सञ्चार नपुगेको साङ्ता गाउँ
जोमसोम : मुस्ताङको अधिकांश गाउँहरूमा सडकसँगै सञ्चार सुविधाको पहुँच पुगिसक्दा यहाँको एक बस्तीमा अझै पनि सञ्चार सुविधा पुग्न सकेको छैन। हिमाली जिल्ला मुस्ताङ र डोल्पाको सीमावर्ती क्षेत्र वारागुङ मुक्तिक्षेत्र– ५ साङ्ता गाउँमा सञ्चारको पहुँच पुग्न नसकेको हो।
जोमसोमदेखि उत्तर-पञ्चिम करिब ४० किलोमिटरको दूरीमा रहेको मुस्ताङको साङ्गा गाउँ एक गुमनाम बस्ती हो। समुद्री सतहको झन्डै ४ हजार ५ सय मिटरको अग्लो उचाइको कच्ची सडकमार्गको दूरी तय गरेपछि मुस्ताङको साङ्ता गाउँ पुगिन्छ। मुस्ताङ र डोल्पाको सीमा क्षेत्रको भिरालो सतहमा अवस्थित साङ्ता गाउँमा सञ्चारको सुविधा उपलब्ध नहुँदा त्यहाँका नागरिकले विभिन्न कठिनाइ झेल्दै आइरहेका छन्।
वारागुङ मुक्तिक्षेत्र–५ का वडासदस्य एवं साङ्ता गाउँको स्थानीय नागरिक छिरिङ पाल्साङ गुरुङले मुस्ताङका सबै गाउँहरूमा सञ्चारको पहुँच पुगे पनि आफ्नो गाउँमा अझै सञ्चार सुविधा विस्तार हुन नसकेको दुःखेसो सुनाए। ‘वर्षौंवर्षदेखि हाम्रो गाउँ सञ्चार सुविधाबाट बञ्चित रह्यो, अब त मुस्ताङको सबै ठाउँमा सञ्चारको पहुँच पुगिसक्यो’, वडासदस्य गुरुङले थपे, ‘अब त हाम्रो गाउँका लागि पनि सञ्चार सुविधाको व्यवस्था गरिदिए हुन्थ्यो। तर खै के कारणले हाम्रोमा अझै सञ्चार सुविधा विस्तार हुन सकिरहेको छैन।’ वडासदस्य गुरुङले गाउँमा मोबाइल फोनको टावर जडानका लागि पटकपटकसम्बन्धीत निकायलाई आग्रह गरेको भए पनि हालसम्म टावर जडानमा विलम्ब भइरहेको उल्लेख गरे।
मुस्ताङको विकट स्थानमा रहेको साङ्ता गाउँका नागरिक सञ्चार सुविधा नहुँदा सूचना-सन्देश आदानप्रदान गर्न र इमेल इन्टरनेटजस्ता प्रविधियुक्त सुविधा प्राप्त गर्नबाट बञ्चित रहनु परेको हो। उपल्लो डोल्पाका नागरिक मुस्ताङ आउँदा र फर्किंदा खाना खाने र बस्ने ट्रान्जिट पोइन्टका रूपमा साङ्ता गाउँ पर्ने भए पनि टेलिफोन र मोबाइल फोनको सुविधा नहुँदा सामान्य रूपमा चलाइएको होटलहरूले पाहुनासँग सञ्चार सम्पर्क गर्न सक्दैनन्। जसका कारण साङ्ता गाउँका नागरिकले पर्यटन व्यवसायबाट फाइदा लिन सकेका छैनन्।
साङ्ता गाउँका नागरिकलाई टेलिफोन सुविधा नहुँदा आपत्कालीन बिरामी पर्दा स्वास्थ्य उपचारमा निकै नै समस्या हुने गरेको वडासदस्य छिरिङ पाल्साङ गुरुङले बताए। ‘हाम्रो गाउँमा सडक भए पनि हिउँदमा हिउँका कारण सवारी चल्दैनन्। बर्खायाममा पनि गाउँमा सवारीसाधन चल्ने व्यवस्था छैन’, वडासदस्य गुरुङले भने, ‘गाउँमा फोन टिप्दैन। जरूरी फोन गर्नु प¥यो भने तीन घण्टा पैदल हिँडेर लेकमा पुगेर फोन गर्नुपर्छ।’ वडासदस्य गुरुङले गाउँमा स्वास्थ्य चौकी नभएको र एक जना स्थानीय स्वास्थ्य स्वयंसेविकाको भर पर्नुपर्ने भएकाले समस्या पर्ने गरेको सुनाए। उनले कसैलाई फोन गर्नु परे लेकमा पुग्नु पर्ने बाध्यता रहेको जनाए।
