एन्फा महिला लिगमा बागमती युथ क्लबको विजयी सुरुवात
काठमाडौं : राजधानीमा जारी एन्फा महिला लिगमा बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती युथ क्लबले विजयी सुरुवात गरेको हो। बागमतीले सुदूरपश्चिमलाई ५–१ गोल अन्तरले पराजित गर्यो।
बागमतीका लागि अस्मिता खवासले ह्याट्रिक गर्दै १७, ८० र ८२ औं मिनेटमा गोल गरिन्। त्यस्तै सहारा लिम्बुले २६ औं मिनेट र आरती भुजेलले ३७ औ मिनेटमा गोल गरेकी थिइन्। सुदूरपश्चिमबाट एकमात्र गोल तुल्छा बोहराले खेलको ९० मिनेटमा गरेकी थिइन्।
एन्फाको आयोजनामा आइतबारबाट सुरु लिगमा लिगमा १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताअन्तर्गत सिंगल राउन्ड रोबिनको आधारमा ४५ खेल हुने र सिंगल राउन्ड रोबिनबाट उत्कृष्ट पाँच टिमबीच डबल राउन्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुने एन्फाले जनाएको छ।
सुपर लिगका उत्कृष्ट चार टिमबीच क्वालिफायर, इलिमिनेटर र फाइनल गरी लिगमा कुल ६९ खेल हुनेछन्। प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ।