सम्पदा बस्तीमै किन भएन पुनर्निर्माण ?
भूकम्प गएको ९ वर्ष बितिसक्यो । तर भीमेश्वर नगरपालिका–२ स्थित ऐतिहासिक सहर दोलखाको सम्पदा बस्तीको पुनर्निर्माण भएन । सम्पदा बस्तीमा लाभग्राही ५ सय ८५ जना छन् । सम्पदा बस्ती भनेर प्रस्तावमात्रै भयो । आधिकारिक रूपमा घोषणा हुन सकेन । सम्पदा बस्ती भनेर क्षेत्र तोक्ने काममात्रै भएको छ । यसको मूल कारण हो– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको असाध्यै झन्झटिलो कार्यविधि ।
प्राधिकरणले सम्पदा बस्तीका एकल वा बहुस्वामित्वका निजी आवास पुनर्निर्माण सम्बन्धी कार्यविधि २०७६ जारी गरेपछि मात्र भवन निर्माण हुन लागेका हुन् । यो कार्यविधिमा घरहरू प्रायः प्राचीन र कलात्मक शैलीका हुनुपर्ने, भारवहन गर्न सक्ने पर्खाल, कम्तीमा दुई आना दुई पैसाबराबरको जग्गामा घर बनाइनुपर्ने, घरको अघिल्लोपट्टिको भाग चम्किलो इँटाको पर्खाल हुनुपर्ने, टुँडाल–टाकल राखिनुपर्नेसमेत उल्लेख रहेको छ ।
स्टालिन श्रेष्ठ ।
निर्माण भएका घरहरू राणाकालीन घरमा प्रयोग भएजस्तो चुन प्लास्टर, स्टिल वा कंक्रिटको फ्रेम संरचनाजस्ता थुप्रै सर्त पूरा नगरे अनुदान नदिने पनि कार्यविधिमा उल्लेख छ । कतिपयले सम्पदा बस्तीको लुक्समा घर बनाए । मापदण्ड पूरा नभएको कारण कतिले घर बनाए पनि पैसा पाएनन् । पहिलो किस्ता अनुदान बुझेर पनि घर निर्माण नगर्नेको संख्या पनि धेरै छ ।
ऐतिहासिक सहर दोलखाको आफ्नै मौलिकताले धर्म संस्कृतिसँग खास महत्त्व राख्ने भएकाले यो सहरलाई पुरातात्विक महत्त्व झल्कने गरी विकास गर्नुपर्ने आवश्यकता छ ।
पुरानै महत्त्व झल्किने गरी भूकम्पप्रतिरोधी कलात्मक शैलीमा घरनिर्माण गर्नेलाई नगरले थप ५० हजार अनुदान र सम्पदा बस्ती कार्यविधिमा प्राधिकरणले पनि थप ५० हजार अनुदान दिने उल्लेख छ । यद्यपि यो कागजमै सीमित छ । कतिपय लाभग्राही बस्ती छाडेर काठमाडौंलगायतका सहरमा बसोबास गर्ने हुँदा पनि पुनर्निर्माण पूरा भएका छैनन् ।
(श्रेष्ठ, भीमेश्वर–२ का वडाध्यक्ष हुन् ।)