वर्षांैदेखि विद्युत् र सञ्चार समस्या झेल्दै आइरहेको मुस्ताङको साङ्ता गाउँमा गाउँपालिकाको पहलमा एक साताअघि मात्रै सौर्य ऊर्जा बिजुलीको पहुँच विस्तार भएको वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए। मुस्ताङ साङ्ता गाउँमा सौर्य ऊर्जा बिजुली जडानपछि साङता गाउँलाई आंशिक राहत पुगेको वडाध्यक्ष गुरुङको भनाइ छ। विद्युत् र सञ्चार नहुँदा साङ्ता गाउँका नागरिकले देशविदेशका खबर थाहा पाउन मुस्किल पर्ने गरेकोमा अब टेलिभिजनबाट समाचार थाहा पाउने सुविधा मिलेको वडाध्यक्ष गुरुङले खुलाए।
सदियौं वर्ष पुरानो साङ्ता गाउँ राज्यले भने २०५४ को दशकतिर पत्ता लगाएको हो। मुस्ताङ–डोल्पा सीमावर्ती गाउँमा मानव बस्ती रहेको पत्ता लागेपछि त्यहाँका नागरिकलाई सरकारी अभिलेखमा समावेश गरिएको थियो। यो बस्ती शताब्दीअघि हालको बस्तीभन्दा पारि भिरालो सतहमा थियो। त्यहाँ पानीको मुहान सुकेपछि खानेपानी र सिँचाइको अभाव भयो। त्यसपछि साङ्ता गाउँ हाल रहेको स्थानमा स्थानान्तारण भएको थियो। अभाव र अशिक्षाले झेलिएको मुस्ताङको साङ्ता गाउँमा १३ घरधुरीका करिब ७०-८० जना नागरिक बस्छन्। सामान्य खेतीपाती र पशुपालन व्यवसाय अपनाउँदै आइरहेको साङ्ता गाउँमा तीन तहको सरकार पनि आकलझुकलमात्रै उपस्थित हुने गरेको स्थानीय बताउँछन्।
पुरानो र प्राचीन शैलीले ढुंंगा र माटोले निर्मित गुचमुच्च एक आपसमा जोडिएका घरहरूले त्यहाँको गरिबी र अशिक्षालाई चित्रित गर्छ। गाउँमा भएका बालबालिकालाई दाताले निःशुल्क पढाइदिने भएकाले त्यस गाउँमा अहिले २ जना मात्रै नाबालक छन्। गाउँका बालबालिकालाई दाताले पोखरा, जोमसोम र लुप्रा गाउँको स्कुलमा पढाइदिएकाले त्यहाँको आधारभूत विद्यालय पनि बन्द भइसकेको छ। गाउँको खेती किसानी र पशुपालनले जेनतेन गुजारा चलाउन मात्रै पुग्ने गरेको छ।
साङ्ता गाउँमा संघीय सरकारअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले सडक विस्तार गरेको भए पनि सडक थप स्तरोन्नति नहुँदा र सवारीसाधन नचल्दा दैनिक आवतजावत र मालसामान ढुवानीमा समस्या पर्ने गर्छ। हिउँदमा हिमपात पर्ने भएकाले त्यहाँको सडक मंसिरदेखि फागुन–चैतसम्म पूर्ण रूपमा बन्द हुन्छ।