि प्रकृति नै सबैभन्दा ठूलो ईश्वर हो।
प्रकृति नरहे कहाँ रहन्छ मन ? न मानिसले स्थापना गरेको ईश्वर बाँकी रहन्छ। ईश्वरको भन्दा बढी प्रकृतिको पूजा गरौं, त्यो नै ठूलो धर्म हो।
ईश्वरभन्दा खोलानाला जोगाउनु हाम्रो कर्तव्य हुन्छ। प्रकृति सबैभन्दा ठूलो कुरा हो। ईश्वर होइन, प्रकृति जोगाऊ। प्रकृति जोगिए तिम्रो ईश्वर आफैं जोगिन्छ।
ईश्वर त प्रकृति हो।
घाम ईश्वर हो, ताप दिने। जून ईश्वर हो, रात्रिमा शीतल उज्यालो दिने। पृथ्वी ईश्वर हो, हामीलाई त्राण दिएर उभ्याउने। माटो ईश्वर हो, उर्वरता बढाउने। जल ईश्वर हो, प्यास मेटाउने।
अग्नि ईश्वर हो, जीवन तताउने। वायु ईश्वर हो,
जीवन कटाउने।
ईश्वर केवल कथाको पात्र। हृदयको विम्ब र मस्तिष्कको खेलौना मात्रै हो। आँखा नदेख्ने र कान नसुन्ने र आवाजविहीन र चेतनाविहीन पनि ईश्वर हुन्छ ? म त बोल्ने र हिँड्ने र सुन्ने र अथाह चेतना भएको ईश्वरको खोजीमा छु – मनहरूको खासखुस आवाज फुसफुसाइरहेको थियोे।
संसार नासवान् छ।
संसारका हरेक सत्यहरू अर्ध सत्य मात्रै हुन्। सबैभन्दा शाश्वत सत्य मृत्यु मात्रै हो। मृत्यु ढिलोचाँडो सबैले स्वीकार गर्नुपर्छ। यो विशाल तापमान सूर्य र शीतल शान्त चन्द्रमा र सुन्दर पृथ्वी पनि नासवान् छन्। हामी त पानीका
फोका झैं क्षणभंगुर मात्रै हौं।
मृत्युलाई ईश्वरले छेक्न सक्दैन।
उपसंहार ः मनहरू हम्मेसी जम्मा हुन गाह्रो छ।
अनेकौं शरीरहरूबाट फुत्किएर आएका अधिकांश मनहरू नास्तिक देखिए। केही मनहरू खुम्चिएर साँघुरा गल्लीमा अनुवाद भए। कहीँ मन फैलिएर अनन्तारोहण गरे। चराहरू जस्तै नीरव आकाशमा कावा खाए।
ईश्वर भ्रान्ति हो।
ईश्वर कल्पना हो।
ईश्वर इन्द्रेणी रंगहरूबाट च्यूत भए। मानिसहरूको मस्तिष्कमा श्यामश्वेत ईश्वर कति समय बाँच्छ ? सत्य कति समय लुक्छ। असत्य कति समय टिक्छ ? निरन्तर प्रश्नको कठघरामा घेरिए ईश्वर !
ईश्वरलाई निरन्तर सन्देह गर।
अमूर्त र अज्ञेय र अप्रमाणित तरंग मात्रै हो – ईश्वर !
मनहरूको समारोहबाट साझा निष्कर्ष निस्कियो।
अन्ततः मनहरू ! मनहरूको समारोह स्थलबाट पुनः आआफ्ना गृह शरीरतर्फ सवार भए।
मनहरूको सन्नाटाबीच बुद्धवाणी घन्कियो– अप्प दीपो भवः।