स्तन क्यान्सर : महिलालाई मात्र हुँदैन है !
काठमाडौं/ बुटवल : पछिल्लो समय पुरुषहरू पनि स्तन क्यान्सरको शिकार हुन थालेका छन्। देशका विभिन्न सहरमा सञ्चालन भएका क्यान्सर अस्पतालहरूले दिएको जानकारीअनुसार पुरुषहरूको स्तन क्यान्सरको शल्यक्रिया गरिएको छ। कतिपयले क्यान्सरलाई जितेर नयाँ जीवन पाएका छन्। क्यान्सर रोग विशेषज्ञ डाक्टरहरूका अनुसार अत्यधिक धूमपान, मद्यपान गर्ने र वंशाणुगत गुणका कारण पुरुषहरूलाई स्तन क्यान्सर हुने गरेको छ।
ज्ञानबहादुर लामा लगायतका केही यस्ता पुरुषहरू छन् जो स्तन क्यान्सरलाई पराजित गरी सकुशल जीवन बिताइरहेका छन्। ‘सुरुवाति अवस्थामै स्तन क्यान्सर भएको पत्ता लाग्यो,’ ५७ वर्षमा स्तन क्यान्सरको शल्यक्रिया गराएका लामा भन्छन्, ‘क्यान्सर लागेपछि मरिन्छ कि जस्तो लागेको थियो। पाँच वर्षअघि शल्यक्रिया गरियो। नयाँ जुनि पाए झैं लागेको छ। अहिलेसम्म बाँचेकै छुँ।’
क्यान्सर सर्जन नेपालका अध्यक्ष एवं वरिष्ठ क्यान्सर सर्जन डा. प्रकाशराज न्यौपानेलेलाई झन्डै चार दशकको अवधिमा झन्डै ५०/६० जना पुरुषको स्तनको शल्यक्रिया गरेको अनुभव छ। ‘स्तन क्यान्सर भन्नेबित्तिकै महिलालाई हुने भन्ने आम बुझाइ छ। यो बुझाइमा परिवर्तन ल्याउनुपर्छ,’ डा. न्यौपाने भन्छन्, ‘स्तन क्यान्सर महिलालाई मात्र हुने होइन भन्ने कुरा पुरुषहरूले बुझ्नु जरुरी छ।’
स्तन क्यान्सर प्रायः महिलाहरूमा भएको पाइन्छ। तर, पुरुषहरूलाई पनि स्तन क्यान्सर हुन सक्छ। अमेरिकामा निदान गरिएको हरेक १ सय जना स्तन क्यान्सरमध्ये एक जना पुरुषमा स्तन क्यान्सर पाइएको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले जनाएको छ। अस्ट्रेलियाको क्यान्सर काउन्सिलको तथ्यांकअनुसार सन् २०२३ मा दुई सयभन्दा बढी पुरुषमा स्तन क्यान्सरको पहिचान भएको छ।
स्तनमा असामान्य गिर्खाहरू आएपछि पुरुषहरू पनि स्तन क्यान्सर विशेषज्ञ समक्ष जँचाउन जाने क्रम पछिल्लो समय देखिएको छ। विशेषगरी ५५ देखि ७० वर्ष उमेरका पुरुषहरू स्तन क्यान्सरको जोखिममा पर्ने क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्।
स्तन क्यान्सरबाट कति महिला र कति पुरुष पीडित भइरहेका छन् ? यसको यकिन तथ्यांक छैन। तर, क्यान्सर रोग विशेषज्ञहरूका अनुसार स्तन क्यान्सरबाट हजारौंको संख्यामा महिला प्रभावित भएका छन्। त्यस्तै सयौंको संख्यामा पुरुषहरू पीडित भएका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालका कार्यरत क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार विश्वमा महिलामा हुने क्यान्सरमा स्तन क्यान्सर पहिलो नम्बरमा पर्छ। तर, हाम्रो देशमा यो क्यान्सर पाठेघरको मुखको क्यान्सरपछि दोस्रो नम्बरमा आउँछ। ग्लोबोक्यान (डब्लूएचओ) २०२० को तथ्यांकअनुसार प्रत्येक दिन नेपालमा ६ जना महिलालाई स्तन क्यान्सरको पहिचान हुन्छ। अमेरिकन क्यान्सर सोसाइटीको तथ्यांकअनुसार प्रत्येक ८ जना महिलामा एक जनालाई स्तन क्यान्सर हुने जोखिम छ। अमेरिकामा फोक्सोको क्यान्सरपछि सबैभन्दा बढी स्तन क्यान्सरद्वारा महिलाको मृत्यु हुन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, नेपालमा पुरुषमा स्तन क्यान्सरका बिरामीहरू पाइए पनि यकिन तथ्यांक छैन। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. एम के पियाले क्यान्सरका महिला र पुरुष बिरामीहरूको सन्दर्भमा सरकारी एवं गैरसरकारी निकायले अस्पताल रजिस्ट्रिबाट यकिन तथ्यांक संकलन गरी जनचेतना फैलाउनुपर्ने खाँचो रहेको सुझाव दिए।
के कारणले हुन्छ ?
क्यान्सर रोग विशेषज्ञ डा. शाहीका अनुसार, अहिलेसम्मको वैज्ञानिक खोज तथा अनुसन्धानले स्तन क्यान्सर ठ्याक्कै यही कारणले हुन्छ भन्ने पत्ता लगाउन सकेको छैन तर केही कारण छन् जसले जोखिम बढ्ने सम्भावना रहन्छ।
डा. शाहीका अनुसार पुरुषलाई हुने स्तन क्यान्सरमा देखिएको केही कारणहरूमा वंशाणुगत, मोटोपना, धूमपान, मध्यपान छन्। ‘रातिको समयमा कलकारखानामा काम गर्ने पुरुषहरूमा पनि स्तन क्यान्सर भएको केही अध्ययनमा देखिएको छ,’ डा. शाही भन्छन्, ‘विकिरण हुने क्षेत्रमा काम गर्ने र हर्मोनल थेरापी लिने पुरुषहरूमा पनि स्तन क्यान्सर हुने जोखिम रहन्छ।’ पुरुष र महिलामा हुने स्तन क्यान्सरका लक्षणहरू भने एउटै रहेको डा. शाही बताउँछन्। स्वस्थ खानपान र सक्रिय एवं अनुशासित जीवनशैली अपनाएमा स्तन क्यान्सरबाट जोखिम न्यून हुने डा. शाहीको सुझाव छ।
२ वर्षमा १० जना पुरुषको शल्यक्रिया
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा पछिल्लो दुई आर्थिक वर्षमा १० जना पुरुषको स्तन क्यान्सरको शल्यक्रिया गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा ७ जना र २०८०/८१ मा तीन जना पुरुषको स्तन क्यान्सरको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। चितवन, सुर्खेत, कास्की, रौतहट, सर्लाहीका पुरुषहरूको शल्यक्रिया गरिएको छ। पाँच जना पुरुषको दायाँ र पाँच जनाको बायाँ स्तनमा क्यान्सर भएको अस्पतालको तथ्यांक छ।
लुम्बिनी प्रदेशमै स्तन क्यान्सर हुनेमा ९० वर्षीय वृद्ध अर्घाखाँचीका सन्तबहादुर नेपाली पहिलो हुनुहुन्छ। तथ्यांक र मेरो अनुभवले संभवत यति धेरै उमेरका वृद्धको शल्यक्रिया गरिएको विश्वमै पहिलो हो भन्ने मेरो दाबी हो। पछिल्लो समय स्तन क्यान्सरका बिरामीहरू बढ्दै जान थालेका छन्। लुम्बिनी प्रादेशिकमा स्तन क्यान्सर हेर्ने छुट्टै ओपीडी र शल्यक्रिया कक्ष छैन। सबै रोग आफैंमा संवेदनशील छन्। तर, क्यान्सरलाई अझ जटिल रोगका रूपमा लिइन्छ। त्यसैले छुट्टै कक्ष तत्कालको आवश्यकता छ। स्तनमा गिर्खा आए पनि नदुख्दासम्म कोही पनि अस्पताल आउँदैनन्। यो दुखेर हुने रोग होइन । त्यसैले गिर्खा देखिनेबित्तिकै अस्पताल आउनुपर्छ।
डा.सञ्जय पाण्डे
स्तन क्यान्सर रोग विशेषज्ञ, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल
स्तन क्यान्सर महिलालाई मात्र हुने होइन भन्ने कुरा सबैले बुझ्नु जरुरी छ। मैले झन्डै ५०/६० जना स्तन क्यान्सर भएका पुरुषहरूको शल्यक्रिया गरेको छुँ।
डा. प्रकाशराज न्यौपाने
अध्यक्ष, क्यान्सर सर्जन नेपाल
नेपालमा पुरुषमा स्तन क्यान्सरका बिरामीहरू पाइएका छन्। तर, कति पुरुषहरू स्तन क्यान्सरबाट प्रभावित छन् ? यकिन तथ्यांक छैन।
डा. प्रकाश बुढाथोकी
प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
अहिलेसम्मको वैज्ञानिक खोज तथा अनुसन्धानले स्तन क्यान्सर ठ्याक्कै यही कारणले हुन्छ भन्ने पत्ता लगाउन सकेको छैन। तर, पनि वंशाणुगत, मोटोपना, धूमपान, मद्यपानलाई कारकका रूपमा लिइन्छ। त्यस्तै कलकारखाना र विकिरण हुने क्षेत्रमा कार्यरत र हर्मोनल थेरापी लिने पुरुषहरूमा पनि स्तन क्यान्सरको जोखिम हुन्छ।
डा. अरुण शाही, क्यान्सर रोग विशेषज्ञ
९० वर्षीय पुरुषको शल्यक्रिया
पाणिनी गाउँपालिका–३ सानबुट्टाका ९० वर्षीय सन्तबहादुर नेपालीको एक वर्षअघि बायाँ स्तनतिर गिर्खा देखिएका थिए। शरीरमा गिर्खा आउनु सामान्य नै होला भन्ने उनको मनमा लागिरहेको थियो। दुखाई नभएपछि उनी र उनको परिवार त्यति आत्तिएनन्। तर, विस्तारै त्यसले घाउको रूप लियो।पाक्न थाल्यो।
गाउँघरमै गरिएको उपचारको त्यति भर नभएपछि उनलाई कान्छो छोरा चन्द्रबहादुर नेपालीले थप चेकजाँचका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याए।
प्रादेशिक अस्पतालमा चेकजाँच गरेपछि थाहा भयो बुवालाई स्तन क्यान्सर भएको रहेछ। क्यान्सर भएको थाहा पाएपछि नेपालीको परिवारमा क्षणभरमै छान्नटा छायो। तर, उपचार बुटवलमै हुने भएपछि अलिकति भए पनि गुमेको खुसी फर्कियो। चितवन, काठमाडौं पुग्नु परेन्। ‘सबै गरेर करिब डेढ लाख रुपैयाँ जति खर्च भयो’, छोरा चन्द्रबहादुर नेपालीले भने, ‘डाक्टरले किमो चढाउन पर्दैन भन्नुभएको छ। १५/१५ दिनमा अर्घाखाँचीबाट बुटवल आउन पनि संभव थिएन्। पाँच वर्षसम्म नियमित औषधि खुवाउनुपर्ने छ।’
अस्पतालका स्तन क्यान्सर रोग विशेषज्ञ डा.सञ्जय पाण्डेका अनुसार लुम्बिनी प्रदेशमै स्तन क्यान्सर हुनेमा ९० वर्षीय यी वृद्ध नै पहिलो हुन्। ‘पुरुषमा स्तन क्यान्सर मात्र होइन्, संभवत यति धेरै उमेरका वृद्धाको शल्यक्रिया सहितको उपचार गरिएको विश्वमै पहिलो भएको हाम्रो दाबी छ’, पाण्डेले भने, ‘दैनिक ८/१० जना महिला समस्या लिएर आउछन् तर पुरुषको सवालमा यो नै पहिलो हो।’
पछिल्लो समय स्तन क्यान्सरका बिरामीहरू बढ्दै जान थालेको पाण्डेको भनाइ छ। लुम्बिनी प्रादेशिक अस्पतालमा स्तन क्यान्सर हेर्ने छुट्टै ओपीडी र शल्यक्रिया कक्ष नहुँदा समस्या भइरहेको उनले गुनासो गरे। ‘सबै रोग आफैंमा संवेदनशील छन्। तर, क्यान्सरलाई अझ जटिल रोगका रूपमा लिइन्छ’, उनी भन्छन्, ‘म अस्पतालमा आएको ८ महिना भयो। सुरुदेखि नै छुट्टै कक्ष बनाउन माग गरेको छु तर पूरा भएको छैन।’
डा.पाण्डे लुम्बिनी क्षेत्रकै पहिलो स्तन क्यान्सर रोग विशेषज्ञ हुन्। लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र यस रोगको उपचार हुने गरेको छ। लुम्बिनी क्षेत्रका अधिकांश बिरामीहरू क्यान्सर रोगको उपचारका लागि चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा पुग्ने गर्छन्।
