बागमतीको गोल वर्षा
काठमाडौं : बागमती युथ क्लबले एन्फा महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ। सोमबार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा बागमतीलाई फराकिलो जित दिलाउन अस्मिता खवासले ह्याट्रिक गरिन्। यस्तै सहारा लिम्बू र आरती भुजेलले एक÷एक गोल गरेका थिए। सुदूरपश्चिमकी तुलचा बोहराले सान्त्वना गोल गरिन्।
खेलको १७औं मिनेटमा अस्मिताले गोल गर्दै बागमतीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। त्यसपछि २६औं मिनेटमा सहाराको गोलमा बागमतीले अग्रता दोब्बर बनाएको थियो। ३७औं मिनेटमा आरती भुजेलले गोल थप्दा बागमती ३–० ले अघि बढेको थियो।
७९औं मिनेटमा अस्मिताले व्यक्तिगत दोस्रो गोल गर्दै सुदूरपश्चिमको अग्रता ४–० मा पुर्याइन्। त्यसको तीन मिनेटमै अस्मिताले ह्याट्रिक पूरा गरेकी थिइन्। खेलको ९०औं मिनेटमा सुदूरपश्चिमकी तुलचाले सान्त्वना गोल गरेकी थिइन्।
जितसँगै बागमतीले तीन अंक जोडेको छ। महिला लिगअन्तर्गत मंगलबार दुई खेल हुनेछ। पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। यस्तै दोस्रो खेलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब भिड्ने छन्।
१० टोलीको सहभागिता रहेको प्रतियोगिता दुई चरणमा हुनेछ। पहिलो चरण सिंगल राउन्ड रोबिन पद्धतिमा हुनेछ। पहिलो चरणमा ४० खेल हुनेछ। पहिलो चरणको अंकतालिकामा शीर्ष पाँचमा पर्ने टोलीले दोस्रो चरणमा स्थान बनाउने छ।
दोस्रो चरण भने डबल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ। जसमा २० खेल हुनेछन्। पाँच टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले क्वालिफायर्स र इलिमिनेटर खेल्नेछन्। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।