पाण्डेले बुटवलमा मासिक कम्तीमा पनि तीनदेखि चार जना महिलाको स्तनको क्यान्सरको शल्यक्रिया गर्ने गरिएको बताए। यो क्रम बढ्दो अवस्थामा छ। ‘स्तनमा गिर्खा आए पनि नदुख्दा महिलाहरू अस्पतालमै आउँदैनन्’, उनले भने, ‘गिर्खा देखिनेबित्तिकै अस्पतालमा आउन आग्रह गर्छु। रोग लुकाएर होइन्, छिटो उपचार गराएर निको पार्नुपर्छ।’ किमो चढाउने सेवा दिन सकिए पनि छुट्टै विभाग नहुँदा सेवा सूचारु गर्न नसकिएको उनले सुनाए।
डा.पाण्डेका अनुसार पुरुषमा स्तन क्यान्सर हुने प्रमुख कारण वंशाणुगत गुण हो। तर, अत्यधिक धूमपान र मदिरा सेवन गर्नेहरू पनि यो रोगको शिकार हुने गरेका छन्। ‘अर्घाखाँचीका बुवाले पनि धेरै चुरोट र मदिरा सेवन गरेको उहाँका घरपरिवारले बताएका थिए’, उनले भने, ‘यस्तो कुलत कसैमा छ भने त्याग्नुपर्छ।’
यी हुन् लक्षणहरू :
- स्तनमा नयाँ गिर्खा तथा गाँठोहरू देखिनु
- स्तनको आकार र प्रकारमा परिवर्तन आउनु
- स्तन दुख्नु वा सुन्निनु
- स्तनमा खाल्टो पर्नु
- स्तनको मुन्टोबाट रगत अथवा तरल पदार्थ आउनु
- शरीरको अनावश्यक तौल घट्नु
कसरी थाहा पाउने ?
हामी सबैको अनुभव यो छ कि हाम्रो समाज वा परिवारमा पक्कै पनि हाम्रा साथी, नातेदार, दिदीबहिनी, आमा वा काकी कोही न कोही स्तन क्यान्सरसँग लडिरहेको हुनुहुन्छ वा लडिरहेको हुनुहुन्थ्यो। अझै प्रष्ट रूपमा भन्नुपर्दा यो रोग नभएको सायद कुनै टोल, गाउँ वा सहर नहोला।
तथ्यांक हेर्ने हो भने विश्वमा महिलामा हुने क्यान्सरमा स्तन क्यान्सर पहिलो नम्बरमा पर्छ। तर, हाम्रो देशमा यो क्यान्सर पाठेघरको मुखको क्यान्सरपछि दोस्रो नम्बरमा आउँछ। ग्लोबोक्यान (डब्लूएचओ) २०२० को तथ्यांकअनुसार प्रत्येक दिन नेपालमा ६ जना महिलालाई स्तन क्यान्सरको पहिचान हुन्छ र प्रत्येक दिन ३ जना महिलाको मृत्यु यस क्यान्सरले गर्दा हुन्छ।
संसारको सबैभन्दा विकशित मुलुक अमेरिकाको कुरा गर्ने हो भने अमेरिकन क्यान्सर सोसाइटीको तथ्यांक अनुसार प्रत्येक आठ जना महिलामा एक जनालाई स्तन क्यान्सर हुने जोखिम छ। अमेरिकामा फोक्सोको क्यान्सरपछि सबैभन्दा बढी क्यान्सरद्वारा महिलाको मृत्यु स्तन क्यान्सरले गर्दा हुन्छ।
अंग्रेजी वर्षको अक्टोबर महिनालाई स्तन क्यान्सरविरुद्ध जागरण फैलाउने अभियान महिनाको रूपमा संसारभर विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ। यो महिनामा हामी सबै गुलाबी रङमा मग्न हुन्छौं। मानिस गुलाबी रङको रिबन लगाएर, गुलाबी रङका पहिरन लगाएर, विभिन्न कार्यक्रम जस्तैः बाटोमा हिँड्ने, नाचगान गर्ने तथा अरू सामूहिक कार्यक्रम गर्ने गर्छन्। यसरी समाजका सबै महिलाले स्तन क्यान्सरको जोखिमबाट कसरी आफूलाई सुरक्षित राख्ने तथा समयमै पहिचान गरे स्तन क्यान्सर निदान हुने क्यान्सर हो भन्ने संवेदनशीलता जगाउनु नै यस जागरण अभियानको मुख्य उद्देश्य हो।
स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरी समयमै उपचार गर्नुनै स्तन क्यान्सरलाई निर्मुल पार्ने अचुक अस्त्र हो। यदि यो क्यान्सरलाई समयमै पहिचान गरी समयमा उपचार गर्यो भने यसलाई सतप्रतिशत निर्मूल पार्न सकिन्छ। ढिलो अर्थात् स्टेज ३ वा ४ मा पत्ता लागे यसलाई निदान पार्न सकिँदैन। यस्तो अवस्थामा यस क्यान्सरलाई प्यालियटिभ उपचार गरी बिरामीको दुखाइ तथा पीडा कम गरी बाँकी जीवन सजिलो बनाउन प्रयास गरिन्छ। स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गर्नका लागि २ महत्वपूर्ण उपाय छन्।
१.ब्रेस्ट सेल्फ एग्जामिनेसन अर्थात् आफ्नो स्तन आफैं जाँच्ने
यसअन्तर्गत १८ वर्षको उमेरभन्दा माथिका महिलाले प्रत्येक महिनाको एकचोटी महिनावारी भएको ५ देखि ७ दिनमा आफ्नो स्तन आफैं जाँच गर्ने। महिनावारी सुकिसकेका महिलाले प्रत्येक महिनाको एउटै दिनमा आफ्नो स्तन जाँच गर्ने। जसले गर्दा स्तनको आकार तथा प्रकारमा हुने परिवर्तनका बारेमा सुरुको अवस्थामा थाहा हुन्छ। र, केही परिवर्तन भेटिएमा तुरुन्त चिकित्सकको परामर्श लिन सकिन्छ।
२.म्यामोग्राफीद्वारा ब्रेस्टको स्क्रिनिङ गर्ने
कुनै पनि रोगको लक्षण देखिनुभन्दा पहिले त्यस रोगलाई पहिचान गर्ने प्रविधिलाई स्क्रिनिङ भनिन्छ। स्तन क्यान्सरलाई सुरुको अवस्थामा पत्ता लगाउनका लागि महिलाले स्क्रिनिङ जाँच गर्नुपर्छ। स्तन क्यान्सरको सबैभन्दा उत्तम वैज्ञानिक स्क्रिनिङ गर्ने प्रविधि भनेको म्यामोग्राफी हो।
अमेरिकन क्यान्सर सोसाइटीको गाइडलाइन अनुसार ४५ वर्षदेखि ६५ वर्षसम्मका महिलाले वर्षमा एकपटक म्यामोग्राफी जाँच गर्नुपर्छ। म्यामोग्राफी एक प्रकारको एक्स–रे हो जसले स्तनको आकार तथा प्रकारमा भएको परिवर्तनलाई पहिचान गर्ने गर्छ। म्यामोग्राफीसँगै अथवा म्यामोग्राफी गर्न नमिल्ने महिलालाई स्तनको भिडिओ एक्स–रे तथा एमआरआई पनि गर्ने गरिन्छ। यदि यी जाँचहरूमा स्तन क्यान्सरको शंका भएमा बायोप्सी गरेर स्तन क्यान्सर भए/नभएको निश्चित हुन्छ।
अन्त्यमा, अहिलेसम्मको वैज्ञानिक अनुसन्धान तथा क्यान्सर रोग विशेषज्ञको अनुभवको आधारमा, जो महिलाको दैनिक जीवनशैली स्वास्थ्य तथा अनुशासित हुन्छ, उनीहरूमा स्तन क्यान्सरको जोखिम अरुभन्दा न्यून हुन्छ। त्यसैले सबै महिलाले आफ्नो दैनिकीमा शारीरिक व्यायाम, योगा र पौस्टिक खानासँगै स्वस्थ जीवन निर्वाह गर्नु आवश्यक छ। स्तन क्यान्सरसम्बन्धी केही शंका भएमा चिकित्सकको परामर्श लिनुहोस र उमेर पुगिसकेपछि चिकित्सकको सल्लाह बमोजिम प्रत्येक वर्षमा एकचोटी म्यामोग्राफी गर्नुहोस्।
क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीसँग गरिएको कुराकानीमा आधारित।